२४ असार २०८३, बुधबार

पश्चिमसँग निराश रुस एसियामा ध्यान केन्द्रित गर्दै

कात्तिक २०, २०७४
पश्चिमसँग निराश रुस एसियामा ध्यान केन्द्रित गर्दै
रुस भौगोलिक हिसाबले विशाल देश हो । युरोप र एसियाको ठूलो भूभाग रुससँग जोडिएको छ । जापान, कोरिया र अमेरिका यसको सुदूरपूर्वी भागका छिमेकी हुन् भने पश्चिमी सिमानामा स्विडेन, फिनल्यान्ड र अन्य नाटो मुलुकहरू रहेका छन् । दक्षिणतिर बाल्कन क्षेत्र, मध्यपूर्व अनि मध्यएसियामा रहेका देश छन् । सुदूरउत्तरमा उत्तरी ध्रुवको ठूलो भूभाग यसकै कब्जामा छ ।


यति ठूलो देश भएपनि रुसमा उस्तैखाले परम्परा, संस्कृति र धर्म छ । अनेकथरी जाति र धर्म मान्ने मानिसहरू भएपनि यहाँ प्रायः सबैको राजनीतिक विचारधारा र बाह्य विश्वलाई हेर्ने दृष्टिकोण एउटै छ । संसारका अन्य देशमा क्षेत्रीय विविधताले विश्वदृष्टिकोणमा असर पु–याउने गरेको भएपनि रुसको हकमा यो लागू हुँदैन ।

यस्तो विशाल र बहुजातीय देशको विदेशनीतिलाई वर्णन गर्न सजिलो छैन । झन् अहिले त पुराना मान्यताहरू भत्किँदै गइरहेका अनि गठबन्धनहरू परिवर्तन हुँदै गएका तथा विश्वव्यवस्थाको अवधारणा नै आक्रमणको तारो बनिरहेकाले गर्दा यो काम अझै गाह्रो भएको छ ।

विगत १५ वर्षमा रुसी सरकारले चारथरी विदेशनीति सार्वजनिक गरिसकेको छ । तीन महिनाअघि मात्र राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ विदेशनीतिलाई कानून बनाएका थिए । कम्युनिस्ट सोभियतकालबाट लोकतान्त्रिक चरणमा आउँदा पश्चिम (विशेषगरी युरोपेली संघ) सँग एकीकृत हुने चासो देखाएको रुसले पश्चिमको अवहेलना, आलोचना र नाकाबन्दीका कारण चित्त दुखाएको छ । आफ्नो भविष्य एसियासँग आर्थिक र राजनीतिक सम्बन्ध बनाउनुमा उज्ज्वल हुने उसको आँकलन छ । विशेषगरी चीनसँग सम्बन्ध बनाउनु रुसको हितमा रहेको मूल्यांकन गरिएको छ ।

आफ्नो लामो इतिहासमा रुसले जहिले पनि आफूलाई फरक सभ्यताका रूपमा लिइरह्यो । पश्चिमको विशेषताका रूपमा रहेको वैज्ञानिक, औद्योगिक र सैन्य शक्तिका लागि रुसले प्रयत्न गरिरहेको भएपनि नैतिक रूपमा खुकुलो र राजनीतिक अव्यवस्थाको मारमा परेको युरोपभन्दा आफू महान् रहेको रुसलाई लागिरह्यो । कम्युनिस्ट सोभियत रुसले पश्चिमलाई मात खुवाउने वैकल्पिक समाज निर्माणमा धेरै प्रयत्न गरेको थियो । तर त्यो योजना पूरै असफल हुन पुग्यो । अहिले रुस विगतभन्दा धेरै उदार र पश्चिमीकृत भएको छ अनि त्यहाँ बजार अर्थतन्त्र हावी छ ।

यसका बाबजुद राष्ट्रपति पुटिनले रुसको परम्परागत मूल्यमान्यतामा जोड दिनुपर्ने बताउँदै आएका छन् र रुसी अर्थोडक्स चर्चलाई जारको समयमा जस्तै थप प्रभाव जमाउन छुट दिएका छन् । रुसले आफूलाई सामाजिक अनुदारवादको नेताको रूपमा पश्चिमको आत्मघाती उदारवादविरुद्ध प्रस्तुत गर्दै आएको छ । पश्चिमले अपनाएको समलिंगी विवाह, परम्परागत परिवारको विघटन र भूमण्डलीकरणको प्रक्रियालाई रुसले चर्को आलोचना गर्ने गरेको छ । हुन त अनुदारवाद कम्युनिजम जस्तो चुनौतीपूर्ण विचारधारा होइन तर रुसले पश्चिमसँगको द्वन्द्वमा यसलाई परस्परविरोधी मूल्यमान्यताका रूपमा प्रस्तुत गर्दैछ । रुसले युरोप र अमेरिकाका राष्ट्रवादी, संस्थापनविरोधी लोकरञ्जनवादीहरू र सामाजिक अनुदारवादीहरूसँग राजनीतिक गठबन्धन बनाउँदै आएको छ ।

