
स्याङ्जा, ४ वैशाख– सडक विभागले सडक विस्तारको कामलाई वेवास्ता गरेपछि वालिङ नगरपालिले आफ्नै बजेटमा सडक विस्तार थालेको छ ।
वालिङ नगरपालिका भित्र पर्ने सिद्दार्थ राजमार्गको १७ किलोमिटर सडक चौडा बनाउने अभियानमा वालिङ मेयर दिलिपप्रताप खाण लागेका छन् । मेयर खाण हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म राजमार्ग विस्तारका क्रममा निस्केको धुलो बढारीरहेका भेटिन्छन् ।
छाङछाङदीदेखि बाँयाटारीसम्म सिद्दार्थ राजमार्गमा पर्ने १७ किलोमिटर सडकमा करिब ६० वटा घरहरु ७५ फुट भित्र छन् जुन राजमार्गको मापदण्डमा पर्दैन । खाणका अनुसार ति ६० घरपरिवारहरुले पनि बाटो विस्तारको कामलाई सघाएका छन् । उनीहरुको घर भने सडकको मापदण्डले गर्दा भत्किने छ ।
सडक विभागले बाटो विस्तार गर्न आलटाल गरेपछि नगरपालिकाले आफ्नै बजेटले काम शुरु गरेको मेयर खाणले बताए । उनले सडक विभागबाट प्राविधिक सहयोग भने लिएको जानकारी दिए ।
मुख्य राजमार्गको साथसाथै अरु सहायक सडकलाई पनि विस्तार गरेर आठ मिटर चौडा बनाउन लागिएको उनले जानकारी दिए ।
ति मध्ये वालिङ नगरपालिकाको बाहिरी चक्रपथ भनिने १०६ किलोमिटरको सडक निर्माण र विस्तार महत्वपूर्ण भएको उनले बताए ।
नगरपालिकाको नीतिगत सुधारका लागि बीसवटा ऐन र त्यससँग जोडिएका नियमावली तयार गरेको जानकारी मेयर खाणले दिए ।

आफ्नै कार्यकालमा वालिङलाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत १४ वटै वडाहरुलाई अप्टिकल फाइबरले जोड्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।
सेवाग्राहीहरुलाई सबै सुविधा अनलाइन प्रविधी मार्फत दिने काम शुरु गर्न लागिएको खाणको भनाइ छ ।
वालिङ नगरपालिकाको अनलाइन प्रविधिको ब्याकअप स्थानीय विकास मन्त्रालयमा स्थापना गरिसकिएको छ । अहिले १४ वटै वडा भित्र जताततै सिसिटिभी जोड्ने काम चलिरहेको छ । सीसीटीभीले नगरपालिको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेमा उनी ढुक्क छन् ।
खाणले चालू आर्थिक वर्षमा नगरपालिकासँग कूल ६० करोड बजेट रहेको र त्यस मध्ये ४ करोड नगरपालिकाको आन्तरिक आयबाट जम्मा भएको जानकारी दिए ।