काठमाडौं, २४ असार – आफ्ना प्रतिभाशाली खेलाडीहरूका कारण गोल्डेन जेनरेसनयुक्त टीम भनी चिनिने बेल्जियम फूटबल विश्वकपमा ब्राजिललाई हराएर सेमिफाइनल पुगेको छ । यससँगै उसले विश्व फूटबलमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।
थिबाउच कुर्टोआ, केभिन डीब्रुइन, इडन हजार्ड र रोमेलु लुकाकुको प्रतिभाशाली समूहले बेल्जियमलाई विश्वकप जिताउने क्षमता राख्छन् । बेल्जियमको ट्रम्पकार्ड उसको ६ फीट ६ इन्च अग्ला गोलकीपर कुर्टोआ साबित भएका छन् ।
प्रशिक्षक रोबर्टो मार्टिनेजले डीब्रुइनबाट सर्वश्रेष्ठ प्रदर्शन गराउन नसकेको भनी आलोचना भएकोमा उनलाई फर्वार्ड पोजिसनमा खेलाएर स्पेनी कोचले ब्राजिलविरुद्ध सफल रणनीति बनाएका थिए ।
बेल्जियमको टोली विश्वकपमा भाग लिन रुस पुग्दा उसका स्टार खेलाडीहरूका विषयमा बजारमा अत्यधिक चर्चा थिएन । तर बेल्जियमले एकपछि अर्को शानदार प्रदर्शन गर्दै गएपछि उसको मार्केट भ्याल्यु ह्वात्तै बढेको छ ।
ब्राजिललाई हराएपछि रेड डेभिल्स भनी चिनिने बेल्जियमको मार्केट भ्याल्यु लगभग ५४७ मिलियन युरो पुगेको छ । अनि स्ट्राइकर डीब्रुइनको मार्केट भ्याल्यु लगभग १५० मिलियन युरो पुगेको छ र टीममा उनको नै भ्याल्यु सबभन्दा धेरै छ ।
एजेन्सी