काठमाडौँ- भारतीय टिभी च्यानल कलर्सको ‘झलक दिखला जा’ को रियालीटी शोको उपाधि हात पारेकी रुपन्देही रुद्रपुरकी किशोरी टेरिया फौजा मगरलाई गृह जिल्ला रुपन्देहीमा सम्मान गरिएको छ ।

टेरियाले प्रारम्भीक नृत्य प्रशिक्षण लिएकी बागेश्वरी संगितालय बुटवलमा उनलाई सम्मान गरिएको हो । टेरिया फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा संगितालयका प्रबन्ध निर्देशक सुरेश सेन्चुरिले टेरियालाई सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै उपाधी बिजेता टेरियाले आफुले आर्जन गरेको उपाधी र आयबाट घर बाहिर निस्कन नसकेकेका किशोर किशोरीहरुलाई सहयोग गर्न चाहेको बताईन् ।
उनले आफुलाई उपाधी दिलाउन भूमिका खेल्ने नेपाली मिडीया सहित सम्पूर्ण नेपालीहरुलाई धन्यबाद दिईन् ।
गत माघ ९ गते कलसै टेलिभिजनबाट प्रशारण गरिएको प्रतिस्पर्धामा एसएमएसमा सबै प्रतिश्पर्धीलाई पछि पार्दै उनी ट्रफीको हकदार बनेकी थिईन् ।
कार्यक्रममा बोल्दै टेरिया फाउण्डेसनका अध्यक्ष तथा टेरियाका हजुरबुवा कृष्ण बहादुर फैजा मगरले जीतको खुसीसंगै समर्थक सबै नेपालीप्रति कृतज्ञता जनाए ।
मगरले नै तेरियालाई तीन वर्षअघिसम्म रुद्रपुरबाट ४५ किलोमिटर टाढाबाट बुटवलमा दिनहुँ नृत्य सिकाउन ल्याएर नृत्य क्षेत्रमा लगाएका थिए ।
डान्स प्रतियोगिता विजेताहरु बीच प्रतिश्पर्धा गराउने ‘झलक दिखला जा’ भारतीय टिभी शोमा सर्वा्धिक पुरस्कार राशीको हो ।
डिआइडी लिटिल मास्टर विजेता भएपछि टेरियाले नेपाली झण्डासहित देशविदेशमा आफ्नो नृत्य देखाएर देशको नाम राखेकी थिइन् ।