
काठमाडौं, २१ जेठ – यही जेठ २६ गते अर्जेन्टिनाको फूटबल टीमले इजरायलसँग मैत्री खेल खेल्ने भएको छ । विश्वकपको तयारीका रूपमा यो खेल खेलिन लागेको हो ।
अर्जेन्टिनाका समर्थकहरू यसलाई लकी गेमका रूपमा लिइरहेका छन् । लकी गेम किनकि अर्जेन्टिनाले सन् १९८६ मा पनि इजरायलसँग मैत्री खेल खेलेको थियो र टीमले वर्ल्डकप नै जितेको थियो ।
रुसमा जेठ ३१ गतेदेखि विश्वकप शुरू हुँदैछ ।
दक्षिण अमेरिकीहरूका लागि यो म्याचले राम्रो अनुभव दिलाएपनि प्यालेस्टाइनीहरूको भने पुरानो घाउ ताजा बनाएको छ ।
प्यालेस्टाइनका ७० जना बालबालिकाको एक समूहले अर्जेन्टिनाका खेलाडी लियोनेल मेस्सीलाई एक पत्र लेखेर यो खेलमा भाग नलिन आह्वान गरेका छन् ।
यो खेल दक्षिणी जेरुसेलमको टेडी कोलेक स्टेडियममा खेलिनेछ । मलहामा रहेको यो स्टेडियम ७० वर्षअघि अरब–इजरायल युद्धका बेलामा बर्बाद भएको थियो ।
त्यहाँ बस्ने प्यालेस्टाइनीहरूलाई इजरायली सेनाले सन् १९४८ मा भगाएको थियो ।
त्यहाँबाट विस्थापित भएका परिवारका सन्तानले आइतवार इजरायलस्थित अर्जेन्टिनाको दूतावासमा पत्र पठाए ।
उक्त पत्रमा प्यालेस्टाइनी बालबालिकाले आफूहरू तिनै व्यक्तिका सन्तान भएको बताए जसलाई स्टेडियम भएको ठाउँबाट विस्थापित गरिएको थियो ।
बालबालिकाले लेखे, ‘हामीलाई बताइएअनुसार तपाईं आफ्ना साथीहरूसँग मलहा आउनुभएको छ । त्यही स्टेडियममा खेल्दै हुनुहुन्छ जुन हाम्रो गाउँ उजाड बनाएर बनाइएको थियो ।’
आफूहरू मेस्सी त्यहाँ आएको थाहा पाउँदा खुशी भएको तर आफूहरूको कुनै बेलामा घर भएको ठाउँमै म्याच हुन लागेको सुनेर दुःख लागेको बालबालिकाले बताए ।
सन् १९८६ को म्याच रमत गनमा खेलिएको थियो ।
बालबालिकाले पत्रमा लेखे, ‘मेरा खुशी आँसुमा परिणत भएका छन् अनि मेरो मुटु टुक्रेको छ । हाम्रा पूर्वजहरूको चिहानमा हाम्रा नायकले खेल्नु कत्तिको सही हो ?’
पत्रको अन्त्यमा बालबालिकाले लेखे, ‘आफ्ना साथीहरूका तर्फबाट हामी भगवानसँग प्रार्थना गर्छौं, मेस्सीले हाम्रो मन तोड्नुहुने छैन ।’
मेस्सीले अहिलेसम्म सार्वजनिक रूपमा पत्रमाथि कुनै प्रतिक्रिया दिएका छैनन् ।
बीबीसीबाट