
काठमाडौं –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा डोटीबाट प्रतिनिधिसभा सदस्य रहेका प्रेम आलेलाई एक महिनाअगाडि एक आफन्तले फोन गरेर सोधे, ‘नेताजी मैले तपाईलाई १००० रुपैयाँको रिचार्जकार्ड पठाएको छु । फेरि ३००० रुपैयाँ पनि माग्नुभयो । साह्रै समस्यामा पर्नुभएको हो र ?’
आले भने छाँगाबाट खसेजस्तै भए । न त उनलाई कसैले रिचार्ज कार्ड पठाइदिएका थिए, न त कसैसँग उनले पैसा नै मागेका थिए ।
उनलाई अन्य व्यक्तिबाट पनि फोन आयो । कसैले ‘तपाईंलाई पैसा पठाइदिएको छु’ भन्थे भने कसैले ‘तपाईंको फेसबुक म्यासेन्जरमा रिचार्ज कार्डको पिन पठाइदिएको छु’ भन्थे ।
आलेको फेसबुक ह्याक गर्ने ह्याकरले ४० जनासँग फेसबुकबाटै रिचार्ज कार्डको पिन मागिसकेका रहेछन् । केही व्यक्तिले त ह्याकरले भनेको बैंक अकाउन्टमा पैसा समेत ट्रान्सफर गरेको आलेले लोकान्तरलाई बताए ।
‘दुई महिना हुन लाग्यो ह्याकरले मेरो फेसबुक अकाउन्ट ह्याक गरेर रिचार्ज कार्डको पिन र पैसा मगाउन थालेको,’ आलेले लोकान्तरसँग भने, ‘मैले यस विषयमा महानगरीय प्रहरी अपराध महाशाखामा निवेदन नै दिएको छु । तर उहाँहरूले पनि केही गर्न सक्नुभएको छैन ।’
फिल्म अभिनेतादेखि मोडेलसम्मको फेसबुक ह्याक
महानगरीय प्रहरी अपराध महाशाखामा दैनिक दर्ता हुने उजुरीमध्ये ४० प्रतिशत साइबर अपराध र सामाजिक सञ्जालको अकाउन्ट ह्याक भएको विषयसँग सम्बन्धित हुन्छन् । त्यसमध्ये पछिल्लो समय फेसबुक ह्याक भएका घटना बढ्दै गएको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंह बताउँछन् ।
‘फेसबुक अकाउन्ट ह्याक गरेर विभिन्न अश्लील तस्बिर पोस्ट गर्नेदेखि ब्ल्याकमेल गर्नेसम्मका घटनाका उजुरी बढ्दै गएका छन्,’ एसएसपी सिंह भन्छन्, ‘उजुरी गर्ने व्यक्तिले उजुरी दिएपछि हामीले अनुसन्धान अगाडि त बढाउछौं । तर ह्याकरले सताउन छाडेपछि उजुरीकर्ताहरूले पनि त्यति चासो नदिने गरेकाले हामीले ह्याकरसम्मै पुग्न गाह्रो भइरहेको छ ।’
ह्याकरहरूबाट सताइनेमा नेतादेखि अभिनेतासम्मको सूची अपराध महाशाखामा छ । केही समयअगाडि अभिनेता आयुष्मान देशराज जोशी हप्तामा २ दिनजसो अपराध महाशाखा धाइरहन्थे ।
आयुष्मानले आफ्नो फेसबुकबाट आफूहरूसँग अश्लील कुराकानी गरेको भन्दै महाशाखामा उजुरी समेत परेको थियो । तर उनी पनि ह्याकरबाट पीडित भएका रहेछन् ।
कतिपयले त उनको नक्कली आइडी बनाएर युवतीसँग अश्लील कुराकानी गर्ने गरेको पनि भेटियो ।
अपराध महाशाखा स्रोतका अनुसार केही मोडेलहरू समेत ह्याकरबाट पीडित छन् । ह्याकरले आफ्नो फेसबूक ह्याक गरेर च्याटमार्फत् युवाहरूलाई नाङ्गो तस्वीर पठाएको विषयमा समेत केही अभिनेत्री र मोडेलहरूले महाशाखामा उजुरी दिएका छन् ।
प्रहरीभन्दा ह्याकर अगाडि
महानगरीय प्रहरी अपराध महाशाखाको साइबर सेलमा पीडितहरूको उजुरीको चाङ लागिसकेको छ । तर उजुरीमाथि छानबिन भएर समाधान भएका घटनाको संख्या भने एकदमै कम छ ।
प्राविधिक रूपमा विकसित हुन नसकेको प्रहरीभन्दा ह्याकर नै अगाडि रहेका देखिन्छन् । अपराध महाशाखा प्रमुख सिंह केही कानूनी र केही प्राविधिक जटिलताका कारण ह्याकरहरूलाई नियन्त्रणमा लिन नसकिरहेको स्वीकार्छन् ।
‘फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालसँग डिल गर्नलाई हामीसँग स्पष्ट कानूनी व्यवस्था नै छैन,’ एसएसपी सिंह भन्छन्, ‘नेपालमा आधिकारिक कार्यालय तथा प्रतिनिधि समेत नरहेका उनीहरूले हामीले भनेको समयमा विवरण पनि उपलब्ध गराउँदैनन् ।’