‘अमेरिकीहरू विश्वमा आफ्नो भूमिका फरक रहेको मान्यता राख्छन् किनकि अमेरिका संसारको सबभन्दा बलियो देश हो भन्ने विश्वास छ,’ सर्गेई मार्कोभ भन्छन् । मार्कोभ पुटिनका सल्लाहकार हुन् । ‘तर हामी रुसीहरू चाहिँ आफूलाई फरक हौं भन्ने मान्यता राख्दैनौं किनकि हामी सबैतिरबाट कमजोर र जोखिमको अवस्थामा छौं । त्यसैले हामी बहुध्रुवीय संसार चाहन्छौं । यस्तो विश्वमा राष्ट्रिय सार्वभौमसत्तालाई सम्मान गरिन्छ अनि सबै मुलुकलाई समान व्यवहार गरिन्छ ।’

संसारका विभिन्न मुलुकले रुसलाई आफ्नै चिन्ता र चासोको चश्माले हेरेपनि केन्द्रीकृत रुसी राज्यले विशाल र एकीकृत भूराजनीतिक चित्र देख्छ र मस्कोलाई केन्द्रमा राख्छ । रुसको हैसियत, सम्मान र शक्तिलाई कायम राख्दै विस्तार गर्ने उसको उद्देश्य हो ।

सोभियत कालमा झैं अमेरिकासँग हतियार निर्माणमा प्रतिस्पर्धा गर्न मस्कोलाई कुनै रुचि छैन । तर अन्य देशसँग मिलेर बहुपक्षीय संगठन बनाउन उसले चासो देखाएको छ, भलै त्यस्ता संगठनले खासै सफलता हात पारेका किन नहुन् । विशेष मुद्दालाई सम्बोधन गर्न अल्पकालीन गठबन्धन बनाउन नेटवर्किङ गर्नेतर्फ रुसको चासो छ । सिरियाको समस्या समाधानका लागि इरान र टर्कीसँग शान्तिवार्ता गर्न चाहनु भनेको उसको कूटनीतिको नयाँ प्रारूप हो ।

धेरै रुसीहरूलाई पुटिनको कठोर नीतिले पूर्व सोभियत संघले कमाएको शक्ति र सम्मान फिर्ता ल्याउने विश्वास छ । रुसले युक्रेनको क्राइमियालाई आफ्नो भूभागमा गाभेकोमा पश्चिमले चिन्ता देखाएको भएपनि रुसीहरूले यसलाई समर्थन गरे । अनि रुसले सिरियाको गृहयुद्धमा हस्तक्षेप गरेकोलाई पनि रुसीहरूले समर्थन गरे । विगत तीन वर्षमा पुटिनले पश्चिमसँग जोरी खोजेयता उनको समर्थन ८० प्रतिशत बढेको छ ।

रुसले विकसित मुलुकहरूसँग गठबन्धन गर्ने विदेशनीति ६ वर्षअगाडि ल्याएको भएपनि क्राइमिया संकटपछि रुस अब पश्चिमतर्फ नफर्किने गरी एसियातिर लागेको छ । विशेषगरी चीनले राज्यसंरक्षित घोर पूँजीवादी रुससँग व्यापार गर्न सजिलो मान्छ । एसियाका अग्रणी देशहरू भूराजनीतिक विषयमा मस्कोसँग नजिक छन् र ती मुलुकका नेताहरूले रुसमाथि नाकाबन्दी लगाउने वा मानवअधिकार वा लोकतन्त्रका विषयमा उपदेश दिने कष्ट गर्दैनन् ।

‘हामी पूर्वतर्फ दिगो रूपमा जाँदैछौं,’ मार्कोभले भने । ‘रुस पश्चिम र यसको मूल्यमान्यतासँग निराश भएको छ । खासमा पश्चिम जे भन्छ, ठ्याक्कै त्यसको उल्टो गर्छ ।’

पश्चिमका जासूसी संस्थाहरूले जर्जिया र युक्रेन जस्ता देशमा अनेकथरी क्रान्ति गराउन षड्यन्त्र गरिरहेको क्रेमलिन विश्वास गर्छ । क्रान्तिको मुख्य हतियारका रूपमा विदेशी लगानीका मिडिया र गैरसरकारी समूहको प्रयोग हुने गरेको रुसी अधिकारीहरू दाबी गर्छन् । रुसले यी दुवैलाई कठोरतापूर्वक दमन गर्ने गरेको छ ।

हिलारी क्लिन्टनले अमेरिकाको राष्ट्रपति निर्वाचन जितेको भए रुससँग द्वन्द्व चर्किने आँकलन थियो तर डोनाल्ड ट्रम्पको प्रशासनले के गर्ला भनी रुसीहरू अपेक्षा गरिरहेका छन् । ट्रम्पले पुटिनप्रति देखाएको सम्मानका बाबजुद एक महिनामा गरेका अनेकौं गल्तीका कारण रुसीहरूमा चिन्ता बढ्दै गएको छ ।

द वायर इन्डियामा फागुन १० गते प्रकाशित लेख ‘डिसइलयुजन्ड विथ द वेस्ट, रसिया टू इज पिभोटिङ टु एसिया’ को संक्षेपीकृत अनुवाद

अनुवादक : विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्