३० असार २०८३, मंगलबार

आजबाट ३१ वर्षका भए मेस्सी, थाहा पाउनुस् उनीबारे १० रोचक तथ्य

आजबाट ३१ वर्षका भए मेस्सी, थाहा पाउनुस् उनीबारे १० रोचक तथ्य

काठमाडौं, १० असार –वर्तमान विश्व फूटबलका महान खेलाडी लियोनल मेस्सी ३१ वर्षका भए । उनको आज जन्मदिन हो ।

पाँच पटकका वर्ष खेलाडी मेस्सीले जारी विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् । उनकै नेतृत्वमा रहेको अर्जेन्टाइन टीम २ खेलसम्म जीतविहीन छ र समूह चरणबाटै बाहिरिने खतरामा पनि छ ।

यति हुँदाहुँदै पनि उनका अधिकांश समर्थक अन्तिम समयसम्म भए पनि उनको जादुयी प्रदर्शन हेर्न पाउने र अर्जेन्टिना नकआउट चरणमा पुग्ने आशामा छन् । अर्जेन्टिनाले समूहको आफ्नो अन्तिम खेल नाइजेरियासँग मंगलबार खेल्ने छ ।

यसरी समर्थकले आशा र भरोसा गर्नुका धेरै कारण छन् । पहिलो त उनले आफ्नो फूटबल करियरमा जमाएको प्रभाव र क्लब फूटबलमा प्राप्त गरेको उपलब्धि नै हो ।

मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई वर्तमान विश्व फूटबलका सबैभन्दा प्रतिभाशाली र चर्चित स्टार मानिन्छ ।

विश्वकप र मेस्सीको जन्मदिनको अवसर पारेर हामीले उनकीबारे १० रोचक तथ्य तपाईंलाई जानकारी दिँदैछौं ।

१. चे ग्वेभाराको गाउँमा जन्म

मेस्सीको जन्म अर्जेन्टिनास्थित क्रान्तिनायक चे ग्वेभाराको गाउँ रोसोरियोमा भएको हो । बुवा जर्ज मेस्सी एक कारखानामा मजदूरी गर्दथे । जर्जका ४ छोराछोरीमध्ये मेस्सी तेस्रो सन्तान हुन् ।

२. बाल्यकालमै अचम्मको प्रतिभा

मेस्सीले ५ वर्षकै उमेरदेखि फूटबल खेल्न थाले । उनी स्थानीय क्लब ग्रान्डोलीमा अनुबन्धित पनि भए । ९ वर्षको हुँदा मेस्सी फूटबलमा यति निपूण भइसकेका थिए कि बल खुट्टामा परेपछि सधैं उनकै कब्जा रहन्थ्यो । उनको खेल हेर्नेहरू भन्थे – यो केटोले म्याराडोनालाई पनि पछि पार्छ । जबकि त्यतिबेला अर्जेन्टिनामा विश्वकप जिताउने म्याराडोनालाई भगवानसरह मानिन्थ्यो ।

३. ११ वर्षकै उमेरमा भयानक बिमारी

११ वर्षको उमेरमा मेस्सीमा ग्रोथ हर्मोनको कमी देखियो । यो यस्तो समस्या थियो कि त्यसको समयमै उपचार गर्न नसके उनको शारीरिक वृद्धि नै ठप्प हुन्थ्यो । मेस्सी दैनिक आफ्नो तिघ्रामा हर्मोनको इन्जेक्सन लगाउँथे । यो क्रम ३ वर्षसम्म जारी रह्यो ।

४. उपचारका लागि बार्सिलोनाको यात्रा

मेस्सीको उपचारका लागि मासिक डेढ हजार डलर खर्च लाग्थ्यो । बुवा जर्ज एक साधारण मजदूर भएकाले उनको उपचारमा निकै समस्या आयो । त्यति नै बेला जर्जका साथीले बार्सिलोना क्लबको बारेमा बताए । बार्सिलोनाले उपचार गरिदिने सुनेपछि उनी परिवारसहित स्पेन प्रस्थान गरे ।

बार्सिलोना मेस्सीको उपचार गर्न तयार भयो । उपचार भइसकेपछि मेस्सीका सामु दुई विकल्प थिए– अर्जेन्टिना फर्किने कि स्पेनमै रहने । मेस्सीले स्पेन नै बस्ने निर्णय लिए । ‘मेरा लागि यो क्लबले यति धेरै गर्‍यो, अब म क्लबमै रहन्छु र यसको गुन तिर्छु ।’ सोही कारण हो, कैयन आकर्षक अफरहरूलाई लत्याउँदै मेस्सी अझैसम्म बार्सिलोनामै छन् ।

