
१६ देशका २२ वटा कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हालै काठमाडौँमा सम्पन्न भएको छ । वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको दोस्रो शताबार्षिकी पारेर नेपाल कम्युनिस्ट पार्टी र नेकपा (मसाल) ले आयोजना गरेको उक्त कार्यक्रममा मार्क्सवाद र समाजवादका बारेमा खुलेर छलफल भएको छ । ४२ जना विदेशी र बाँकी नेपाली गरी करिब तीन सय जना सहभागी रहेर दुई दिनसम्म भएको छलफलमा औपचारिक कार्यपत्रबाहेक सहभागीहरुले इच्छा अनुसार कुनै पनि पार्टीका नेतालाई प्रश्न सोध्ने र त्यसमा छलफल गर्ने जीवन्त अभ्यास समेत भएको थियो । सम्मेलनबाट ६ बुँदे काठमाडौँ घोषणा जारी भएको छ, जसमा कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुले आफ्ना समान धारणाहरु सार्वजनिक गरेका छन् ।
करिब दुई तीन महिनाअघि पार्टी एकता नहुँदै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने निर्णय भएर यो कार्यक्रम आयोजना भएको थियो । बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा बनाइएको आयोजक समितिले सचिवालय बनाएर यसको गृहकार्य सुरु गर्दा हामीलाई कार्यक्रम यति भव्य होला कि नहोला भन्नेमा शंका थियो । दुबै पार्टीका नेताहरु बसेर विश्वका २८ वटा कम्युनिस्ट पार्टीलाई आमन्त्रण गर्ने निर्णय भएपछि त्यही अनुसार हामीले तयारी थालेका थियौँ ।
इमेल ठेगाना संकलन, अवधारणापत्र निर्माण, आमन्त्रण पत्र मस्यौदा, कार्यक्रम स्थल तय, होटल बुकिंग जस्ता कुरा गर्दागर्दै दुई महिना सकिएको थाहै भएन । खासमा यो कार्यक्रम कार्ल मार्क्सको जन्म दिन पारेर मे ५ तारिखमै गर्ने सुरुको योजना थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा पनि त्यही थियो । तर, तयारीका लागि पर्याप्त समय नपुग्ने भएका कारण हामीले मार्क्सको जन्म महिना मे भित्रै गरौँ भनेर ३० र ३१ तारिख रोजेका थियौँ ।
हामीले यो कार्यक्रम गर्नुको उद्देश्य नेपालमा कम्युनिस्ट आन्दोलनले हासिल गरेको अभूतपूर्व सफलता विश्वका कमरेडहरुका बीचमा बाँड्नु थियो ।
भनिरहनु परेन, विश्वमा अहिले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । क्रान्तिबाट सत्ता स्थापना भएका चीन, क्युवा, लाओस, भियतनाम र उत्तर कोरियाबाहेक अन्यत्र कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुकहरु छैनन् । साम्राज्यवाद विरोध समाजवादी सरकारहरु ल्याटिन अमेरिकामा भए पनि तिनीहरु कम्युनिस्ट होइनन् । यस्तो अवस्थामा निर्वाचनबाट करिब दुई तिहाई मत ल्याएर सत्तामा जाने कम्युनिस्टहरु नेपालमा मात्र छन् । विश्वका हाम्रा कमरेडहरुलाई हामीले यो सफलता कसरी प्राप्त गर्यौँ भनेर सुनाउन चाहन्थ्यौँ । प्र्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, आयोजक समितिको संयोजक माधवकुमार नेपाल र समापन समारोहका अध्यक्ष नारायणकाजी श्रेष्ठले त्यो कुरा राम्ररी सम्प्रेषण गर्नुभएको छ ।
