
अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढेपछि मकवानपुरका दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडक तथा हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकमा तोकिएको समयपछि सवारी सञ्चालन नगर्न आग्रह गरेको हो।
प्रशासनका अनुसार हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकमा चौघडाबाट सोमबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन रोकिएको छ।
त्यसैगरी, हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकमा चौकीटोल, हेटौँडाबाट सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सवारी सञ्चालन रोक्ने निर्णय गरिएको छ।
प्रशासनले आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेकाले सडक यातायात प्रभावित भई उच्च जोखिमको अवस्था सिर्जना भएको जनाएको छ।
सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई प्रशासनले तोकिएको समयसम्म सवारी सञ्चालन नगर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।