
काठमाडौं –सरकारले पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गलाई २४ घण्टै खुला राख्ने तयारी गरिरहँदा स्थानीय र व्यवसायीबीच मतभेद देखिएको छ ।
आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला राख्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौं आवश्यक तयारीमा जुटेको छ । तर सुरक्षा, पूर्वाधार, संस्कृतिकलगायत विविध दृष्टिकोणले व्यवस्थित नगरिकन २४ घण्टा खल्ला गर्नु उपयुक्त नहुने पर्यटन व्यवसायी र स्थानीयको तर्क छ ।
पर्यटन व्यवसायी दीपक महतले ठमेल क्षेत्र पूर्ण रूपमा व्यवसायिक मात्रै नभएकाले त्यहाँ बस्नेहरूको दैनिकी अहसज हुने कुरालाई ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘पर्यटकीय बजार २४ घण्टा खोल्नु सकारात्मक कुरा हो । तर ठमेल, दरबारमार्ग लगायतका क्षेत्र पूर्ण व्यवसायिक मात्रै पनि छैनन् । त्यहाँ बस्नेहरूलाई डिस्टर्ब हुनुभएन ।’
महतले राति बजार खोले हल्ला हुने भएकाले आवासीय होटल त्यहाँका स्थानीयलाई ध्यानमा राखी रातिको समयमा साउण्ड पु्रफ हुनुपर्नेमा जोड दिए ।
यस्तै होटल व्यवसायी देवेन्द्र वाग्ले भन्छन्, ‘पर्यकीय दृष्टिकोणले बजारहरू २४ घण्टा खुल्नु ठीक हो । तर यहाँको परिवेश, संस्कृति अध्ययन हुनुपर्छ । हतार गर्नुहुँदैन ।’ वाग्लेले राति बजार खुल्दा पर्ने असरबारे बहसपछि मात्रै बजार खुल्नुपर्ने बताए ।
यसैगरी अर्का व्यवसायी केशव पाण्डे भन्छन्, ‘नीतिगत स्पष्टता तथा कानूनी रूपमा सुरक्षित र व्यवस्थित गर्न सके यसलाई सकारात्मक रूपमा लिने हो । तर अहिलेको अवस्थामा नेपाली संस्कृति तथा त्यहाँका स्थानीयको दैनिकीमा पर्ने असरबारे अध्ययन नगरी हतार गर्नुहुँदैन ।’
पाण्डेले ठमेल पूर्ण सुरक्षित हुन नसकिरहेको अवस्थामा नीतिगत स्पष्टता तथा सुरक्षाको दृष्टिकोणले पूर्ण ग्यारेन्टी भए मात्रै राति खोल्नुपर्ने तर्क गरे ।
अर्का व्यवसायी चन्द्र रिजालले भने, ‘नियम कानूनलाई सही पालना, एकले अर्कोको सुरक्षा र इज्जतको सम्मान गर्ने वातावरण बनेमा २४ घण्टा खोल्ने कुरा निकै राम्रो हो । यसले आर्थिक कारोबार बढ्छ । सपिङ मल, रेस्टुरेन्ट, डान्स क्लबहरूमा व्यापार राम्रो हुन्छ । राज्यले पाउने राजस्वमा वृद्धि हुन्छ । पर्यटकहरूलाई सुरक्षाको प्रत्याभूत हुन्छ । उनीहरूको समय व्यवस्थापनमा निकै राम्रो भूमिका खेल्छ ।’
रिजालले सरकारले स्थानीयका लागि सुरक्षा बढी ध्यान दिएर मात्रै बजार २४ घण्टा खोल्नुपर्नेमा जोड दिए ।
व्यवसायी राजेन्द्र सापकोटाले पनि पर्यटकीय दृष्किोणले निकै सकारात्मक कुरा भए पनि व्यवस्थापन गरेर मात्रे खोल्नुपर्ने बताए ।
उनले भने, ‘अहिले पनि यो क्षेत्र पूर्वाधारका हिसाबले अस्तव्यस्त छ । पर्यटकीय हब यो क्षेत्रमा खाल्डाखुल्डी छन् । पूर्ण सुरक्षाको प्रत्याभूत छैन । यी कुरा ख्याल गरेर व्यवस्थित गर्न सके २४ घण्टा खोल्नु निकै सकारात्मक हो ।’
ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खोल्ने तयारीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको संयोजकत्वमा गठित समितिले विभिन्न मापदण्डसहितको प्रतिवेदन पनि बनाइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार जयनेपाल चोकदेखि केशरमहल चोक, केशरमहल चोकदेखि लैनचौर, लैनचौरदेखि मनाङ होटल चोक, मनाङ होटल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकदेखि जेपी मोड हुँदै ज्याठा चोक, ज्याठा चोकदेखि जमल चोक र जयनेपाल चोकदेखि कृष्णपाउरोटी, काठमाडौं प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्मका स्थानमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न दिइने तयारी भइरहेको छ ।
बजार चौबीसै घण्टा खुलेपछि उक्त क्षेत्रमा रहेका क्लब, डिस्कोथेक, पव, डान्सबार, दोहोरी, मसाज ,होटेल तथा गेस्टहाउस, डिपार्टमेन्टल स्टोर, रेष्टुरेन्ट, क्याफे, बार, कफी तथा केक सप, किराना पसल, ट्याक्सी लगायतलाई फाइदा हुनेछ ।
साथै उक्त क्षेत्रबाट सेवाग्राहीले पेट्रोल पम्प, मेडिकल सेवा, यातायात सेवा, बैंकिङ सेवा, विदेशी मुद्रा सटही काउन्टर, एटीएमको सेवा पनि २४ सै घण्टा पाउनेछन् । सुरक्षाका लागि सो क्षेत्रमा सीसीटीभी जडानसमेत गरिनेछ ।
बजार रातभर खोल्नका लागि व्यापारी, स्थानीयवासी र सुरक्षाकर्मीसँग विभिन्न चरणमा छलफल गरी मापदण्ड तयार गर्ने कामसमेत भइरहेको जिल्ला प्रशासनले जनाएको छ ।
उक्त क्षेत्र यसअघिदेखि नै खुलाउने भनिए पनि तयारी नपुगेको भन्दै तत्कालका लागि स्थगित भएको थियो ।