३२ असार २०८३, बिहीबार

जापानका समर्थकले खेलपछि सफा गरे रंगशाला, सेनेगलका समर्थक पनि त्यही बाटोमा

जापानका समर्थकले खेलपछि सफा गरे रंगशाला, सेनेगलका समर्थक पनि त्यही बाटोमा

काठमाडौं, ६ असार – कोलम्बियासँगको तनावपूर्ण म्याच २–१ ले जितेपछि जापानी समर्थकहरूले रंगशाला सफा गरेका छन् । 

विश्वकपका म्याचहरूपछि प्रायः दर्शकदीर्घामा खानेकुराको बाँकी भाग, कप र –यापरहरू यत्रतत्र फालिएका भेटिन्छन् । 

तर जापानी समर्थकहरूले आफूले फालेका सबै फोहोर झोलामा टिपेर लगेका छन् । 

उनीहरूले रंगशालामा आफू बसेको सीट र पंक्तिलाई ध्यान दिएर सफा गरेका छन् । 

पहिलोपटक एसियाली टोलीले दक्षिण अमेरिकी टोलीलाई हराएपछि खुशी भएका समर्थकहरूले सभ्य व्यवहारको उत्कृष्ट नमूना देखाएका हुन् । 

उनीहरूले फोहोर बोक्ने ठूला झोलाहरू ल्याएका थिए अनि त्यसैमा फोहोर हाल्दै हिँडेका थिए । उनीहरू रंगशालामा पस्दा जस्तो सफाइ थियो, गएपछि पनि त्यस्तै सफा रह्यो । 

नीलो सामुराई भनी चिनिने जापानका समर्थकहरूले असल व्यवहार देखाएको पहिलोपटक हैन । सन् १९९८ मा पहिलोपटक विश्वकप खेल्न थालेदेखि जापानका समर्थकहरू जहाँ गएपनि फोहोर सफा गरिहाल्छन् ।

त्यस्तै अफ्रिकी टोली सेनेगलका समर्थकहरूले पनि मंगलवार पोल्यान्डसँगको खेलपछि रंगशालाको फोहोर सफा गरेका छन् । उक्त खेलमा सेनेगलले पोल्यान्डलाई २–१ ले हराएको थियो । 

म्याचका बेलामा उत्साहित भएर फोहोर फ्याँकेका सेनेगली समर्थकहरूले दयालुता देखाउँदै रंगशाला सफा गरे । 

उनीहरूको यो कार्यले सामाजिक सञ्जालमा निकै प्रशंसा दिलायो । जीतपछि विनम्रता र सहयोगी भावना देखाएको भनी उनीहरूको प्रशंसा भएको हो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्