
जनकपुरधाम – त्रेतायुगमा अयोध्यामा जन्मिएका भगवान् रामको विवाह मिथिलाको जनकपुरकी सीतासँग भयो ।
सीतारामको विवाहलाई परापूर्वकालदेखि भक्तजनले उत्सवका रुपमा मनाउँदै आएका छन् । त्रेतायुगको सन्दर्भलाई कलियुगमा समेत भव्यताका साथ मनाउने गरिएको छ ।
हाल भारतमा रहेको अयोध्याबाट नेपालमा रहेको जनकपुरधाममा जन्ती आउने र विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ । सांस्कृतिक परम्पराका रुपमा मनाइने विवाहपञ्चमीमा सीतारामका लीला देखाउने गरिन्छ । तर कलियुगको विवाहपञ्चमीमा भगवान् ‘राम’ सँगसँगै ‘सीता’लाई पनि भारतबाटै ल्याउने गरिएको छ ।
जानकी मन्दिरको अगुवाइमा प्रत्येक वर्ष यसरी नै सीताराम विवाहपञ्चमी महोत्सव आयोजन हुने गर्छ । यसपालि पनि विशेष रूपमा सीताराम विवाहपञ्चमी महामहोत्सव मनाइँदैछ ।
महोत्सवमा विभिन्न झाँकी देखाएर मात्र होइन, लीला नै गरेर दृश्यहरू देखाइएका छन् । हजारौं दर्शनार्थी प्रत्येक दिन लीला अवलोकन गर्न आउँथे । सीताराम स्वयम्बर र विवाहपञ्चमी उत्सव हेर्न लाखौं दर्शनार्थी जनकपुरधाम आएका थिए ।
राजस्थानको बाल रामलीला मण्डलद्वारा झाँकी
महोत्तरीकै गैंढा भेटपुर–२ का महेन्द्रशरण भारतको राजस्थानको जयपुरमा बाल रामलीला मण्डल चलाउँछन् । उनको अर्को नाम सिंगारी लाड्ली शरण पनि हो । विगत १७ वर्षदेखि टोली जनकपुरधाम विवाहपञ्चमी महोत्सवमा आएर बाललीलादेखि विवाह लीलासम्मका दृश्य प्रत्यक्ष रूपमा मञ्चन गर्ने गर्छन् ।
टोलीका व्यवस्थापक प्रमोद बन बिहारी दासले लोकान्तरसँग भने, ‘यस पटक हामीले नारद मोह, पृथ्वी पुकार, रावणको अत्याचार, रामजन्म, जानकी जन्म, मुनी आगमन, तारका बध, अहिल्या उद्दार, गंगा अवतरण, रामराज, बगैंचा, सुन्दर सदन झाँकी, भगवान् रामको जनकपुर नगर दर्शन, पुष्प वाटिकामा फूलबारी लीला, धनुष यज्ञ, स्वयम्बर, विवाह र रामकलेबाको सबै प्रसंग देखाएका थियौं ।’
लीलामा रामको भूमिकामा भारतबाटै आएका १५ वर्षीय बालक मिथिलेश झा, सीताको भूमिकामा भारतकै ११ वर्षीय बालक मैथिली शरण, लक्ष्मणको भूमिकामा सीताशरण, गुरू विश्वामित्रको भूमिकामा बैदेही शरण लगायतले झाँकी प्रदर्शन गरेका थिए । साथीसंगीको समेत भूमिकामा अन्य बालक भोलु, विश्वासले भूमिका निर्वाह गरेका थिए ।
टोलीका व्यवस्थापक प्रमोद बन बिहारी दासले भने, ‘जानकी मन्दिरले प्रत्येक वर्ष हामीलाई विवाहपञ्चमी महोत्सवमा बोलाउने गर्छ । कति रुपैयाँमा आउने भनेर हामीले पहिले तय गरेका हुँदैनौं । महन्थ सरकारले जे दिनुहुन्छ हामीले लिएर जाने गरेका छौं ।’
भारतको विभिन्न शहरहरू बनारस, कानपुर, लखनउ, जयपुर, राजगीर, मुम्बई, जयपुर र ४ वटै कुम्भ लाग्ने स्थानहरू हरिद्वार, इलाहाबाद, उज्जैन र नासिक जाने गरेको उनले बताए । कम्तिमा पनि भारतीय १ लाख रुपैयाँमा जाने गरेको उनले बताए ।
गत २७ तारिखका दिन जनकपुरधाम आएको टोली चौठारी गरेर मात्र जानेछ । बिहे भएको ४ दिनपछि मिथिलामा चौठारी मनाइने गरिन्छ । मिथिलामा बिहेको ४ दिनपछि दुलाहा पक्षबाट फिर्ता भार आउने गर्छ, त्यसलाई नै चौठारी भन्ने गरिन्छ ।
टोलीका हरेक सदस्यले राम्रो प्रशिक्षण लिएका हुन्छन् । झाँकीका क्रममा रामायणकालका विभिन्न श्लोक पढ्नुका साथै नाचगान गर्दै विभिन्न प्रसङ्ग सजीव तरिकाले दर्शाउने गर्छन् । हेर्ने सबै दर्शकहरू मन्त्रमुग्ध भई भाव बिहोर हुने गरेका छन् ।