१२ साउन २०८३, मंगलबार

व्यापार घाटा उकालो, बढेर पुग्यो सवा ९ खर्ब

असार १४, २०७५
व्यापार घाटा उकालो, बढेर पुग्यो सवा ९ खर्ब

काठमाडौं, १४ असार – चालू आर्थिक वर्षको बैशाखसम्म व्यापार घाटा बढेर ९ खर्ब नाघेको छ ।

चालू आर्थिक वर्ष २०७४/०७५ को साउनदेखि बैशाख मसान्तसम्म व्यापार घाटा बढेर ९ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा ब्यापार घाटा २२ दशमलव ८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षमा समग्र निर्यात व्यापारमा सामान्य सुधार भएपनि आयातमा भएको अत्यधिक वृद्धिका कारण व्यापार घाटा बढेको व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७४/०७५ को बैशाखसम्म वैदेशिक व्यापार २० दशमलव ८ प्रतिशतले बढेको छ । कूल व्यापार गत आर्थिक वर्ष २०७३/०७४ को सोही अवधिको तुलनामा २० दशमलव ८ प्रतिशतले बृद्धि हुँदै १० खर्ब ४९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । व्यापारमा निकासीको योगदान ६ दशमलव ३ प्रतिशत तथा पैठारीको योगदान ९३ दशमलव ७ प्रतिशत रहेको केन्द्रले जनाएको छ । 

समीक्षा अवधिमा नेपालको कुल निर्यातमा ८ दशमलव ५ प्रतिशतले वृद्धि भई ६६ अर्ब ५२ करोड रुपैयाँ र आयातमा २१ दशमलव ७ प्रतिशतले वृद्धि भई ९ खर्ब ८३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको बैशाखसम्म निकासी—पैठारी व्यापार १ अनुपात १३ दशमलव २ भएकोमा चालू आवको सोही अवधिमा निकासी-पैठारी व्यापार १ अनुपात १४ दशमलव ८ पुगेको केन्द्रले जनाएको छ ।

समिक्षा अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, फेल्टका सामान, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पश्मिना सल, जडिबुटी लगायत रहेका छन् । 

गत वर्षको समिक्षा अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ७ दशमलव २ प्रतिशतले ह्रास आई ५ अर्ब ७२ करोड रुपैयाँमा झरेको र तयारी पोशाकको निर्यातमा ९ दशमलव ६ प्रतिशतले वृद्धि भई ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । फलाम तथा स्टील र तिनका उत्पादनको निर्यातमा १ दशमलव १ प्रतिशतले ह्रास आई ४ अर्ब ५६ करोडमा झरेको, पोलिस्टर तथा अन्य धागोमा २२ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । मुसुरोको दालमा ६ दशमलव ९ प्रतिशतले वृद्धि भई ७७ करोड ५१ लाख रुपैयाँ पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

समिक्षा अवधिमा ७२ करोड बराबरको छाला, ४ अर्ब २९ करोडको अलैंची, २ अर्ब ६० करोडको चिया, ५९ करोड १४ लाखकोे अदुवा, ६४ करोड २६ लाखको चाउचाउ, ८९ करोड ३० लाखको जडिबुटी, ७१ करोड ४७ लाखको टुथपेस्ट, २ अर्ब ६३ करोडको टेक्सटाइल, १ अर्ब ८१ करोडको पश्मिना सल, ५३ करोड ९५ लाखको हस्तकलाका सामान र ४४ करोड ९७ लाख रुपैयाँको नेपाली हाते कागज निर्यात भएको छ । नेपालको निर्यात व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, चीन, जर्मनी, युके, इटाली, फ्रान्स, युएई, बंगलादेश, जापान, क्यानडा, अस्ट्रेलिया र भियतनाम प्रमुख छन् ।

