२९ असार २०८३, सोमबार

कान्ति बाल अस्पताल एक्सरे विहीन, निर्देशकलाई ‘मुख देखाउनै’ गाह्रो !

भदौ ११, २०७५
कान्ति बाल अस्पताल एक्सरे विहीन, निर्देशकलाई ‘मुख देखाउनै’ गाह्रो !

काठमाडौं– बालबालिकाको उपचारका लागि देशकै केन्द्रय अस्पतालको रुपममा रहेको कान्ति बाल अस्पताल एक्सरे मेसिन विहिन भएको छ । 

दुईवटै  डिजिटल रेडियोग्राफी (एक्सरे मेसिन) विग्रिएपछि अस्पताल एक्सरे मेसिन विहिन बनेको हो । एउटा मेसिन अस्पतालले नै खरिद गरेको भने अर्को जापान सरकारको सहयोगमा १५ वर्ष अगाडि जडान गरिएको थियो । 

विगत १ वर्षदेखि मर्मत गर्दै चलाउँदै आइएका दुवै मेसिन बिग्रिएपछि अस्पतालमा आउने बिरामीको उपचार नै नहुने अवस्था सिर्जना भएको छ । 
 
यसअघि दिनमा ३ सय विरामीलाई एक्सरे सेवा दिँदै आएको अस्पताल अहिले एक्सरे सेवा विहिन बनेको हो ।

अस्पतालमा रहेको दुबै मेसिन विग्रिएपछि एक्सरे सम्बन्धी सेवा नै बन्द भएको अस्पतालका निर्देशक गणेश राईले लोकान्तरलाई बताए । ‘एक वर्ष अघिदेखी ममर्त गर्दै चलाउँदै गर्ने गरेका थियौं,’ राईले लोकान्तरसँग भने, ‘दुईदिन अघिबाट चल्न नै छाड्यो, अब त मर्मत समेत गर्न नमिल्ने अवस्थामा पुगेको छ ।’

विशेषगरी छातीको समस्या, निमोनिया, फोक्सो, पेट तथा हाडजोर्नीसम्ब्न्धी समस्या लिएर आउने बालबालिकालाई एक्सरे सेवा आवश्यक पर्छ । मेसिन विग्रिएपछि अस्पतालले एक्सरे गरेर स्वास्थ्य परिक्षण गनुपर्ने  बालबालिकाको एक्सरेका लागि टिचिङ लगायत अन्य अस्पतालमा रिफर गर्ने गरेको छ ।  तर टिचिङ अस्पतालमा समेत समस्या उस्तै भएपछि विरामीहरुले निजी अस्पतालमा एक्सरेका लागि जानुपर्ने बाध्यता रहेको छ । 

‘बच्चाको एक्सरे गर्नुपर्ने मेसिन सबै अस्पतालमा सहजै पाइँदैन । अहिले बालबालिकालाई निजी अस्पतालमा रेफर गर्न बाध्य छौं,’ निर्देशक राईले लोकान्तरसँग भने, ‘ केन्द्रीय बाल अस्पताल जिल्ला अस्पताल भन्दा पनि तल्लो स्तरको भयो, मलाई त अस्पतालमा मुख देखाउन पनि लाज भएको छ ।’ 

अस्पतालका लागि नयाँ डिजिटल रेडियोग्राफी मेसिन खरीद गर्न दुई करोड लाग्ने उनको भनाइ छ । अस्पतालमा एक्सरे मेसिन आवश्यक रहेको भन्दै स्वास्थ्य मन्त्रालयमा पटक पटक भन्दा पनि आफ्नो कुरा मन्त्रालयमा कसैले नसुनेको उनको गुनासो छ । दुई वर्ष अघिदेखि एक्सरे मेसिन बिग्रिने गरेको जानकारी गराए पनि मन्त्रालयबाट नयाँ एक्सरे मेसिन खरिदका लागि कुनै पहल नभएको उनले बताए । 

दुई दिन अघिदेखि अस्पतालमा एक्सरे सेवा नै बन्द भएपछि निर्देशक डा. राई पुरानो मेसिन भएपनि पाइने आशमा मन्त्रालय धाइरहेको बताउँछन् । 

‘मन्त्रालयमा एक्सरे सेवा बन्द भएको जानकारी गराइसकेको छु, तत्कालका लागि सेवा दिन कहिँ कतै पुरानो मेसिन भएपनि पाइन्छ कि भनेर भोलि (मंगलवार) पनि मन्त्रालयमा बुझ्न जादै छु,’ उनले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्