
काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलोचना गर्ने गरेका छन् ।
विश्वकपअन्तर्गत क्रोएसियासँगको म्याच अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक साम्पाओलीले अर्जेन्टिनाले आइसल्याण्डलाई जित्न नसक्नुमा मेस्सी मात्र दोषी नरहेको बताए ।
'जब अर्जेन्टिनाको जर्सीबाट गोल हुन्छ, त्यसको श्रेय हामी सबै लिन्छौं । अनि जब अर्जेन्टिनाले हार्छ, त्यहाँ मेस्सीको मात्र दोष हुन्छ ! यो त अलि अन्याय भयो,' साम्पाओलीले भने- 'एउटा खेलाडीमा एकदमै धेरै बोझ थोपरिएको छ । मैले भन्नुपर्छ- त्यो पेनाल्टी मिस हुनुमा म पनि जिम्मेवार छु ।'
साम्पाओलीले थपे - 'मेस्सी एक्लै दोषी हुनै सक्दैनन् । मलाई लाग्छ अब अर्जेन्टाइनले यसरी सोच्नुपर्छ ।'
मेस्सीलाई विपक्षीले घेर्दा अन्य खेलाडीले फाइदा उठाउन सक्नुपर्ने उनको भनाइ छ ।
'जब दुई वा तीन विपक्षी खेलाडी मेस्सीलाई ब्लक गर्न लागिपरेका हुन्छन्, तब अन्य खेलाडीका लागि स्पेस खुल्छ, जस्तो आइसल्याण्डसँगको खेलमा भएको थियो,' उनले भने- 'यस्तो अवस्थामा हामीले फाइदा उठाउन सक्नुपर्छ ।'
मेस्सीले अर्जेन्टिनाका लागि खेलेका अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमध्ये ५/६ खेलमा मात्र हार बेहोरेको भन्दै उनी टीमको पिलर नै भएको बताए ।
मेस्सी र म्याराडोना दुवै अर्जेन्टिनाका लागि आफ्नो समयका महान खेलाडी भएको उनको भनाइ छ ।