
काठमाडौं, १८ वैशाख- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमलाई मर्यादित बनाउँदै आन्तरिक रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ क्रियाशील भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री विष्टले आन्तरिक रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।
यसका साथै बालश्रमको निवारण गर्ने एवं श्रमिकको सामाजिक सुरक्षा जस्ता कार्यहरूलाई तीनै तहको उचित समन्वय र प्रयत्नबाट उल्लेखनीय उपलब्धि प्राप्त गर्ने कुरामा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
मन्त्रालय सम्हाल्नेवित्तीकै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको सिन्डिकेटविरुद्ध आक्रमक देखिएका मन्त्री विष्टले विभिन्न कार्यदलमार्फत सिन्डिकेट हटाउने कामको शुरुवात गरेको समेत जनाए ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दीर्घकालीन सोचसहितको रणनीतिक योजना तयार गर्नका लागि नेपाल सरकारको पूर्वसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा एक कार्यदल गठन गरेका थिए ।
सो कार्यदललाई वैदेशिक रोजगारको कुसल व्यवस्थापन गरेका श्रम निर्यातक मुलुकहरूले गरेका द्विपक्षीय श्रम सम्झौताहरूको अध्ययन र नेपालले अबलम्बन गर्नुपर्ने विषयहरू पहिचान गर्ने, हालसम्म नेपालले गरेको श्रम सम्झौताको पुनरावोलकन गर्ने, वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याहरूको पहिचान गर्ने र त्यसलाई समाधान गर्ने जस्ता कामहरू मन्त्रालयले सुम्पिएको छ । सो कार्यदलले दुई महिनाभित्र आफ्नो प्रतिवेदन बुझाउने बताइएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकहरूमा गएका कतिपय नेपाली गम्भीर दुर्घटनामा परी अंगभंग भएर फर्किने गरेको कुरालाई ध्यानमा राखेर सहायता कक्षको निर्माण गर्ने निर्णय यसअघि गरिसकेका थिए ।
विदेशमा मृत्यु भएका नेपालीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा असरल्ल पर्ने गरेको समस्यालाई ध्यानमा राखेर एउटा शव बुझ्ने कक्षको पनि निर्माण गर्ने कुराको निर्णय भइसकेको छ ।