२० असार २०८३, शनिबार

आउनुहोस्, एउटा महायज्ञ गरौं (कविता)

आउनुहोस्, एउटा महायज्ञ गरौं (कविता)

वीरेन्द्र कटुवाल

आउनुहोस्, 
सबैजना मिलेर, 
त्यागेर – लोभ, लालसा, प्रतिशोध र रिसराग,
एउटा यज्ञ गरौं, 
महायज्ञ !
र, मिष्ठान्न भोजनहरूको,
हवन गरौं ।
यसकारण,
कि, 
भएजस्तो छैन, 
प्रभुहरूको देह प्रसन्न मतदानले मात्रै,
अब,
गोदान पनि गरौं, भूदान पनि गरौं, 
प्रभुहरूको चित्त, प्रसन्न हुनेगरी,
पुस्तौं–पुस्तालाई पुग्नेगरी,
दिल खोलेर,
सुन, चाँदी, हीरा, मोती,
द्रव्य र जवाहरतहरू पनि दान गरौं ।

र,
ख्याल गरौं, 
प्रभुहरूको कामेच्छाको पनि,
दान गरौं सुरा र देवकन्याहरू पनि । 
सबैथोक दान गरौं,
आरती गरौं, धूपबत्ती गरौं, 
सभक्ति पूजापाठ गरौं । 
आउनुहोस्,
एउटा महायज्ञको प्रायोजन गरौं, 
महादानको आयोजन गरौं ।

प्रभुहरूको यो,
नक्रः (गोही) अवतारको, 
भक्तिपूर्वक उपसना गरौं । 
श्राप नलागोस् भनेर– छोरीचेलीहरूको,
एउटा महायज्ञ गरौं,
प्रसन्न चित्तले सबैथोक दान गरौं,
र, 
अलिकति भएपनि, 
गोहीको आँखामा दयाको आँसु,
माग गरौं ।
 

salt training

कमेन्ट गर्नुहोस्