
काठमाडौं, २० असार –असार महिनाको झण्डै ३ हप्तामा २० अर्ब रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ ।
चालू आर्थिक वर्ष २०७४/०७५ का लागि विनियोजित पूँजीगत बजेटमध्ये असार १९ गतेसम्म ५ दशमलव ९५ प्रतिशत बजेट खर्च भएको हो । चालू आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको कूल पूँजीगत बजेट ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार रुपैयाँ थियो । यसमध्ये चालू आर्थिक वर्षको हालसम्म ५४ दशमलव २६ प्रतिशत बजेट निकासा भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
महालेखा नियन्त्रकको कार्यालयको असार १९ गतेको तथ्याङ्क अनुसार ५४ दशमलव २६ प्रतिशत पूँजीगत बजेट निकासा भएको छ । जेठ मसान्तको तथ्याङ्क अनुसार कूल पँजीगत खर्चको ४८ दशमलव ३२ प्रतिशत खर्च भएको थियो ।
असारको १९ दिनमा मात्रै कूल पूँजीगत बजेटकोे ५ दशमलव ९५ प्रतिशत रकम निकासा भएको देखिन्छ । असारको १९ दिनमा मात्रै कूल पूँजीगत बजेटको १९ अर्ब ९४ करोड २९ लाख ७० हजार रुपैयाँ खर्च भएको देखिन्छ । काम सम्पन्न भइसकेको अवस्थामा पनि कतिपयले भुक्तानी पाउन नसकेको हुँदा खर्च बढी नै भएपनि तथ्याङ्कमा कम देखिएको अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्य बताउँछन् ।
उनी भन्छन्, ‘काम सम्पन्न भएका धेरैका हुन्छन्, भुक्तानीका लागि आएका निवेदन स्वीकृत भइरहेका छन् । यो भुक्तानी भइसकेको तथ्याङ्क मात्रै भएकाले मसान्तसम्म खर्च ६० प्रतिशतभन्दा बढ्ने छ ।’
असारमै हुन्छ झण्डै ११ महिनाको विकास खर्च
वर्षौदेखि असार मसान्त नजिकिएसँगै जबर्जस्तरुपमा हुने विकासलाई गाउँदेखि शहरले नजिकैबाट हेर्न पाउँछ । हरेक वर्ष समयमै पूँजीगत खर्चको गति बढाउने विकासको गुणस्तर बढाउने रटान पनि सरकारले लगाइ नै रहन्छ । तर, अवस्था ज्यूँकात्यूँ नै छ ।
पछिल्ला आर्थिक वर्षको पूँजीगत खर्चको अवस्था हेर्दा औसतमा एकतिहाइभन्दा बढी विकास खर्च असार महिनामा मात्रै भइरहेको देखिन्छ । वर्षभरिका बाँकी ११ महिनाको खर्चलाई असारले मात्रै झण्डै–झण्डै छुन लागेको तथ्याङ्क छ ।
क्रम संख्या आर्थिक वर्ष वास्तविक खर्च लाखमा जेठ मसान्तसम्म भएको खर्च असारमा भएको खर्च
१ २०६८/०६९ ५१,३९,०७ ६७ प्रतिशत ३३ प्रतिशत
२ २०६९/०७० ५४,५९,८४ ६३ प्रतिशत ३७ प्रतिशत
३ २०७०/०७१ ६६,६९,४७ ६३ प्रतिशत ३७ प्रतिशत
४ २०७१/०७२ ८८,८४,३५ ६६ प्रतिशत ३२ प्रतिशत
५ २०७२/०७३ १,२३२,५१४ २३ प्रतिशत ७७ प्रतिशत
६ २०७३/०७४ २,०८७,४८३ ४९ प्रतिशत ५१ प्रतिशत
७ २०७४/०७५ ३,३५,१७,०० (विनियोजित) ५४ प्रतिशत (जेठ मसान्तसम्म)
आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै विनियोजित वार्षिक बजेटको ३५ प्रतिशतदेखि ५० प्रतिशतसम्म खर्च हुने गरेको तथ्याङ्कले देखाउँछ । महालेखा परीक्षकको कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ विनियोजित पूँजीगत खर्च ३ खर्ब ११ अर्ब ९४ करोडमध्ये वास्तविक खर्च २ खर्ब ८७ अर्ब ४ करोड ८३ लाख मात्रै खर्च भएको देखिन्छ । यसमध्ये जेठ मसान्तसम्म १ खर्ब २० अर्ब अर्थात् वास्तविक खर्चको ४९ प्रतिशत मात्रै खर्च भएको तथ्याङ्कले देखाउँछ ।
यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा सरकारले पूँजीगत खर्चवाफत २ खर्ब ८ अर्ब ८७ करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित पूँजीगत खर्चमध्ये १ खर्ब २३ अर्ब २५ करोड १४ लाख रुपैयाँ मात्रै वास्तविक खर्च भएको थियो । यसमध्ये असार महिनामा मात्रै ९५ अर्ब ९४ करोड १३ लाख अर्थात् विनियोजित बजेटको ७७ प्रतिशत रकम खर्च भएको महालेखाका प्रतिवेदनले देखाउँछ ।
आर्थिक वर्ष २०७१/७२ मा विनियोजित पूँजीगत खर्चमध्ये १ खर्ब १६ अर्ब ७५ करोड वास्तविक खर्च भएकोमा यसको ३२ प्रतिशत अर्थात् २८ अर्ब ७४ करोड २३ लाख रुपैयाँ असार महिनामा मात्र खर्च भएको तथ्याङ्क छ ।
यसअघिका आर्थिक वर्षको अवस्था पनि उस्तै छ । आर्थिक वर्ष २०७०/०७१ र आर्थिक वर्ष २०६९/०७० गरी २ वटै आर्थिक वर्षमा विनियोजित पूँजीगत रकमको ३७ प्रतिशत हिस्सा असार महिनामै खर्च भएको थियो भने आर्थिक वर्ष २०६८/०६९ मा पनि ३३ प्रतिशत रकम असार महिनामा खर्च भएको थियो ।
आर्थिक वर्षको अन्तिम महिनामा सबै मन्त्रालय तथा विभागको निन्द्रा खुलेझैं छिटो–छिटो विकास गर्ने प्रवृत्तिले बजेट खर्च बढेपनि यस्तो प्रवृत्तिले वित्तीय अराजकता तथा आर्थिक अनुशासनहीनता बढेको विश्लेषकहरू बताउँछन् । असार महिनामा काम गरेजस्तो गरी कागजी प्रक्रिया मिलाउने हुँदा वित्तीय व्यवस्थापन दृष्टिले अनियमित महिना भएको विश्लेषकको ठहर छ ।