विश्व मार्क्सवादको पक्षमा या विपक्षमा गरी दुई शिविरमा बाँडिएको छ । सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र सार्वजनिक भएयताको सम्पूर्ण राजनीतिक विमर्शको केन्द्र मार्क्स र उहाँका विचारहरु छन् । अहिलेसम्म जति विचार विमर्श र बहसहरु भएका छन्, तिनीहरु या मार्क्सवादका पक्षमा छन् या त त्यसका विपक्षमा । अर्थात् विचारका प्रश्नमा मार्क्सवाद विश्वको प्रधान विचारधारा हो र यसले विश्वका सबभन्दा बढी मानिसहरुलाई असाधारण ढंगले प्रभावित पारिरहेको छ । मार्क्सवादका समर्थक, शुभेच्छुक र अनुयायीहरु मात्र होइन, यसका विरोधीहरु पनि यसको वरिपरि घुम्न बाध्य छन् । १ सय ७० वर्षसम्म विश्वलाई असाधारण रुपमा लगातार प्रभावित पारिरहने मार्क्सवादबाहेक अर्को कुनै वैज्ञानिक विचार छैन । मार्क्सवादको सान्दर्भिकता हिजो जति थियो, आज पनि त्यति नै छ र भोलि पनि रहिरहनेछ ।
मार्क्सवादको मूल ध्येय अग्रगामी आर्थिक–सामाजिक परिवर्तन हो, मेहेनतकश श्रमजीवी वर्गको मुक्ति हो । उत्पादनका साधनहरुमाथि पुँजीपति वर्गको वर्चश्वलाई संघर्षका माध्यमबाट समाप्त पारी तिनलाई श्रीमजीवी वर्गका हातमा ल्याउनु हो । यसक्रममा विश्वभर नै मार्क्सवादले अभूतपूर्व श्रेष्ठता हासिल गरेको छ । साथै, प्रत्येक देशको आवश्यकता र वस्तुस्थितिको ठोस मूल्यांकन अनुसार कार्यनीतिगत नवीनताहरुलाई उपयोग गर्दै मार्क्सवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्ने ढोका पनि यसले खुल्लै राखेको छ । त्यही अनुसार विश्वका विभिन्न भागमा आ–आफ्ना मुलुकका विशेषता अनुरुप मार्क्सवादको सिर्जनात्मक प्रयोग, विकास र रक्षा गर्ने काम जारी छ । मलाई लाग्छ, आजको हाम्रो यो जमघट पनि त्यसैमा योगदान गर्ने एउटा प्रयास हो ।
समाज विज्ञानको इतिहासमा कार्ल मार्क्सको योगदानलाई आजसम्म कसैले चुनौती दिन सकेको छैन । उहाँले स्थापित गरेको इतिहासको भौतिकवादी धारणा तथा पुँजी र श्रमबीचको सम्बन्ध अर्थात् अतिरिक्त मूल्यको सिद्धान्त वरिपरि नै विश्व समाज घुमिरहेको छ । विगत हजार वर्षमा प्रकट भएका विचारहरुलाई संश्लेषण गर्दा कार्ल मार्क्सका विचारहरु सर्वाधिक प्रभावशाली रहेको निष्कर्ष निकाल्दै उहाँलाई ‘सहश्राब्दी पुरुष’का रुपमा स्वीकार गरिनुले मार्क्सवादको घनत्व समाजमा कति छ भन्ने देखाउँछ ।
पुँजीवादमा नयाँ–नयाँ संकटहरु देखा परिरहेका छन्, यसले आफ्ना एकपछि अर्को विकृत रुपहरु देखाउँदै गएको छ र दिनप्रतिदिन विभेद, उत्पीडन र शोषणको मात्रा बढाइरहेको छ । यति भनेर मात्रै समाजवादको औचित्य पुष्टि गर्न सकिँदैन । हामीले कस्तो अभ्यासबाट त्यसलाई परास्त गर्दै जनतालाई समृद्ध बनाउँछौँ रु समाजलाई शोषणरहित, समतामुलक र न्यायपूर्ण बनाउँछौँ रु जनताले देख्ने र बुझ्ने मार्क्सवाद र समाजवाद त्यही हो । मेरो विचारमा आजको हाम्रो समाजवादको ध्येय पनि यही हो र हुनुपपर्छ । किनभने, कार्ल मार्क्सले आफ्ना सम्पूर्ण रचनाहरुमा मानिसलाई केन्द्रमा राख्नुभएको छ । रहस्यपूर्ण, अलौकिक, आधारहीन र काल्पनिक कुराहरुलाई बैज्ञानिक विचार पद्दतिद्वारा चुनौती दिँदै उहाँले आफ्नो विचारको प्रमुख आधार मानिस, त्यसको जीवन, त्यसको विशाल समुदाय र अन्ततः विश्वलाई बनाएको कुरा हाम्रा लागि सदैव दिमागमा रहिरहनुर्छ । अर्थात्, मार्क्सवाद कुनै बौद्धिक बहस वा राजनीतिको विषय मात्र होइन, यो त आम जनताको जीवनमा आमूल परिवर्तन ल्याउने सूत्र हो । हामी त्यसलाई कसरी प्रयोग गर्छौं र कस्तो परिणाम निकाल्छौँ भन्ने कुराबाट जनसमुदायले यसको औचित्य परख गर्छन् ।
