१५ असार २०८३, सोमबार

खाजा पसलदेखि फिल्म हलसम्म सट्टेबाजको जालो, विदेशका खेलमा नेपालबाटै करोडौंको बाजी

जेठ १५, २०७५
खाजा पसलदेखि फिल्म हलसम्म सट्टेबाजको जालो, विदेशका खेलमा नेपालबाटै करोडौंको बाजी

काठमाडौं, १५ जेठ –२७ असोज २०७२ मा ४ जना फुटबल खेलाडी र १ प्रशिक्षकलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गर्‍यो । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरी पैसाका लागि नेपाली टीमलाई हराएको अभियोग उनीहरूमाथि लागेको थियो ।

पक्राउ पर्नेमा राष्ट्रिय फुटबल टीमका पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी पनि थिए । प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेको अडियो रेकर्डमा अञ्जनले म्याच फिक्सिङका लागि पैसाको डिल गरेकोदेखि पैसा लिएकोसम्म प्रमाण फेला पारेको थियो । पक्राउ परेका अञ्जनसहित ५ जनाविरुद्ध प्रहरीले राज्य विप्लव मुद्दा दायर पनि गर्‍यो । तर जिल्ला अदालतले २५ कार्तिक २०७२ मा सबैलाई धरौटीमा रिहा गर्ने आदेश दियो । अदालतमा ५ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका अञ्जन त्यसपछि ‘गुमनाम’ थिए । तर उनले भित्रभित्र अर्कै धन्दा चलाइसकेका रहेछन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमवार ललितपुरबाट पक्राउ गरेका अञ्जनले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा दाउ लगाउने गरी सट्टेबाजीको धन्दा शुरु गरेका रहेछन् ।

प्रहरीका अनुसार अञ्जनले नेपालको प्रमुख एजेन्ट मानिने गौरव तिवारीसँग मिलेर केही दिनअगाडि मात्रै सकिएको इन्डियन प्रिमियर लिग (आईपीएल)देखि च्याम्पियन्स लिग फुटबल प्रतियोगितासम्ममा बेटिङ (दाउ) लगाउने काम गर्दा रहेछन् ।

खाजा पसलदेखि फिल्म हलसम्म सट्टेबाजको जालो

प्रहरीले नेपालबाट अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सट्टेबाजी (अनलाई बेटिङ) गर्ने ६ जनालाई पक्राउ गरेको छ । जसका मुख्य नाईके हुन् काठमाडौंको मैतीदेवी घर भई पासिकोट बस्ने २७ वर्षीय गौरव तिवारी । तिवारी काठमाडौंको सुन्धारास्थित सिभिल मलमा रहेको फिल्म हलका सञ्चालक पनि हुन् ।

नेपालको चर्चित सिनेमा नेटवर्क क्यूएफएक्सअन्तर्गत सञ्चालित सिनेमा हलका मालिक तिवारीले आईपीएल खेलमा मात्रै ७ करोड ४७ लाख २ हजार रुपैयाँ बराबरको सट्टेबाजी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

शुरुमा नागराज भन्ने अमृत अग्रवालसँग मिलेर खेलमा सट्टेबाजी गर्ने गौरवले नागराजसँगको लेनदेन विवादपछि आफ्नै एकाउन्ट खोली आफ्नै एकाउन्ट खोली सट्टेबाजीको धन्दा थालेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले बताए । 

गौरवपछि सट्टेबाजीमा भूपेन्द्र शम्शेर कुँवर मुख्य एजेन्ट रहेको प्रहरीले जनाएको छ । पूर्वफुटबलर केसीले समेत भूपेन्द्रकै मातहतमा नेटवर्क बनाएर सट्टेबाजीको धन्दा चलाउने गरेको एसएसपी पोखरेल बताउँछन् । 

कुँवरले आईपीएल खेल चल्दा ३ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको सट्टेबाजी गरेको प्रहरीले जनाएको छ । यस्तै पूर्वफुटबलर अञ्जन केसीले आईपीएल र युईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा २ करोड ७७ लाख ५ हजार रुपैयाँ बराबरको सट्टेबाजी गरेको देखिएको छ ।

खेलको सट्टेबाजीमा संलग्न विजय श्रेष्ठले भूपेन्द्र शम्शेर कुँवारमार्फत रहेर काम गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले भुपेन्द्रको मातहत रहेर १ करोड ७० लाख रुपैयाँ बराबरको सट्टेबाजी गरेको प्रहरीले जनाएको छ । 
यस्तै विजयले आफू मातहतमा रहने गरी नरेन्द्र सुवाललाई काम लगाउने गरेको भेटिएको छ । नरेन्द्रले ७७ लाख बराबरको सट्टेबाजी गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दिनेश बोगटी गौरव तिवारीको सहयोगीको रूपमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनले सट्टेबाजीको रकम एजेन्टसम्म पुर्‍याउने तथा एजेन्टहरूबाट गौरवसम्म पुर्‍याउने काम गर्ने गर्दथे ।

प्रहरीका अनुसार नेपालमा अन्तर्राष्ट्रिय खेलकुदमा सट्टेबाजी गर्नेहरूको ठूलै जालो छ । खेलमा सट्टेबाजी गर्नेहरूको जालो फिल्म हलदेखि खाजा पसलसम्म फैलिएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्