२३ असार २०८३, मंगलबार

छठमा पहाडी मूलका मेयरको कठोर व्रत, मागे समृद्धि र जनकल्याणको वर

कात्तिक २७, २०७५
छठमा पहाडी मूलका मेयरको कठोर व्रत, मागे समृद्धि र जनकल्याणको वर

विराटनगर – विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली १५ औं पटक शरीर भुइँमा घस्रेर दण्डवत् प्रणाम गर्दै छठ पूजामा निस्किएका छन् ।

विराटनगर पोखरियामा रहेको पाञ्चायन मन्दिरबाट उनी आफ्ना २ भतिजासहित दण्डवत् प्रणाम गर्दै छठको अस्ताउँदो सूर्यलाई अर्घ दिन निस्किएका हुन् । मेयर पराजुलीलाई उनका भतिजा प्रमिस र मनिस पराजुलीले साथ दिएका छन् ।

पोखरियामा रहेको शिव पाञ्चायन मन्दिरबाट करीब ३ किलोमिटरको दूरी घस्रिएर पार गर्दै मेयर पराजुली करीब ४ घण्टाको अवधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुग्ने जनाइएको छ । यसअघि १२ वर्षसम्म आफ्नो र परिवारको लागि छठको ब्रत बसेको बताउने पराजुलीले १३ औं ब्रत बिरामी परेर मर्न लागेका शशांक कोइरालाको लागि बसेको बताए । १४ औं पूजा भने आफू मेयर भएपछि आफ्नो लागि बसेको बताउँदै उनले अहिलेको १५ औं कठोर ब्रत महानगरको समृद्धि र नगरवासीको लागि बसेको बताएका छन् ।

पर्वतबाट विराटनगर आएपछि ब्रत

उनी जन्मनुभन्दा पहिलादेखि नै उनको परिवार धार्मिक रुपमा विश्वास गर्ने परिवार हो । उनी जन्मनुभन्दा पहिलादेखि नै मेयर पराजुलीकी आमा तुलसीमायाँ पराजुलीले छठको पूजा नियमित गर्दै आएकी थिइन् । 

करीब ६७ वर्ष पहिलादेखि नै विराटनगरमा बसोबास गर्दै आएका मेयर पराजुलीका बुबा पर्वतका वासिन्दा थिए । पर्वतमा छठ पर्वको खासै महत्त्व थिएन । पराजुली परिवार पर्वतबाट कोही भोजपुर, कोही खोटाङ, कोही धनुकुटा गए भने मेयर भीम पराजुलीका बुवाआमा विराटनगर आए । 

पराजुलीलाई याद भए अनुसार उनी १६ वर्षको उमेरदेखि नै छठको ब्रत बस्न थालेका हुन् । त्यो बेला आमाले छठको पूरा गरेको देख्दा ‘ब्रत गरौं गरौं’ लागेको उनले बताए । त्यसपछि नियमित ब्रत बस्दै आएका उनले १५ वर्षदेखि दण्डवत् प्रणाम गर्दै घस्रेर घाटसम्म जान थालेको बताए । आमाले सिकाएको संस्कार जीवनमा निरन्तर लागू गर्दै आएको उनले बताए ।

सफलताको श्रेय छठलाई

मंगलवार १५ औं पटक घस्रिएर दण्डवत् प्रणामका आधारमा कठोर छठको ब्रत गरेका कारण आफू कहिल्यै असफल नभएको मेयर पराजुलीले बताए । यसअघि महेन्द्र मोरङको स्ववियू निर्वाचनमा बागी उम्मेवारबाट जितेको स्मरण गर्दै उनले भने, ‘विराटनगरको मेयरको टिकट पाउने बेलामा पनि पाउँदैन भन्थे पाएँ, टिकट पाएर पनि हराउन लागे, त्यो पनि जितें ।’

हरेक अप्ठ्यारोबीच सहजता खोज्ने व्यक्ति भएको बताउँदै उनले अहिलेसम्म छठको ब्रतको कारण आफूले जहाँ छोयो, त्यहाँ पुग्ने गरेको अनुभव सुनाए । चुनौतीलाई सामना गर्नको लागि नै आफू जन्मीएको हो कि भन्ने लागेको उनले बताए ।

कठिन ब्रत कुनै पनि नछाडेको उनले बताए । गत वर्षसम्म छठको ब्रतबारे चासो नदिने उनकी श्रीमती रञ्जीता खनाल पराजुलीले पनि यसपालिदेखि ब्रत थालेकी छन् । २५ वर्षदेखि तीजको ब्रत बसेको दाबी गरेका मेयरले अहिलेसम्म हरेक तीजमा समेत निराहार ब्रत बस्ने गरेको सुनाए । ब्रतबन्ध गरेदेखि ननुहाई पानी समेत नखाने स्वभाव भएका मेयर पराजुली राजनीतिसँगै धर्ममा अत्यन्त आस्था राख्ने व्यक्ति आफू भएको बताउँछन् ।

हरेक दिन बिहान ५ बजेभन्दा अगाडि नै उठ्ने मेयर पराजुलीको पहिलो कर्म भनेको भगवानप्रति आस्था नै हो । मेयर हुनुभन्दा पहिला उनले धार्मिक नित्यकर्म हरेक दिन बिहान ८ बजेसम्म गर्ने गरेका थिए । तर, अहिले उनले धार्मिक समय छोट्याएर १ घण्टामा सक्ने गरेका छन् ।

छठको महत्त्व

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म ४ दिन छठ पर्व मनाउने गरिन्छ । छठमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने चलन रहँदै आएको छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना छठ पर्व मनाउने चलन रहँदै आएको छ । 

आदीकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसङ्ग छठसँग जोडिएको छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवले अज्ञात बासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालिएको कथन छ ।

salt training

कमेन्ट गर्नुहोस्