२९ असार २०८३, सोमबार

फ्रान्स र उरुग्वे : फर्ममा रहेका दुई टोलीको भिडन्त

फ्रान्स र उरुग्वे : फर्ममा रहेका दुई टोलीको भिडन्त

काठमाडौं, २२ असार – फ्रान्स र उरुग्वेले शुक्रवार फूटबल विश्वकपको पहिलो क्वार्टरफाइनलमा भिडन्त गर्दैछन् । निझ्नी नोभ्गोरोदमा नेपाली समयअनुसार साँझ पौने ८ बजे यो खेल हुन गइरहेको छ । 

ले ब्लेउज भनी चिनिने फ्रान्सले अन्तिम १६ को खेलमा लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनालाई ४–३ गोलको अन्तरले हराएको थियो । 

उता उरुग्वे भने क्रिस्टिायानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २–१ ले हराउँदै अन्तिम ८ मा पुगेको हो । 

उरुग्वेका लागि पोर्चुगलविरुद्ध गोल गरेका एडिनसन कवानी खेल्ने निश्चित छैन । उक्त खेलमा उनको ह्यामस्ट्रिङमा समस्या आएको थियो । उनलाई स्टार्टिङ लाइनअपमा नखेलाएर क्रिस्थियन स्टुआनीलाई ल्याइने सम्भावना छ । 

उरुग्वेका अर्का स्टार खेलाडी लुइस सुआरेज भने उपलब्ध हुने देखिन्छ । 

अनि डीएगो गोडिन र जोसे जिमेनेजका रूपमा उरुग्वेसँग बलियो डिफेन्स छ । उनीहरू कति बलिया छन् भन्ने त यस विश्वकपको प्रदर्शनबाटै थाहा हुन्छ । अहिलेसम्म खेलेका खेलमा उरुग्वेले जम्मा एक गोल खाएको छ ।

उरुग्वेका डिफेन्डरहरू काउन्टरअट्याकलाई निरस्त पार्दै बललाई सुआरेज जस्ता फर्वार्डका गोडामा पु–याउन सक्षम छन् । 

उता डिडिएर डीशँप्सको प्रशिक्षणमा रहेको फ्रान्सले किलियन एम्बाप्पे, आत्वाँ ग्रीजम्यान र ओलिभियर जीरू तीनैलाई फर्वार्ड पोजिसनमा खेलाउने सम्भावना छ । उरुग्वेका सेन्टरब्याकहरूलाई हायलकायल बनाउने रणनीतिअन्तर्गत फ्रान्सले ४–३–३ को फर्मेसनमा खेलाउनसक्छ । 

अर्जेन्टिनाविरुद्धको खेलमा एम्बाप्पेले तीव्र गतिको प्रदर्शन गरेर दुई निर्णायक गोल गरेका थिए । उरुग्वेले उनलाई स्पेस नदिनका लागि मिडफील्डमा तोरेरोलाई खटाउन सक्छ । 

अनि ब्लाइसे माटुइडी यो खेलमा सस्पेन्ड भएकाले कोरेन्टिन तोलिसो मिडफील्डमा आउने सम्भावना छ । 

जुझारु उरुग्वेलाई हराउनका लागि फ्रान्सले अर्जेन्टिनाविरुद्ध खेलेको जस्तै तीव्र गतिको खेल देखाउनुपर्ने हुन्छ । समूह चरणको जस्तो अल्छे खेल फ्रान्सले प्रदर्शन गरेमा उरुग्वेले गोलवर्षा गरिदिन सक्छ । 

अनि फ्रान्सका ब्याक पोजिसनका चार खेलाडीले समूह चरणका खेलमा खासै दबाब महसूस गर्नुपरेको थिएन । अर्जेन्टिनाविरुद्धको खेलमा पनि उनीहरू आरामदायी स्थितिमै थिए तैपनि तीन गोल चाहिँ खाए । स्यामुएल उम्टिटी

र रफाएल भरानेको कहिलेकाहीँ ध्यान हट्न जाने देखिएको छ त्यसैले पल पोग्बा र न्गोलो कान्टेले बढी नै सतर्क हुनुपर्छ ।

फ्रान्स र उरुग्वे दुवै टोली विश्वविजेता रहिसकेका छन् । फूटबलमा बाजी लगाउने बूकीहरूले फ्रान्सलाई यस खेलमा फेवरेट मानेका छन् । तर त्यसो भन्दैमा उरुग्वेलाई कम आँक्ने भूल फ्रान्सले गर्ने छैन ।

उरुग्वेको सम्भावित लाइनअप: मुस्लेरा, लाक्साल्ट, गोडिन, जिमेनेन, कासेरेस, बेन्टान्कुर, तोरेरा, भेसिनो, नान्देज, स्टुआनी र सुआरेज
फ्रान्सको सम्भावित लाइनअप: लोरिस, पवार्ड, भराने, उम्टिटी, हर्नान्डेज, कान्टे, टोलिसो, पोग्बा, ग्रीजम्यान, एम्बाप्पे र जीरू  

salt training

कमेन्ट गर्नुहोस्