०८ असार २०८३, सोमबार

उधारो बीयर खाएर ‘साहुनी’कै छोरा अपहरण : १२ हजार तिर्नै बाँकी, उल्टै फिरौती मागेर हत्या !

साउन २१, २०७५
उधारो बीयर खाएर ‘साहुनी’कै छोरा अपहरण : १२ हजार तिर्नै बाँकी, उल्टै फिरौती मागेर हत्या !

काठमाडौं –चमेली खड्काको मोबाइल बिग्रिएको केही दिन भयो । मोबाइल बिग्रिएपछि समस्यामा परेकी चमेलीले आफ्नो पसलमा सधैँ खाना/खाजा खान आउने गोपाल तामाङलाई सस्तो खालको मोबाइल किनेर ल्याइदिन आग्रह गरिन् र पैसा दिएर छोरा निशानलाई साथ लगाएर पठाइन् ।

त्यसको केही समयपछि गोपाल र निशान भएर मोबाइल लिएर आए । ‘बिग्रिएको मोबाइलबाट सीमकार्ड झिकेर छोरा (निशान)ले नयाँ मोबाइलमा राखेको थियो,’ महानगरीय प्रहरी वृत्त ठिमीमा जाहेरी दिन पुगेकी चमेलीले रुँदै भनिन्– ‘त्यसपछि छोरो बाहिर निस्किएको हो ।’

अपरिचित नम्बरबाट आएको फोन

दिउँसो नयाँ मोबाइल सेटमा सीम हालेपछि चमेलीको फोन सुचारु भएको थियो । छोरा बाहिर गए पनि राति अबेरसम्म नआएपछि उनी आत्तिएकी थिइन् । करीब ९ बजे अपरिचित नम्बरबाट फोन आयो । फोन गर्नेलाई चमेलीले चिनिन् । फोन गर्नेले तेरो छोरो हाम्रो कब्जामा छ, ४० लाख दे ! भनेको उनले सुनिन् । त्यसपछि फोन काटियो । काटिएलगत्तै पुनः त्यही नम्बरबाट फोन आयो ।

फोन गर्नेले प्रहरीलाई खबर गरे जे पनि हुनसक्छ भनेर धम्की दियो ।

कक्षा ६ मा पढ्ने ११ वर्षीय छोरो अपहरणमा परेको र ४० लाख मागेपछि चमेलीको होश उड्यो । केही क्षणपछि उनले घटनाबारे प्रहरीलाई जानकारी गराइन् ।

चमेलीले जानकारी गराएपछि प्रहरीले निशानको खोजीलाई तीव्रता दियो । एकसय जना प्रहरीलाई निशानको खोजीमा खटायो । तर अपहरणकारीले अपहरणको कुरा प्रहरीसँग पुगेको जानकारी पाएको र आफूहरू सुरक्षित हुनका लागि हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

अपहण गर्नुभन्दा पहिला उधारोमा बीयर !

अपहरणमा संलग्न सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङले मनोहरामा रहेको चमेलीको पसलमा उधारोमा बीयर समेत खाएका थिए । ‘पसलमा केही सयमदेखि खाजा खान आउँथे,’ चमेलीले भनिन् ।

निशान अपहरणमा पर्नुभन्दा केही समय पहिला उनीहरू (अजय र गोपाल)ले चमेलीको पसलमा उधारोमा बीयर समेत खाएका थिए । चमेलीका अनुसार उनको पसलमा गोपाल (अपहरणकारी)ले १२ हजार रुपैयाँ उधारो तिर्न बाँकी छ ।

गोपाल नियमित खाजा खान आउने गरेको र बेलाबेलामा आउने अजयलाई उसले दाइ भन्ने गरेको चमेलीले बताइन् ।

आइतबार साँझ अपहरणमा परेका ११ वर्षीय निशान खड्काको अपहरणकारीले हत्या गरी गाडेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

प्रहरीले मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारको तल एक निर्माणाधीन घरको हिलामा तीन फिट तल गाडिएको अवस्थामा शव फेला पारेको हो । अपहरणकारीले बालकका मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा मध्याह्न १२ बजे शव भेटिएको थियो ।

वरिष्ठ प्रहरी उपरीक्षक सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घटनामा खटिएका महाशाखाका पाँच टोलीले सूर्यविनायक जंगल क्षेत्रमा केन्द्रित भएर खोजी गरेको थियो । 

अपहरणकारीको खोजी गर्ने क्रममा सूर्यविनायक नगरपालिका– ८ स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजीकै जंगलमा अपहरणकारीसँग जम्काभेट भएपछि भिडन्त भएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले भने, 'सूर्यविनायक जंगलमा अपहरणकारी लुकेर बसेको अवस्थामा जम्काभेट भयो, पक्राउ गर्न खोज्दा अपहरणकारीले गोली चलाए, त्यसपछि प्रहरी टोलीले जवाफी फायर गर्‍यो, प्रहरीसँगको मुठभेडमा दुवै अपहरणकारी मारिए ।'

घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, दुई राउण्ड गोली र मोबाइल बरामद गरेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्