३० असार २०८३, मंगलबार

क्रोएसियाकी राष्ट्रपतिले विश्वकप फाइनलमा जितिन् धेरैको मन

क्रोएसियाकी राष्ट्रपतिले विश्वकप फाइनलमा जितिन् धेरैको मन

काठमाडौं – फूटबल विश्वकपको फाइनल खेल फ्रान्सले जितेपछि क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्य्राबर कितारोभिचले देखाएको व्यवहारले धेरैको मन जितेको छ । आफ्नो टोली हारेपछि भावुक बनेको वातावरणमा कोलिन्डाले उत्तम व्यवहार प्रदर्शन गरिन् । 

खेलपछि पुरस्कार वितरण समारोहमा कोलिन्डा आफ्ना देशका खेलाडीहरूसँग भेटिरहेकी थिइन् । मारियो मान्जुकिचले राष्ट्रपतिलाई भेट्ने अवसर आयो । राष्ट्रपतिनजिक पुग्दा उनले आफूमाथि नियन्त्रण कायम गर्न सकेनन् र आँखाबाट आँसु चुहाए । अनि राष्ट्रपति आफैंले मान्जुकिचको आँसु पुछिन् । 

खासमा मान्जुकिच आत्मघाती गोल गरेको आत्मग्लानिबाट मुक्त हुन सकेका थिएनन् । राष्ट्रपतिले मान्जुकिचको खेल भावनाको प्रशंसा गरिन् । 

राष्ट्रपति कोलिन्डाले फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंसँग पनि हाँसीखुशी कुराकानी गरेर मन जितिन् । अनि फाइनलमा आफ्नो टोली हारेपनि पीडा भुलाउँदै उनी पुरस्कार वितरण समारोहमा मुस्कुराउँदै खेलाडीहरूको हौसला बढाउने र
उनीहरूलाई अँगाल्ने काम गरिरहेकी थिइन् ।

विश्वकप फ्रान्सले जितेपनि क्रोएसियाले करोडौं मानिसको मन जित्यो । यो टोली पहिलोपटक विश्वकपको फाइनल खेलिरहेको थियो र उसले फाइनल पुग्ने क्रममा ठूला टीमहलाई हराएको थियो ।

जम्मा ४० लाख जनसंख्या भएको देशले फूटबलप्रेमीहरूलाई खुशी तुल्यायो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्