
काठमाडौं – सत्तारुढ नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले विकास भनेका जादुको छडी नरहेको बताएका छन् ।
देशमा वर्तमान सरकारले विकास गर्ने विषयमा कुनै पनि सम्झौता नगर्ने उनले स्पष्ट पारे । जनता डिजिटल प्रालिद्वारा रिपोर्टर्स क्लब नेपालमा शुक्रवार गरिएको गीत विमोचन कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले केपी ओली नेतृत्वको वर्तमान सरकारले विकास र समृद्धिका लागि काम गरेको भन्दै सरकारको आलोचना गर्न आवश्यक नरहेको बताए । सरकारले जनताका पक्षमा काम गरिरहेको पनि उनले दावी गरे ।
प्रधानमन्त्री ओलीको बचाउ गरेका न्यौपानेले विकासमा सरकारको उच्च ध्यान रहेको जनाएका छन् । ‘विकास भनेको जादुको छडी होइन,’ उनले भने, ‘विकास भइरहेको छ । सरकार बनेको भर्खरै ६ महिना पुगेको छ । यस्तो अवस्थामा केही पनि काम भएन भन्नु पूर्वाग्रही कुरा हो ।’
न्यौपानेले वर्तमान सरकारको आलोचना नगर्न आग्रह गरे । ‘दुईतिहाईको सरकारलाई काम गर्न दिनुपर्छ,’ उनले भने, ‘काम गरेको छ वा छैन भनेर मूल्यांकन गर्ने अहिले होइन । जे जति काम भएको छ त्यो धेरै राम्रो भएको छ ।’
जनता डिजिटल प्रालिले गीत संगीतको क्षेत्रमा गरेको योगदानको पूर्वमन्त्री न्यौपानेले प्रशंसा गरे । ‘गीत संगीतबाट नै देशको कला र संस्कृतिको जगेर्ना गर्न सकिन्छ,’ उनले भने, ‘गीत संगीतकै कारण धेरैको रोजगारीमा सहयोग मिलेको छ । यो क्षेत्रलाई सरकारलाई पनि विशेष ध्यान दिनुपर्छ ।’
कार्यक्रममा पूर्वमन्त्री न्यौपानेले ‘तिमी हुन्छ मात्र भन...’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । कार्यक्रममा जनता डिजिटल एण्ड फिल्मस् प्रालिको ब्यानरमा बनेको निरबहादुर बम्जनको लोकपप गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा म्युजिक भिडियोका कलाकार, निर्देशक, कोरियोग्राफर, संगीतकार, गीतकार, सहयोगी टीम सबैलाई मायाको चिनोमार्फत् सम्मान गरिएको थियो ।
हेर्नुस् भिडियो :