
काठमाडौं –गत आर्थिक वर्ष २०७४/०७५ वर्षको अन्तिमसम्ममा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पाँच गुणाले बढेको छ ।
आर्थिक वर्ष २०७३/०७४ को पहिलो १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२ अर्ब ५७ करोड ७ लाख नेपाल भित्रिएको थियो ।
गत आर्थिक वर्षमा ५५ अर्ब ६४ करोड ५ लाख एफडीआई स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।
एक वर्षको अवधिमा जम्मा ३ सय ९५ आयोजनामा वैदेशिक लगानी स्वीकृत भएको हो । जसमध्ये सबैभन्दा बढी पर्यटनमा १ सय ५६ वटा आयोजनामा लगानी स्वीकृत भएको छ । सोे अवधिमा पर्यटन क्षेत्रमा वैदेशिक लगानीका आयोजना भने घटेको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको १० महिनामा पर्यटन क्षेत्रमा १ सय १२ आयोजनामा लगानी स्वीकृत भएको थियो ।
यसैगरी सेवा क्षेत्रमा १ सय १८ वटा सेवा आयोजनामा वैदेशिक लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षमा सूचना प्रविधिको क्षेत्रमा भने न्यून आयोजना देखिएका छन् ।
उद्योग विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सूचना प्रविधिका २६ आयोजनामा लगानी स्वीकृत भएको छ । अघिल्लो आवको १० महिनामा सूचना प्रविधिको क्षेत्रमा ४ वटा आयोजनामा मात्रै लगानी स्वीकृत भएको थियो ।
वैदेशिक लगानी कृषी, ऊर्जा, सूचना प्रविधि, सेवा क्षेत्र, उत्पादन उद्योग, खनिज, पर्यटन लगायतका क्षेत्रमा बढिरहेको छ ।
उद्योग विभाग वैदेशिक लगानी महाशाखाका अनुसार पछिल्ला २ वर्षको अवस्था हेर्दा नेपालमा संख्यात्मक तथा पूँजीगत लगानीका हिसाबले चीन अगाडि देखिन्छ ।
महाशाखा प्रमुख प्रशान्त बोहराले भने– ‘चीनले नेपाली ऊर्जा क्षेत्रमा लगानी गर्न निकै इच्छा देखाएको छ । यसैगरी रेस्टुरेन्टमा नेपालमा थुप्रै लगानी आइरहेको छ । यसको कारण नेपाल चीनबीचको सम्बन्ध पनि हुनसक्छ भने चीनले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव बढाउने रणनीति अनुरूप नेपालमा पनि आउन थालेको हुन सक्छ ।’
सरकारले लगानीको वातावरण बनाउने र स्थायी सरकारको नीतिले लगानीकर्ताको आकर्षण बढ्न थालेको बोहराको भनाई छ ।
नेपाल राष्ट्र बैंकका अनुसार विदेशबाट भित्रिने साना लगानीकर्ताको आकर्षण साना उद्योगमै रहेको छ । राष्ट्र बैंकको अध्ययनअनुसार हालसम्म विदेशी लगानीसहित आएका कम्पनीमध्ये बढीले उत्पादन क्षेत्रमा लगानी गरेको देखिएको छ । तीमध्येका कतिपयले उत्पादित वस्तु विदेश निर्यात गरिरहेका छन् ।
उद्योग विभागका अनुसार नेपालका प्रमुख वैदेशिक लगानीकर्ताहरूमा चीन, भारत, दक्षिण कोरिया, जापान, अमेरिका, बेलायत, जर्मनी, मोरिसस, क्यानडा, युनाइटेड अरब इमिरेट्स, सिंगापुर, बंगलादेश लगायत छन् ।
उद्योग विभागका अनुसार पछिल्ला वर्षहरूमा साना उद्योग र ऊर्जा क्षेत्रमा लगानीको आकर्षण बढी देखिन्छ । नेपाल सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, ऊर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात विधामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ ।
नेपालमा सबैभन्दा बढी वैदेशिक लगानी ऊर्जामूलक क्षेत्रमा भित्रिने गरेको छ । त्यसपछि, सेवा र पर्यटन क्षेत्रमा पनि वैदेशिक लगानीको चाप बढ्दै गएको देखिन्छ ।
उत्पादनमूलक क्षेत्रमा पनि वैदेशिक लगानीको अवस्था राम्रै देखिन्छ । नेपालमा सञ्चालनमा रहेका गार्मेन्ट, सिमेन्ट, टेक्सटाइल र प्लाष्टिक उद्योगका इकाइहरूमा झन्डै आधा हिस्सा वैदशिक लगानीको नै देखिन्छ ।
‘प्रतिफलशून्य लगानी’
वैदेशिक रूपमा दिनप्रतिदिन लगानी बढिरहे पनि स्पष्ट योजना नहुँदा प्रतिफल नदेखिएको विज्ञहरू बताउँछन् ।
पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक देखिए पनि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नै नसकेको बताउँछन् ।
‘अहिले विदेशबाट भित्रिएको रकम सही ठाउँमा लगानी हुन सकेको छैन । प्रत्येक वर्ष लगानी आइरहेको छ । कहाँ लगाउने, त्यसको प्रतिफल के हो भन्ने कुराको स्पष्ट नीति छैन । हाम्रो देशको खास विशेषतालाई हेरेर यसबाट हाम्रो समृद्धि कसरी हुने बाटो पहिल्याएर त्यसपछि लगानी लगाउने हो,’ अधिकारीले भने, ‘सानासाना उद्योगमा पनि वैदेशिक लगानी विदेशीको हस्तक्षेप हो । ठूलाठूला लगानी जुन काम गर्न हामीसँग प्रयाप्त पैसा छैन, त्यस्तोमा बाहिरको लगानी आउने वातावरण बनाउनुपर्छ । केही उद्योगपतिले पैसा कमाएर मात्रै भएन । गाउँका मान्छे पनि पैसा कमाउनुपर्यो ।’