
म विना कसैकसैलाई मुश्किल छ पोखरामा
म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा
यो गीती गजलले गायक प्रमोद खरेलको गायन यात्रालाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेल्यो । यसैमार्फत सांगीतिक श्रोतासँग आफूलाई परिचित बनाउने अवसर पाए उनले । देश तथा विदेशमा हुने विभिन्न महोत्सवमा उनले यो गीत गाइरहे । गायक खरेलको स्वरले पनि वाहवाही पायो । गीतका शब्द तथा संगीतले पनि वाहवाही पाए । धेरैले ‘रुचाएको गीत’ बन्यो यो गीत ।
तर प्रमोद खरेललाई यो गीतले जुन उँचाइ दियो, त्यही उँचाइ यही गीतका सर्जक राजन गोदारले पाएनन् । गोदारलाई यो गीतले न सेलेब्रिटी बनायो, न त कुनै माहोलमाझ चिनायो । आफ्ना केही साथीले मात्र गीतकारका रूपमा चिन्छन् । अहिले उनी आफ्नै गाउँ स्याङ्जामा कुखुरापालन व्यवसाय गरेर बसेका छन् ।
असारै मैनामा, पानी पर्यो रुझाउने, एक्लो यो मेरो मन, कसरी बुझाउने
प्रायः नेपालीले सुनेको यो गीत । जब यो गीत कतै बज्न थाल्छ, आकस्मिक रुपमा श्रोता आफै गायक बन्न थाल्छन् । यो कर्णप्रिय गीत गुञ्जिँदा पछिल्लो पुस्ताले इन्डियन आइडल प्रशान्त तामाङको हो यो गीत भन्ठान्छ । छुजान डुक्पाले गाएको यो गीत प्रशान्तले पुनः रेकर्ड गराएर नेपालीमाझ चर्चा बटुले ।
तर यही गीतका सर्जक तुलसी गजमेरको नाम कमैलाई थाहा छ । छुजान डुक्पा भने यही गीतले अमर बने । उनलाई पुस्तौंपुस्ताले पनि स्मरण गर्नेछ यही गीतमार्फत ।
गीतकार – न गीतबापत चित्तबुझ्दो दाम पाउँछन्, न नाम कमाउँछन् ।
डा. कृष्णहरि बरालले आफूलाई स्थापित गीतकारको रूपमा चिनाएका छन् । उनी केही त्यस्ता गीतकारमा पर्छन् जो गीत लेखेरै बाँच्न सक्छन् । तर धेरैजसो गीतकार भने ओझेलमा पर्छन् । गायक स्टेजमा चढ्छन् र वाहवाही बटुल्छन् अनि गीतकार छायाँमै पर्छन् ।
‘नाईं न भन्नु ल ...’ ‘मर्ने कसैलाई रहर हुदैन...’ ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ...’ जस्ता कैयौं चर्चित गीत रचना गरेका डा. बराललाई गीतकार ओझेलमा पर्छन् भन्ने लाग्दैन । ‘श्रोताले गायकको स्वर चिन्छन् भने गीतकार गीतको माध्यमबाट चिनिन्छन् । गीतकार ओझेलमा परेका भन्न मिल्दैन,’ बराल थप्छन् ।
कुनै जमाना थियो, रेडियो नेपालले गीत लेखेबापत गीतकारलाई २० रुपैयाँसम्म दिन्थ्यो । गीतकारले आफ्नो नाम रेडियोमा प्रसारण हुने आशामा मात्र कतिपय गीतको रचना गर्थे ।
त्यसको तुलनामा अहिले गीतकारका लागि केही सहज भएको छ । बजार विस्तारसँगै गीतकार तथा गायकको दायरा पनि फराकिलो भएको छ । तर गीत लेखेर बाँच्न सक्ने स्थिति अहिले पनि बनेको छैन गीतकारलाई ।
नारायणगोपालदेखि गोपाल योञ्जनसम्मलाई गीत दिएका गीतकार रत्नशमशेर थापा आफूले गीत लेखेर पैसा कमाउन नसकेपनि गीत लेखनबाट सन्तुष्टि मिल्ने गरेको बताउँछन् ।
गीत लेखेर जीविकोपार्जन गर्ने स्थिति नेपालमा बन्न नसकेको गीतकारहरू स्वीकार्छन् । ‘गीत लेखेरै पैसा कमाउन सक्ने स्थिति नेपालमा छैन । बरू उल्टो पैसा खर्च गर्नुपर्ने स्थिति छ,’ साहित्यकार तथा गीतकार राजेन्द्र थापा सुनाउँछन् ।
‘आफ्नो गीत गाउँदा पनि रचनाकार तथा संगीतकारको नाम उद्घोष गरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ गीतकार राजन गोदार गुनासो गर्छन् । गायकले गीत गाउँदा, रेडियो तथा एफएमबाट प्रसारण गर्दा सर्जकको नाम पनि भनिदिने हो भने सर्जकको सृजनाले न्याय पाउँथ्यो भन्ने धारणा राख्छन् गोदार ।
‘कतिपय गायकले स्टेजमा हाम्रै गीत गाउने हुन् तर अझै पनि हामी आफंैले चाहिँ ‘यो गीतको गीतकार म हो है भन्दै चिनाउँदै हिँड्नुपरेको छ,’ २०२६ सालदेखि गीत लेखिरहेका गीतकार राजेन्द्र थापा भन्छन्, ‘वास्तविकता के हो भने जो अगाडि देखिन्छ, उसैलाई दर्शकले चिन्नुहुन्छ ।’
यसो भन्दा भन्दै थापाको तर्क अलिक बेग्लै पनि छ । ‘जनताले स्वर सुन्ने भए शिव परियारका सबै गीत हिट हुनुपर्ने हो । रामकृष्ण ढकालका सबै गीत हिट हुनुपर्ने हो नि । वास्तवमा गीतले गायकलाई चिनाउँछ,’ उनी भन्छन् ।
गीतले गायकलाई चिनाएपनि केही नेपाली गायक तथा संगीतकारले गीतको मूल्य नै हुँदैन भन्ने खालको व्यवहार देखाएको आरोप लगाउँछन् खरो स्वभावका थापा । भन्छन्, ‘केही संगीतकारले त चलचित्र निर्माताबाट आएको पैसा पनि दिन खोज्दैनन् गीतकारलाई । भोलिभोलि भन्दै टार्छन् ।’
तर समय बदलिएसँगै गीत प्रसिद्धिको चुचुरोमा पुग्दा गीतकारको पनि खोजी हुने प्रवृत्ति बिस्तारै विकास हुँदैछ । गीत कसरी सिर्जना भयो भन्नेबारेमा गीतकारसँग वार्ता गरेर फिचरहरू पनि लेखिन थालेका छन् ।
तर छिमेकी मुलुक भारतमा गीतकारले गीतको माध्यमबाट राम्रो पारिश्रमिक पाएपनि नेपालमा अझै त्यस्तो स्थिति बनिसकेको छैन ।
गायक गायिकाले जस्तै गीतकारले समेत रोयल्टी पाउने स्थिति बिस्तारै बन्दै गएपनि नेपालमा अझै पनि गीतकारले पेशागत दृष्टिले हेर्ने संस्कृतिको विकास भइसकेको छैन ।