
काठमाडौं, ३० जेठ - फूटबल यस्तो खेल हो, जसमा खेल कौशलसँगै गतिको पनि निकै ठूलो महत्त्व हुन्छ ।
खेलाडीको गति कम भएमा खेलको रौनक पनि कम हुन्छ । सोही कारणले हो, फूटबलमा कम उमेरका खेलाडी बढी चम्किने गरेको ।
३० वर्ष पार गरेपछि खेलाडीको दौडिने क्षमतामा कमी आउन थाल्छ । त्यसैले पनि १८ देखि २५ वर्ष उमेर समूहका खेलाडी बढी प्रभावशाली देखिन्छन् ।
बिहीवारबाट शुरु हुने फिफा विश्वकपमा सहभागी हुन रुस पुगेका ७३६ खेलाडीको औसत उमेर २८ वर्ष छ ।
पाका खेलाडीहरूको बाहुल्यताका कारण प्रतियोगिताको रोमाञ्चकता घट्ने कतिपयको विश्लेषण छ ।
४५ वर्षीय खेलाडी विश्वकपमा ?
रुस विश्कपमा खेलाडीको औसत उमेर बढाउन सबैभन्दा ठूलो भूमिका इजिप्टका गोलकिपर एसाम अल हैदरीको छ ।
यो प्रतियोगिता खेलेर उनले विश्वकप खेल्ने सबैभन्दा पाको खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउँदै छन् ।
हाल यो कीर्तिमान कोलम्बियन गोलकिपर फरिद मोन्द्रागोनको नाममा छ । उनले ४३ वर्षको उमेरमा विश्वकप खेलेका थिए ।
आसन्न विश्वकपमा सबैभन्दा कम उमेरका खेलाडी अस्ट्रेलियन मिडफिल्डर ड्यानीयल अरजानी हुन् । उनी १९ वर्ष ५ महिनाको भए ।
यस प्रतियोगितामा सहभागिता जनाउने ७ खेलाडी २० वर्षभन्दा कम उमेरका छन् ।
नाइजेरिया सबैभन्दा युवा टीम
रुस विश्वकपमा नाइजेरिया सबैभन्दा जवान टीम हो । उसका खेलाडीहरूको औसत उमेर २५.९ वर्ष छ । सबैभन्दा बढी औसत उमेर पानामा र कोस्टारिकाको छ । यी दुई टोलीका खेलाडीहरूको औसत उमेर २९.६ छ । पानामा पहिलो पटक विश्वकप खेल्न लागेको टीम हो ।
युवा टीममा एन्टोइन ग्रिजम्यानको फ्रान्स र ह्यारी केनको इंग्ल्याण्ड संयुक्त रूपमा दोस्रो स्थानमा छन् । उनीहरुको औसत उमेर २६ वर्ष छ ।
पाका पूर्वच्याम्पियन
उपाधि होडमा हमेसा अघि रहने ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनी, पोर्चुगललगायतका टीमको औसत उमेर बढी नै छ । यसमध्ये पनि अर्जेन्टिना २९.३ औसत उमेरका साथ अन्तिमबाट चौंथो स्थानमा छ । साविकको विश्वविजेता जर्मनीको औसत उमेर २७.१ छ ।
मेस्सी र रोनाल्डो दुवै ३० वर्ष पार
वर्तमान विश्व फूटबलका दुई चर्चित नाम लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुवै ३० वर्ष कटिसके । रोनाल्डो ३३ वर्षका भए भने मेस्सीले ३१ वर्षमा टेक्दैछन् ।