३० असार २०८३, मंगलबार

सर्वोच्चमा २२ हजार मुद्दाको चाङ, छिटो टुंग्याउन ‘ब्लक हेयरिङ’को अभ्यास

माघ ३, २०७४
सर्वोच्चमा २२ हजार मुद्दाको चाङ, छिटो टुंग्याउन ‘ब्लक हेयरिङ’को अभ्यास

काठमाडौं, ३ माघ–  सर्वोच्च अदालतमा एकै प्रकारका मुद्दाको चाप बढ्दै गएपछि ‘ब्लक हेयररिङ’को अभ्यास शुरु गरिएको छ । सर्वोच्चमा मंगलवारदेखि ‘ब्लक हेयरिङ’ अर्थात् समूहगत सुनुवाई शुरु गरिएको हो । 

सर्वोच्च अदालतमा अहिले २२ हजार मुद्दा लाइनमा छन् । ती सबै मुद्दालाई एक वर्षमै टुंग्याउने उद्देश्यका साथ ब्लक हेयरिङ शुरु गरिएको सर्वोच्च अदालतका सह–रजिष्ट्रार तथा प्रवक्ता नारायण प्रसाद पन्थीले बताए । उनका अनुसार ब्लक हेयररिङबाट एक वर्षमा करिव १७ हजार मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएको छ । 

अंशवण्डा, जग्गा सम्बन्धी विवाद, नियुक्ती लगायत विषयसँग सम्बन्धित मुद्दालाई ब्लक हेयरिङमार्फत टुंग्याइने छ ।  यस्तै भ्रष्ट्राचार सम्बन्धी मुद्दाहरू एउटै इजलासमा सुनुवाई हुनेछन् । अंशबण्डा, करार परिपालना लगायतमा समान विषयवस्तु रहेका मुद्दाहरू पनि एउटै इजलासमा सुनुवाई हुने प्रवक्ता पन्थीले जानकारी दिए ।

ब्लक हेयरिङमार्फत लाइनमा रहेका एउटै प्रकारका मुद्दालाई छिटो फर्छ्यौट गरिने सर्वोच्चको लक्ष्य छ । समान प्रकृतिका मुद्दाको एउटै विषयवस्तु हुने, एउटै नजिरले काम गर्ने, एकै प्रकारका कानूनको सहयोगमा ब्याख्या गर्न सकिने भएकाले ब्लक हेयरिङमार्फत छिटो न्याय निरुपण हुने सर्वोच्चको भनाइ छ । 

एक दिनमा ५० बढी मुद्दा टुंग्याउने

सर्वोच्च अदालतले ब्लक हेयरिङमार्फत एक दिनमा ५० मुद्दा टुंग्याउने लक्ष्य लिएको छ । दिनमा ५० मुद्दा टुंग्याउन सके एक वर्षमा १७ हजार मुद्दा टुंग्याउन सकिने सर्वोच्चको लक्ष्य छ । 

इजलासलाई विशिष्टिकरण गरेर मुद्दाको सुनुवाई शुरु भएको प्रवक्ता पन्थीले बताए । कानून व्यवसायी र न्यायाधीशले सहयोग गरे एक वर्षमा लक्ष्य पूरा हुने उनको भनाइ छ । 

ब्लक हेयरिङ शुरु भएको पहिलो दिन ४ वटा छुट्टाछुटै इजलासमा समूहगत सुनुवाई भयो । न्यायाधीश केदारप्रसाद चालिसे र बमबहादुर श्रेष्ठको संयुक्त इजलासमा जग्गा दर्ता, नामसारी, गुठीजस्ता मुद्दामा र न्यायाधीश शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा लागूऔषध र नागरिकतासम्बन्धी मुद्दामा सुनुवाई भयो । 

न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा माना चामल, बहुविवाह, करकापलगायत विषयमा तथा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासमा जालसाजी, करकापलगायत मुद्दामा सुनुवाई भयो ।

कानून व्यवसायीको सकरात्मक अपेक्षा

छिटो न्याय निरुपण गर्ने उद्देश्यसहित शुरु गरिएको ब्लक हेयरिङले सेवाग्राहीमा राम्रो प्रभाव पार्ने कानून व्यवसायीको अपेक्षा छ । 

नेपाल बार एशोशिएसनका उपाध्यक्ष मोतिराज गौतमले सेवाग्राही र कानून व्यवसायी दुवै पक्षका लागि ब्लक हेयरिङ अवसर बताए । ‘यसका चुनौती त थुप्रै छन् । तर पनि यसले सकरात्मक प्रभाव पार्ने संभावना बढी छ,’ लोकान्तरसँगको कुराकानीमा गौतमले भने, ‘समान प्रकृतिका मुद्दा एउटै इजलासमा सुनुवाई हुने भएकाले यसले एउटा नजिर बस्छ । जसबाट एकै किसिमका मुद्दालाई टुंग्याउन सजिलो हुन्छ ।’

एउटै प्रकारका मुद्दा एउटै इजलासमा सुनुवाई हुँदा प्रमाणको विश्लेषण, आवश्यक कानूनहरू र समयको समेत सहि ढंगले सदुपयोग हुने गौतमको भनाइ छ । 

ब्लक हेयरिङको शुरूवात भएसँगै कानून व्यवसायीका तर्फबाट मुद्दा स्थगित गराउने प्रवृत्तिमा पनि कमी आउने उनको भनाइ छ । ‘एक जना वकिलका कारणले सिंगो इजलास नै नबस्ने तथा मुद्दा स्थगित हुने प्रवृत्ति छ,’ उनले भने, ‘ब्लक हेयरिङ शुरु हुँदा यस्तो समस्या धेरै हदसम्म समाधान हुन्छ । न्यायाधीशलाई पनि यसले सजिलो गर्छ ।’ 

प्रधानन्यायाधीशले ‘बाचा’ पूरा गर्दै

प्रधानन्यायाधीश गोपाल पराजुलीले गत साउनमा पद्भार ग्रहण गर्दै छिटो न्याय निरुपण गर्ने प्रतिबद्धता जनाएका थिए । पराजुलीले सर्वोच्चमा २२ हजार मुद्दा लाइनमा रहेको भन्दै आफ्नो कार्यकालमा १० हजारमा झार्ने बताएका थिए । उनले भनेअनुसार चापमा रहेका मुद्दाको संख्या घट्ने अवस्था त छैन । यद्यपिछ उनले आफूले गरेको बाचा भने पूरा गर्न लागेका छन् । 

‘मुद्दाको सुनुवाई छिटो गराउन र छिटो न्याय प्रदान गर्न प्रधानन्यायाधीश ज्यूले शुरु देखि नै विशेष पहल गरिरहनु भएको हो,’ सर्वोच्च अदालतको प्रशासन शाखामा कार्यरत एक अधिकारीले भने, ‘ब्लक हेयरिङको अभ्यासमा उहाँको विशेष जोड छ । यसले छिटो न्याय निरुपण हुने उहाँको विश्वास छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्