प्रायजसो फुर्तिलो देखिने सन्ध्या अलि थकानमा जस्तो देखिन्थिन् । मैले उनको अनुभवबारे जान्न र केही अन्तरंग कुराकानी गर्न भनी बोलाएको थिएँ । मेरो अनुरोध मानी कुपण्डोलमा आउँदाको अवस्था हो यो उनको । आजभन्दा ६ महिनाअगाडि आफ्नो लिङ्ग परिवर्तन गरेकी हुनाले होला अलिक कमजोरजस्तो देखिएकी ।
मैले पहलो प्रश्न गरेँ -
अलि काली हुनुभएछ नि ?
होर ? हैन होला, म त यस्तै हो ।
आज त अलिक फरक हुनुुहुन्छ ?
हैन अलिक थकाई लागेको मात्र हो ।
यो मैले बाटैमा सोधेको प्रश्न थियो ।
यसभन्दा अगाडि तेस्रोलिङ्गी रहेकी सन्ध्याले थाइल्याण्डमा गरएर लिङ्ग परिवर्तन गराएकी थिइन् । हेटौंडामा जन्मेकी सन्ध्याले मानविकीमा प्लस टूसम्मको अध्ययन गरेकी छन् ।

केटाबाट केटी हुनु भो, कस्तो अनुभव गर्नुभएको छ ?
शुरुमा त अलि गह्रो नै भयो । पहिला केटा थिएँ (तेस्रोलिङ्गी केटा) अहिले पूर्णरुपमा केटी भएकी छु । म पहिलेदेखि नै केटीको जस्तो अनुभव गर्ने भएकाले खासै त्यस्तो परिर्तन भएको अनुभव गरेकी छैन, तर विषेशजस्तो लाग्छ अहिले ।
केटी नै किन बन्न मन लाग्यो ?
म सानैदेखि केटीको स्वभावकी थिएँ । सानो छँदा केटीहरुका कपडा लगाउने, मेकअप गर्ने, भाँडाकुटी खेल्ने गर्थेँ । म केटी हँु जस्तो लाग्थ्यो । केटाहरुको समूहभन्दा पनि केटीहरुको समूहमा खेल्न मन पथ्र्यो । पछि आएर थाहा भयो, केटाकेटी भन्दा अर्को पनि लिङ्ग हुँदोरहेछ ।
म तेस्रोलिङ्गी भन्ने कहिले थाहा पाउनुभयो ?
२०६३ सालमा एसएलसी दिइसकेपछि काठमाडौं आएँ, त्यसपछि बल्ल म तेस्रो लिङ्गी रहेछु भन्ने भयो । अझ ब्लू डाइमण्ड सोसाइटीमा आबद्ध भएपछि सेक्सुयालिटी र जेन्डर फरक हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ ।
लिङ्ग परिर्वन गर्न कति खर्च लाग्दो रहेछ र कहाँ गएर गर्नुभयो ?
खर्च त १० लाखभन्दा बढी लाग्यो, अहिले पनि खर्च भइराखेको छ । मैले थाइल्याण्डमा गएर लिङ्ग परिवर्तन गराएकी हुँ ।
प्रेम प्रस्ताव आयो ?
आयो ।
लिङ्ग परिर्वतनपछि पनि आयो कि ?
हाहा, आयो किन न आउनु, धेरै जनाको आयो । मेरो ब्वाइफ्रेन्ड पनि छ । अहिले हामी रिलेशनमा छौं ।

लिङ्ग परिर्वनपछि सेक्स अनुभव लिनुभयो ?
लिएँ, किन नलिनु ।
कोसँग ?
मेरो पार्टनरसँग ।
पहिलो र अहिले के फरक छ यौन अनुभवमा ?
फरक त छ । पहिले अर्कै थियो, अहिले पूर्णरूपमा केटी भएकी छु । केटीको पूर्ण फिलिङ्स छ ।
तेस्रोलिङ्गीहरू प्रायःजसो यौन व्यवसायमा आबद्ध छन्, तपाईं पनि हुनुहुन्थ्यो, कस्तो हुन्थ्यो अनुभव ?
पीडादायी थियो । यो तेस्रोलिङ्गीको बाध्यता पनि हो । शुरुमा सानै थिएँ । कसरी यौन व्यवसायमा आएँ थाहा छैन । तर, अहिले म पूर्णरूपमा सामाजिक सेवामा लागेकी छु र अहिले केटी हुँ ।
अहिले पनि यौन व्यवसायमै रहेका तेस्रोलिङ्गीलाई के भन्नुहुन्छ ?
तेस्रोलिङ्गी भएर यौन व्यवसायमै लाग्नुुपर्छ भन्ने छैन, अन्य कुनै व्यवसाय गरेर पनि सम्मानजनक तरिकाले जीवन चलाउन सकिन्छ । ब्यूटीपार्लर, बुटिक, सिलाइकटाइ, व्यपार आदि गर्न मेरो अनुरोध छ ।