
काठमाडौं – रुसमा चलिरहेको फूटबल विश्वकपमा युरोपका चार देशहरू फ्रान्स, इंग्ल्यान्ड, बेल्जियम र क्रोएसिया सेमिफाइनलमा पुगेका छन् । यसको अर्थ अबको विश्वविजेता कुनै युरोपेली टोली नै हुनेछ ।
यससमेत गरी लगातार चार विश्वकपमा युरोपले नै विजय पाएको छ । सन् २००२ को विश्वकप दक्षिण अमेरिकी मुलुक ब्राजिलले जितेपछि युरोप मात्रै हाबी हुँदै आएको छ ।
अझ सन् २०१४ मा अर्जेन्टिना फाइनलमा पुगेबाहेक दक्षिण अमेरिकी टोली त तीन विश्वकपमा फाइनलसम्म पनि पुग्न सकेका छैनन् ।
यहाँ युरोप र दक्षिण अमेरिकाको मात्र चर्चा भएको देख्दा पनि विश्वकप कति असन्तुलित छ भन्ने देखाउँछ । यसअघिका २० विश्वकपमा युरोप र दक्षिण अमेरिकाका मुलुकबाहेक अरू विश्वविजेता बन्न सकेका छैनन् ।
एसिया, अफ्रिका, उत्तर अमेरिका तथा मध्य अमेरिकाका मुलुकहरू फाट्टफुट्ट सेमिफाइनलसम्म पुगे पनि धेरैजसो चाहिँ तलतिरैबाट घर फर्किने गरेका छन् । अझ यसपालि त अफ्रिकाको एउटै टोलीले पनि समूह चरण काट्न सकेन भने एसियाली मुलुक जापान प्रिक्वार्टरफाइनलसम्म त पुग्यो तर त्यहाँ पराजित भएर घर फर्कियो ।
यसरी विगत डेढ दशकदेखि फूटबल विश्वकप युरोपमा, अझ विशेषगरी पश्चिमी युरोपमा, केन्द्रित भएको देखिन्छ । त्यसो त दोस्रो विश्वयुद्धपछि भएका १६ वटा विश्वकपमा ६ वटामा युरोपेली मुलुक मात्र फाइनलमा पुगेका हुन् । तैपनि विश्वकप जीतमा युरोप र दक्षिण अमेरिकाका मुलुकको प्रदर्शन बराबरी जस्तो हुने गरेकोमा अहिले चाहिँ युरोपको एकछत्र राज छ ।
वास्तवमा भन्ने हो भने अहिले युरोप नै फूटबलको केन्द्र बन्न पुगेको छ । पैसा, सिर्जनात्मकता, प्रतिभालाई खार्ने अवसर सबै युरोपले नै उपलब्ध गराउँदै आएको छ । युरोपेली मुलुकका फूटबल क्लबहरू संसारमै अब्बल छन् र त्यहाँका फूटबल लीगमा हुने कडा प्रतिस्पर्धाले फूटबलरहरूलाई प्रतिभा तिखार्ने मौका दिएका छन् । यसमा दक्षिण अमेरिका पछि परेको देखिन्छ ।
युरोपमा फूटबल क्रान्ति सन् १९९२ मा बेलायतमा प्रिमियर लीग शुरू भएपछि आएको हो । फूटबल अधिकारीहरू, खेलाडी र टीभी च्यानलहरूले अनेकौं चरणको छलफल गरेपछि फूटबल लीगका पहिलो डिभिजनका क्लबहरूले राजीनामा दिए अनि त्यस वर्षको १५ अगस्टदेखि प्रिमियर लीग विधिवत रूपमा शुरू भयो ।
प्रिमियर लीगमा पैसाको व्यापक लगानी भयो र खेलाडीहरूलाई भविष्यको सुरक्षाका साथै प्रतिभा प्रस्फुटनको पनि अवसर प्राप्त भयो ।
फूटबलको जननी बेलायतले यसरी यो खेललाई आधुनिकीकरण र व्यावासयिकीकरण गरायो ।
त्यससँगै युरोपीयन कपलाई पनि च्याम्पियन्स लीगका रूपमा नवीकरण गरियो अनि युरोपेली मुलुकका अब्बल क्लबहरूबीच प्रतिस्पर्धा गराइयो । अनि त युरोपभरि फूटबलमा भारी मात्रामा लगानी हुन थाल्यो ।
टीभी, प्रायोजक र लगानीकर्ताहरूले ठूलो मात्रामा फूटबलमा रकम लगानी गर्न थाले । सबै देशका क्लबहरू पूर्णतः व्यावसायिक हुन थाले । सन् १९९५ मा आएको बोसम्यान आदेशले खेलाडीहरूलाई सशक्त बनायो । उनीहरू आफूलाई खेल्न मन लागेको क्लबमा आबद्ध हुन स्वतन्त्र भए ।
यसरी फूटबलको व्यावसायिकीकरणले खेलमा ग्ल्यामर ल्यायो र विश्वभरिका प्रतिभाशाली खेलाडीहरू राम्रो रकमको आकर्षणमा युरोप ओइरिन थाले । अनि प्रशिक्षक तथा व्यवस्थापकहरू पनि राम्रा रणनीति बनाएर आफ्नो क्लबलाई जिताउन प्रोत्साहित भए । युरोपले यसरी अन्य क्षेत्रका फूटबल रणनीतिलाई पनि नजिकैबाट बुझ्न पायो ।
