
काठमाडौं – आफ्नै होटलमा नियमित आइरहने गोपाल तामाङसँग घुम्न गएका चमेली खड्काका छोरा निशान खड्का घर फर्किएनन् । भक्तपुरको काँडाघारीबाट अपहरणमा परेका ९ वर्षीय निशान खड्का अपहरणकारीबाट मारिए ।
नेपालमा अपहरणका घटना पटक–पटक भइरहन्छन् । प्रत्येक वर्ष अपहरणको घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७२÷७३ मा देशभर ७९ वटा व्यक्ति अपहरणको मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांकमा छ ।
दर्ता भएको मुद्दाको आधारमा प्रहरीले अनुसन्धान गरी १ सय १७ जना अभियुक्तलाई पक्राउ गरी कारवाही गरेको छ भने ७६ वटा मुद्दा फछ्र्यौट भएका छन् । आर्थिक वर्ष २०७३÷७४ मा ५७ वटा मुद्दा दर्ता भएकोमा ३८ वटा मुद्दा मात्रै फछ्र्यौट भएका छन् । अपहरणमा संलग्न १ सय ११ जना अभियुक्त पक्राउ परेका थिए ।
गत आर्थिक वर्ष २०७४÷७५ मा देशभर ७७ वटा अपहरणका मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामा प्रहरीले अनुसन्धान गरेर १ सय ६ जनालाई पक्राउ गरी कारवाही गरेको छ । गत वर्षका केही मुद्दा फछ्र्यौट हुन बाँकी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा ३ वर्षमा २ सय १३ वटा व्यक्ति अपहरणको मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएका अपहरणको घटनामा छानविन गरी प्रहरीले ३ सय ३४ जना अभियुक्तलाई पक्राउ गरेको छ ।
पछिल्लो ३ वर्षमा प्रहरीमा दर्ता भएका मुद्दा र फछ्र्यौटको अवस्थालाई हेर्दा नेपालमा अपहरणको घटना बढ्दै गएको देखिन्छ ।