१२ असार २०८३, शुक्रबार

आजका 'देवकोटाहरू' (कविता)

कात्तिक २१, २०७५
आजका 'देवकोटाहरू' (कविता)

अच्युत शाली घिमिरे

नेपाली साहित्यका सर्वश्रेष्ठ पुरुष

हुन् महाकवि देवकोटा,

उनकै पद्चाप पछ्याउदै

आजका हजारौ युवाहरु

शब्दमा लाली चढाउदछन्

अनि साहित्यमा श्रृंगार थप्दछन्।

साउदीको जंगलमा भेडा चराउदा होस् वा

बलात्कारका विरुद्ध माईतीघरमा उभिदा होस्

हरेक उद्गारहरुमा

हरेक अनुभूतिहरुमा

देवकोटा भल्किरहन्छन्!

घाँस दाउरा गर्न

बन जंगल चाहर्दा होस् वा

कखरा सिक्न

पाठशाला धाउदा होस्

देवकोटाका आदर्शले

हृदयस्पर्श गरिरहन्छ,

उनको सभ्यताको चिनारीले

व्युझाईरहन्छ।

गोधूलिमा

आफ्नो भविष्य खोज्न निस्किने यात्रीहरुमा,

मन्दिरमा आफ्नो

सपनाको आकार कुँद्ने आस्तिकहरुमा 

देवकोटाका ध्वनिहरुले

प्रेरणा बोलिरहन्छ,

उनका कविता 

आँसुभावहरुमा पग्लिरहन्छ।

कृत्रिमताको शहरमा

प्रेम र श्रद्धाको शालिक बनेर,

अनि

शून्यहृदयी आधुनिक मण्डूकगणहरुमा

देवकोटा

साहित्य आकासको चम्किलो 

नक्षेत्र बनेर

चम्किरहन्छन्,

समाज बदल्ने मसिहरुमा

उपमा बनेर उनी पोखिईरहन्छन्।

मलाई गर्व छ

आजका 'देवकोटाहरुमा'

म समाहित छु,

खोलामा बिजुली देख्छु

हावामा अमृत देख्छु

हरियो बनमा नेपाली मन देख्छु

एउटै फूलबारीमा अनेक फूलहरु देख्छु

अनि आफैले आफैलाई प्रश्न गर्छु-

' के नेपाल सानो छ?'

जुनियर इन्टर्न,चिकित्सा शास्त्र अध्ययन संस्थान

salt training

कमेन्ट गर्नुहोस्