
काठमाडौं– आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका बालक निशान खड्का मृत फेला परेका छन् ।
अपराध महाशाखाको टोलीले खोजतलास गर्ने क्रममा अपहरणकरीसँग दोहोरो मुठभेड भएको थियो । त्यस क्रममा दुई अपहरणकारीको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका–७ स्थित श्याम लवतको निर्माणधीन घरमा बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शव भेटिएपछि अपहरणकारीको पिछा गर्ने क्रममा सूर्यविनायक नगरपालिका ८ पाइलटबाबाको आश्रम जाने बाटोको जंगलमा अपहरणकारीसँग मुठभेड भएको थियो । मुठभेड हुँदा प्रहरीको जवाफी कारवाहीमा दुई जना अपहरणकारीको मृत्यु भएको हो ।
मृतक अपहरणकारीहरुको नाम खुल्न सकेको छैन । अपराध महाशाखको टोलीले घटनास्थलबाट एउटा पेस्तोल, दुई राउण्ड गोली, केही मोबाइल फेला पारेको छ ।
यसअघि अपराध महाशाखाको टोलीले सोमबार मध्याह्न अपहरणको आशंकामा एक जना महिलालाई पक्राउ गरेको थियो । अहिले उनीसँग सोधपुछ र छानविन भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो थियो घटना
आइतवार साँझ करिब ६ बजे काँडाघारीबाट बालक अपहरण परेको प्रहरीलाई सूचना प्राप्त भएको थियो ।
सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने महिलाका ११ वर्षीय छोरा निशान खड्का अपहरणमा परेका थिए ।
अपहरणकारीले बालककी आमासँग ४० लाख फिरौती रकम माग गरेका थिए ।
अपहरणको सूचना पाएपछि आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन भएको थियो ।
बालकको बुवा कामका लागि मलेसियामा रहेका छन् ।