
डा. एकराज ओझा
समय, श्रम, सीप र साधन स्वदेशमै लगाऔं।
उन्नति पथमा लागेर सबै संकट भगाऔं ।।
देशको माटो संरक्षण गरी उर्वर पार्नु छ ।
उत्पादन वृद्घि गरेर सारा गरिबी झार्नु छ ।।
उद्योग—धन्दा, व्यापार, सेवा—यी सबै क्षेत्रको
उत्थान गर्दै अगाडि बढ्नु विकासको मर्म हो ।।
विकासलाई फस्टाउन दिन सुशासन चाहिन्छ ।
त्यसको प्राप्ति भएमा मात्र समृद्घि पाइन्छ ।।
जमिन, जल, जडी र बुटी, जनता धरोहर हुन् ।
तीभन्दा माथि के हुन सक्थ्यो पहेँलोे धातु सुन ।।
संस्कृति, संस्कार, संगीतको धनी हो हाम्रो यो भूमि ।
सम्पदा, कला, सौन्दर्य कौशलमा छैन केही कमी ।।
कमी छ थुप्रै व्यवस्थापनमा, नीति र नियममा ।
छ बढी खोट, कमी र त्रुटि केहीका नियतमा ।।
नीति र नियम, नियत र निष्ठा, दयार सद्भाव ।
उजिल्याउनु पर्ने, दर्याउनु पर्ने खाँचो छ है आज ।।
इमान्दार बनौँ, सक्रिय बनौँ, निष्क्रिय नबनौँ ।
सत्कर्म गर्न, सदाचार छर्न हुँदैन नभनौँ ।।
सिर्जना गरौँ, सुदृढ पारौं विकासको आधार ।
निस्तेज पारौं, निर्मूल गरौँसम्पूर्ण विकार ।।
हो,
त्यति गरे समृद्घिको मार्ग दिगो बन्छ ।
देशअनि स्वतः नै विकसित हुन्छ ।।
सुख आउँछ, खुसी छाउँछ, कोइली चरी गाउँछ ।
तनले, मनले, वनले पनि साँचो शान्ति पाउँछ ।।