५. ‘बार्सिलोना बी’बाट व्यावसायिक फूटबलमा

मेस्सीले बार्सिलोना बीबाट आफ्नो व्यावसायिक फूटबल यात्रा शुरु गरे । उनको उचाइ अन्य खेलाडीभन्दा कम थियो, जसका कारण उनले ड्रिबलिङ र कलात्मक खेल शैलीमा आफूलाई निपूण बनाउँदै लगे ।

६. पहिलो अनुबन्धन न्याप्किनमा

मेस्सीको पहिलो अनुबन्धन न्यापकिन पेपरमा लेखियो । एफसी बार्सिलोनाका चिफ चाल्र्स मेस्सीसँग यति धेरै प्रभावित भए कि अनुबन्धनका लागि प्रोफेसनल पेपर कुर्ने धैर्य पनि भएन । उनले आफ्नो अगाडि रहेको न्याप्किन पेपर झिके अनि त्यहीँ अनुबन्धनको बेहोरा लेखे । त्यसलाई पछि मात्र प्रोफेसनल कपीमा उतारियो ।

७. दुई देशको नागरिकता

मेस्सीसँग दुई देशको नागरिकता छ । अर्जेन्टिनाका नागरिक मेस्सीलाई स्पेनले पनि नागरिकता दिएको छ । २००५ मा स्पेनको नागरिकता पाएका मेस्सीसँग दुवै देशको पासपोर्ट पनि छ ।

८. स्पेनका लागि खेल्ने अफर अस्वीकार

बार्सिलोनामा रहेर आफ्नो प्रतिभा तिखारेका मेस्सीले स्पेनले आफ्नो देशका तर्फबाट खेल्न अफर गरेको थियो । तर उनले जन्मभूमि अर्जेन्टिनालाई नछाड्ने निर्णय गरे । सोही कारण मेस्सी अझै अर्जेन्टिनाका लागि खेलिरहेका छन् ।

९. दुई सन्तान भएपछि बाल्यकालकी प्रेमिकासँग विवाह

मेस्सीको विवाह एन्टोनेला रोकुजोसँग भएको छ । अर्जेन्टिनाकी पूर्वमोडल रोकुजो मेस्सीकी बाल्यकालकी प्रेमिका हुन् । उनीहरूले २ छोरा थियागो र माटियोको जन्म भइसकेपछि विवाह गरेका हुन् । विवाहपछि जन्मिएका कान्छा छोरा सिरो मेस्सी ३ महिनाका भए ।

१०. संन्यास अनि फिर्ता

पाँचपटक बालोन डो’र, ५ पटक युरोपीयन गोल्डेन बुटसहित क्लब फूटबलमा अधिकांश रेकर्ड तोडिसकेका मेस्सीका लागि देशका तर्फबाट ठूलो उपाधि नजित्नु सधैं खड्किने गरेको छ । मेस्सीले त्यसका लागि अधिकतम पहल पनि गरे । उनको टीम २०१४ को विश्वकप तथा  २०१५ र २०१६ को कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पराजित भयो । त्यसपछि मेस्सी यति दुःखी भए कि उनले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यासको घोषणा गरे । उनको संन्यासबाट विश्वभरका फूटबलप्रेमी दुःखी भए । अर्जेन्टिनाका राष्ट्रपतिसमेतको आग्रह र करोडौं समर्थकको चाहनामा मेस्सी अन्तर्राष्ट्रिय फूटबलमा फर्किएका हुन् ।

११. नेपालमा समेत सहयोग

मेस्सी युनिसेफका गुडविल एम्बेस्डर हुन् । साथै उनको च्यारिटी फाउन्डेसन ‘लियो मेस्सी फाउन्डेसन’ पनि छ । मेस्सीको फाउन्डेसनले विश्वभरमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । मेस्सीकै सहयोगमा नेपालका १४ जिल्लामा ७४ वटा स्वास्थ्यचौकी निर्माणधीन छन् ।

१२. खानाका शौखिन

मेस्सी खानाका शौखिन छन् । सी फूड उनका लागि सबैभन्दा फेभरेट भोजन हो ।

salt training

कमेन्ट गर्नुहोस्