आयाततर्फ चालू आर्थिक वर्षको बैशाखसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ३४ दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ३३ अर्ब ९७ करोड रुपैयाँ, फलाम तथा स्टील र तिनका उत्पादनको आयातमा ३१ दशमलव १ प्रतिशतले वृद्धि भई १ खर्ब १० अर्ब ३८ अर्ब रुपैयाँ, यातायातका साधन र तिनका पार्टपूर्जामा ० दशमलव ६ प्रतिशतले वृद्धि भई ६८ अर्ब ९० करोड रुपैयाँ, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा ९ प्रतिशतले वृद्धि भई ३५ अर्ब ४८ करोड रुपैयाँ, औषधिमा १३ दशमलव २ प्रतिशतले बृद्धि भई २२ अर्ब २५ करोड रुपैयाँ, मेसिनरी तथा पार्टस्मा ५४ प्रतिशतले वृद्धि भई १ खर्ब ५ अर्ब १८ करोड रुपैयाँ, पोलिथिन ग्रेन्युल्समा १९ दशमलव ५ प्रतिशतले वृद्धि भई १५ अर्ब ७३ करोड रुपैयाँ, कच्चा पाम आयलमा १ दशमलव ४ प्रतिशतले ह्रास आई ३ अर्ब ८८ करोड रुपैयाँ, दूरसञ्चारका सामाग्रीमा ७ दशमलव ७ प्रतिशतले बृद्धि भई २७ अर्ब ६० करोड रुपैयाँ भएको छ ।

समिक्षा अवधिमा २५ अर्ब ३३ करोड रुपैयाँ बराबरको सुन, १० अर्ब १८ करोड रुपैयाँको चाँदी, १२ अर्ब ६७ करोड रुपैयाँ बराबरको कच्चा भटमासको तेल आयात भएको छ । सो अवधिमा सिमेन्ट क्लीङ्कर २३ अर्ब ७ करोड रुपैयाँ र अन्न ३६ अर्ब ३६ करोड रुपैयाँ आयात भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । नेपालको आयात व्यापारमा भारत, चीन, भियतनाम, इण्डोनेसिया, थाइलेण्ड, अर्जेन्टिना, दक्षिण कोरिया, मलेसिया, संयुक्त राज्य अमेरिका, साउदी अरब, युएइ, जर्मनी, फ्रान्स र जापान प्रमुख रुपमा छन् । 

नेपालका प्रमुख व्यापारिक साझेदार देशमध्ये निर्याततर्फ प्रमुख गन्तव्यमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादन, जुत्ता, रोजिन र रेजिन एसिड, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको छ । अमेरिकातर्फ ऊनी गलैंचा, तयारी पोशाक, काँचका सामान, पश्मिना सल, फेल्टका सामान, छुर्पी, हस्तकलाका सामान प्रमुख रुपमा निर्यात भएका छन् । जर्मनीतर्फ पनि कार्पेट, तयारी पोशाक, पश्मिना, फेल्टका सामान, चिया, टोपी, सुतीका झोला, हस्तकलाका सामान, कागजका उत्पादन र ट्रान्सफर्मर निर्यात भएको छ ।

बेलायततर्फ ऊनी गलैंचा, पश्मिना, तयारी पोशाक, फेल्टका सामान, कागजका सामान, टोपी, हस्तकलाका सामान, सुती झोला र तयारी चाउचाउ उल्लेख्य मात्रामा निर्यात भएका छन् । टर्कीतर्फ धागो उल्लेख्य रुपमा निर्यात भएको तथ्याङ्कमा छ । पछिल्ला वर्षमा धागो, छुर्पी, मासु तथा फेल्टका सामान उल्लेख्य रुपमा निकासी भइरहेको छ । सोमध्ये फेल्टका सामान युरोपेली देश तथा अमेरिकातर्पm निकासी भइरहेको छ भने धागो टर्कीतर्फ, छुर्पी अमेरिका र मासु भियतनामतर्फ उल्लेख्य रुपमा निकासी भइरहेको तथ्याङ्कमा छ ।

आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पार्टपूर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको छ । आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनबाट हुने आयातमा दूरसञ्चारका सामाग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपूर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्