दक्षिण अमेरिकाले प्रतिभाशाली खेलाडी जन्माउँछ तर ती सबै ठूलो पैसाको आकर्षणमा युरोप आइदिन्छन् । लियोनेल मेस्सी अहिलेका सबभन्दा राम्रा खेलाडी हुन् तर आफ्नो देश अर्जेन्टिनाका लागि उनको प्रदर्शन ठीकठीकै हुने गरेको छ भने स्पेनी क्लब बार्सिलोनाका लागि उनी अब्बल प्रदर्शन गर्छन् ।
अन्य दक्षिण अमेरिकी सुपरस्टारहरू नेयमार, लुइस सुआरेज, एडिनसन कवानी लगायतमा पनि यही कुरा लागू हुन्छ । अनि युरोपेली लीगमा खेलेर एकखाले रणनीतिमा भिजेका यी खेलाडीले आफ्नो देशका लागि खेल्दा अर्कै रणनीति अपनाउनुपर्ने हुँदा पनि अपेक्षानुरूप प्रदर्शन गर्न नसकेका हुनुपर्छ । दक्षिण अमेरिकीहरूले आफ्नो परम्परागत कलात्मक खेलशैलीलाई त्यागेर युरोपेली प्राविधिक शैली अपनाएकाले पनि उनीहरू असफल भएका हुनुपर्छ । उदाहरणका लागि, ब्राजिलले सन् २००२ को विश्वकप जित्दा देखाएको नृत्यात्मक लयसहितको फूटबल त्यसपछि कहिल्यै देख्न पाइएको छैन ।
त्यसो त फूटबलमा पैसा मात्र सबै कुरा हैन, खेलप्रतिको रुचि पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो । युरोप र दक्षिण अमेरिकामा जस्तो फूटबल क्रेज अफ्रिकामा देखिएपनि त्यहाँका फूटबल संघहरूले खेलमा पर्याप्त लगानी गरेका देखिँदैनन् अनि तिनीहरू भ्रष्टाचारबाट पनि आक्रान्त छन् ।
कुन खेलका बारेमा सबभन्दा बढी सर्च हुन्छन् भनी केही समयअघि गूगलले सार्वजनिक गरेको एक तथ्यांकअनुसार ९० प्रतिशत अफ्रिकी, २० प्रतिशत उत्तर अमेरिकी र जम्मा १० प्रतिशत दक्षिण एसियालीहरूले फूटबलको सर्च गरेको देखियो । संसारको दोस्रो ठूलो जनसंख्या भएको भारत किन विश्वकप फूटबलमा कहिल्यै छानिँदैन भन्ने प्रश्नको उत्तर पनि शायद यही अरुचिले दिन्छ ।
त्यसो त फिफाले युरोपप्रति राखेको पूर्वाग्रहले पनि युरोपलाई लगातार विश्वविजेता बनाएको हो भन्न सकिन्छ । ऐतिहासिक र राजनीतिक कारणले गर्दा पनि विश्वकपमा युरोपले छनोटको धेरै मौका पाउँछ ।
विश्वकप फूटबल शुरू हुँदा अफ्रिका र एसिया युरोपको साम्राज्यवादी शासनमा भएकाले उनीहरूलाई कुनै महत्त्व नै दिइँदैनथ्यो । त्यही विभेदकारी रणनीतिलाई फिफाले कायम राख्दै युरोपका अधिकतम मुलुकलाई विश्वकपमा छनोट हुने अवसर दिन्छ भने अन्य महादेशलाई त्यत्ति नै मौका दिँदैन ।
त्यसैले पनि होला सन् २०२६ को विश्वकपदेखि फिफाले ३२ वटा मुलुकबाट संख्या बढाएर ४८ पुर्याउन लागेको छ । यसो भयो भने एसियाले अझ धेरै मुलुकको प्रतिनिधित्व गराउन पाउँछ र शायद संसारमा सबभन्दा धेरै जनसंख्या भएका मुलुक चीन र भारतले पनि मौका पाउन सक्छन् । त्यसो भएमा विश्वकपले सही अर्थमा विश्वको प्रतिनिधित्व गरेको ठहर्छ । नभए त अहिलेको स्थितिमा हेर्दा विश्वको ३० प्रतिशत जनसंख्याको प्रतिनिधित्व मात्र भएको छ विश्वकपमा ।
यो सबै टिप्पणीको आशय हो – फूटबलको ग्ल्यामर अब युरोपबाट अन्य महादेशहरूमा पनि फैलिनु जरूरी छ । त्यसो त चीनले सन् २०५० को विश्वकपमा आफ्नो उत्कृष्ट टोली पठाउने लक्ष्य लिएर अहिलेदेखि नै व्यापक तयारी गरिरहेको छ । अन्य मुलुक तथा महादेशले पनि यसतर्फ अघि बढ्नु जरूरी छ ।