नेपालमा हामीले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइँ दिएका छौँ । सन् १९४९ अप्रिल २२ तारिखका दिन लेनिनको जन्म दिन पारेर पुष्पलालको नेतृत्वमा पाँच जनाले देशबाहिर स्थापना गरेको कम्युनिस्ट पार्टी आज मुलुकको सत्तारुढ र शक्तिशाली पार्टीका रुपमा स्थापित भएको छ । कम्युनिस्ट पार्टीको पहल र नेतृत्वमा संविधानसभाबाट संविधान जारी भएपछि आयोजित स्थानीय, प्रदेश र संघका तीनै निर्वाचनमा कम्युनिस्ट पार्टीले शानदार विजय हासिल गरेको छ । स्थानीय निर्वाचनमा हामी दुई ठूला कम्युनिस्ट पार्टीले अलग–अलग प्रतिस्पर्धा गर्दा पनि बहुमत स्थानमा विजय हासिल गरेका थियौँ भने प्रादेशिक र संघीय निर्वाचनमा मिलेर जाँदा करिब दुई तिहाई सिटमा विजय हासिल गरेका छौँ ।
हालै १८ मे, २०१८ मा दुई पार्टी मिलेर एक भएपछि नेपालका सबै तहमा हाम्रो पूर्ण वर्चश्व भएको छ । संघीय संसद् अन्तर्गत तल्लो सदन– प्रतिनिधिसभामा २ सय ७५ मध्ये हामीसँग १ सय७४ सिट छ भने माथिल्लो सदन– राष्ट्रियसभामा ५९ मध्ये ४२ सिट छ । अर्थात् हामी करिब ६४ प्रतिशत छौँ । सातवटा प्रदेशमध्ये छ वटामा दुई तिहाई बहुमतसहितका हाम्रै सरकारहरु छन् । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष जस्ता सबै प्रमुख पदहरुमा हाम्रा नेताहरु निर्वाचित हुनुभएको छ । यी सबै घटनाक्रमबाट नेपालमा अभूतपूर्व अवस्था सिर्जना भएको छ ।
नेपालमा कम्युनिस्ट आन्दोलन सधैँ लोकप्रिय आन्दोलनका रुपमा रहँदै आएको छ । यसो हुनुका पछाडि हामीले जनताका सरोकारका विषय, उनीहरुका मुद्दा र भावनाहरुलाई गहिरो गरी समात्न सक्नु नै प्रमुख कारण हो । हामीसँग भएको अब्बल सिद्धान्त मार्क्सवाद–लेनिनवादलाई जनताले यत्तिकै बुझ्दैनन् । हामी उनीहरुका लागि के गर्छौं ? हाम्रो व्यवहार कस्तो छ ? हामीले गरिरहेको कामले उनीहरुलाई प्रभाव पारेको छ कि छैन ? यस्ता कुराले नै कम्युनिस्ट आन्दोलन कति लोकप्रिय हुन्छ भन्ने कुरा निर्धारण हुन्छ । नेपालमा यही भएको छ ।
निर्दलीय निरंकुशताका विरुद्ध संघर्ष गर्यौँ, सामन्ती राज्य व्यवस्थाका विरुद्धमा सशस्त्र संघर्ष पनि भयो, जनअभिमत पाएर सरकार बनाउँदा जनताका पक्षमा असरदार र राम्रा कामहरु गरेर छाप बनायौँ, बहुमत नपाउँदा सक्रिय र प्रखर जनमुखी प्रतिपक्षका रुपमा संसद्लाई संघर्षको मोर्चाका रुपमा प्रयोग गर्यौँ । यी सबै घटनाक्रमहरुमा जनताले हामीलाई आफ्नै नजरले जाँच्न पाए र हामी जनअदालतको परीक्षामा उत्तीर्ण भयौँ । त्यसैको परिणाम स्वरुप प्रतिस्पर्धात्मक राजनीतिमा हामीले श्रेष्ठता हासिल गरेका छौँ र आज संसारमै उदाहरणका रुपमा प्रस्तुत भएका छौँ । लोकतन्त्र, सामाजिक न्याय, आर्थिक–सामाजिक परिवर्तन, जनजीविका जस्ता विषयमा आज हामी जनताको भरपर्दो आशाका रुपमा स्थापित भएका छौँ ।
हामीले काठमाडौँबाट विश्वलाई यही सन्देश दिएका छौँ । समग्रमा यही विषयमा सेमिनारमा छलफल भएको छ र मार्क्सवाद तथा समाजवादप्रतिको आफ्नो प्रतिबद्धतालाई उजागर गर्दै समापन भएको छ ।
(नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रिजाल कार्ल मार्क्स द्विशतबार्षिकीका अवसरमा आयोजित मार्क्सवाद र समाजवाद विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजक समितिमा रहेर सक्रिय थिए ।)