
काठमाडौं, १२ चैत-नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालले लघुवित्त कम्पनीहरूले गरेको लगानी र प्रतिफलको तथ्यांक संकलन गर्न सम्बन्धित महाशाखाहरूलाई निर्देशन दिएका छन् ।
लघुवित्त (माइक्रोफाइन्स) उद्योगमा देखिएका जोखिम तथा व्यवस्थापनका विषयमा काठमाडौंमा शुरु भएको २ दिने कार्यशाला गोष्ठीको उद्घाटन शत्रमा बोल्दै गर्भनर नेपालले लघुवित्त कम्पनीहरूले आफ्नो उद्देश्यभन्दा बाहिर काम गर्ने गरेको पाइएकाले कडाइका साथ नियमन गर्दै नीति बनाउन सम्बन्धित महाशाखाहरूलाई निर्देशन दिएका हुन् ।
ग्रामीण क्षेत्रमा व्यवसायको अवधारणा सिकाउँदै लगानी गरी निम्न विपन्न वर्गलाई माथि उठाउने उद्देश्य भए पनि लघुवित्त कम्पनीहरूले जथाभावी लगानी गर्ने गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै उनले भने, ‘माइक्रोफाइनान्सहरूले बाटोमा भेटेको मानिसलाई लैजा न लैजा भनेर दिने गर्ने गरेको सुनिन थालेको छ, त्यो मानिसले पैसा कहाँ खर्च गर्छ भन्नेसमेत टुङ्गो हुँदैन । त्यसैले यसको प्रतिफल के हो कति यसबाट लाभान्वित छन्, भन्ने कुराको तथ्यांक संकलन गर्नुस् ।’
यसैगरी कार्यशालामा आएका गुनासो तथा तथ्यांकका आधारमा गर्भनर नेपालले लघुवित्त कम्पनीहरूले कहाँ कति कहिलेसम्म लगानी गरे त्यसको प्रतिफल के भयो भन्ने तथ्यांक संकलन गर्न लघुवित्त विभागका प्रमुख जनकबहादुर अधिकारीलाई निर्देशन दिए ।
उनले एकजना व्यक्तिले २ भन्दा बढी लघुवित्तबाट कर्जा नलिने नीति बनाइने भन्दै त्यसका लागि अनिवार्य कर्जा सूचना केन्द्रमा सूचना दिने व्यवस्था गर्नसमेत राष्ट्र बैंकका सम्बन्धित विभागलाई निर्देशन दिए ।
लघुवित्त संस्थाहरूले व्यवसाय गर्न प्रोत्साहित गर्नुपर्ने भए पनि प्रभावकारी काम गर्न नसकेको र आवश्यक ठाउँमा लगानी गर्न नसक्दा लगानीको दुरुपयोग हुँदै पैसा डुब्ने काम भइरहेको बताए ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल ६ सय अर्बको लगानीमा ६५ वटा लघुवित्त संस्था सञ्चालनमा रहेका छन् ।
लघुवित्त संस्थाले अनुमति पाएपछि राष्ट्र बैंकले ४० अर्बसम्म निव्र्याजी ऋण लगानी गर्ने प्रावधान छ ।
लघुवित्त संस्थाहरुमा करीब २५ लाख ७५ हजार मानिसको आबद्धता रहेको छ भने ती संस्थाहरूले १ खर्ब १५ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको जनाइएको छ ।