०२ साउन २०८३, शनिबार

विश्वकपको सबभन्दा कमजोर आँकिएको टीम रुसले गर्‍यो उत्कृष्ट प्रदर्शन, पुटिन गदगद

विश्वकपको सबभन्दा कमजोर आँकिएको टीम रुसले गर्‍यो उत्कृष्ट प्रदर्शन, पुटिन गदगद

काठमाडौं, ६ असार – साउदी अरबलाई ५–० को विशाल अन्तरले हराएर आत्मविश्वास बढाएको रुसले बुधवार बिहान सम्पन्न खेलमा इजिप्टलाई ३–१ ले हराएर अर्को चरणमा लगभग स्थान पक्का गरेको छ । 

यो विश्वकपमा रुस सबभन्दा तल्लो स्थानमा रहेको टोली हो । आफ्नै देशमा आयोजन भएको विश्वकपमा उसले राम्रो प्रदर्शन गर्ने अपेक्षा थिएन । तर दुई खेलमा उसले देखाएको प्रदर्शनले धेरैलाई आश्चर्यमा पारेको छ । 

साउदीलाई जितेपछि रुसी टोलीका प्रशिक्षक स्तानिस्लाभ चेर्चेसोभलाई म्याचपछिको पत्रकार सम्मेलन चलिरहेको बेलामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फोन गरेका थिए । पुटिनले ‘खेलाडीहरूलाई मेरो तर्फबाट बधाई सुनाउनू’ भनेका थिए । 

इजिप्टविरुद्धको खेलमा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि पुटिनको अर्को कल प्रशिक्षकलाई आएको हुनुपर्छ । 

उक्त खेलमा पनि एक गोल गरेर रुसी खेलाडी डेनिस चेरिसेभ पोर्चुगलका रोनाल्डोसँगै प्रतियोगिताका सर्वाधिक गोलकर्ता बनेका छन् । दुवैले कुल तीन गोल गरेका छन् ।

विश्वकप आयोजन गर्ने २१ टोलीमा दक्षिण अफ्रिका मात्र समूह चरणबाट माथि जान सकेको थिएन । आज उरुग्वेले साउदी अरबलाई हराएमा रुस स्वतः दोस्रो चरणमा पुग्नेछ भने इजिप्ट प्रतियोगिताबाट बाहिरिनेछ ।

रुससँग हारेपछि इजिप्ट भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ । प्रतियोगितामा रहिरहन उनीहरूले साउदी अरबलाई विशाल गोलअन्तरले हराउनुपर्नेछ र उरुग्वे रुस र साउदी अरब दुवैसँग हारोस् भनी कामना गर्नुपर्नेछ । 

इजिप्टका सुपरस्टार खेलाडी मोहम्मद सालाहको फिटनेसमा समस्या भएका कारण पनि इजिप्टको प्रदर्शन कमजोर रह्यो । उनले उरुग्वेसँगको अघिल्लो खेल खेल्न पाएनन् तर यस म्याचमा उनले पेनाल्टीमार्फत गोल गरे । 

विश्वकपमा इजिप्टका लागि गोल गर्ने सालाह तेस्रो खेलाडी हुन् तर इजिप्टले विश्वकपमा अहिलेसम्म कुनै पनि म्याच जित्न सकेको छैन ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्