२९ असार २०८३, सोमबार

राष्ट्र बैंकको जागिर छाडेर कलाकारिता : जसले दियो अभिनेत्री लक्ष्मीलाई सन्तुष्टि

मंसिर २९, २०७५
राष्ट्र बैंकको जागिर छाडेर कलाकारिता : जसले दियो अभिनेत्री लक्ष्मीलाई सन्तुष्टि

काठमाडौं – लक्ष्मी गिरी पुरानी अभिनेत्री हुन । सडक नाटक, टेलिसिरियल हुँदै चलचित्र अभिनयमा होमिएकी लक्ष्मीले कलाकारितामै ३ दशक बढी समय बिताएकी छिन् ।

हालसम्म उनले झण्डै १ सय ५० चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेका नाटकको संख्या उल्लेख्य छ ।

२०४२ सालमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण भएयता ‘अप्रिल फस्ट’बाट टेलिसिरियल यात्रा शुरू गरेकी लक्ष्मीले २०४६ सालमा ‘भुमरी’बाट चलचित्र यात्रा शुरू गरेकी हुन् ।

हजुरआमाको रेखदेख

आफू सानै हुँदा बुवा गुमाएकी लक्ष्मीले हजुर आमामार्फत् स्याहारसुसार पाइन् । तानसेन मामाघर भएकी लक्ष्मीकी हजुरआमा पाल्पा अञ्चल अस्पतालमा नर्स थिइन् । जुन पछि मिसन अस्पतालमा परिणत भयो । २०१६ सालमा हजुरआमा काठमाडौं आइन् । 

काठमाडौं आएको केही समयपछि हजुरआमा पशुपति देवपाटनस्थित पशुपति होमियोप्याथिक अस्पतालमा काम गर्न थालिन् । लक्ष्मी त्यही नजिकै रहेको शारदा माध्यमिक विद्यालयमा पढ्न थालिन् । उनको बाल्यकाल पशुपति आसपासमै बित्यो ।

पशुपतिमा हप्ता दिन, १० दिनमा मेला लागिरहने । लक्ष्मी ती मेलामा रमाउँथिन् । विद्यालयमा प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप हुन्थ्यो ।

सम्झिन्छिन्, ‘स्कूलमा वादविवाद, हाजिरीजवाफ, कविता, नृत्य आदि प्रतियोगिता हुन्थ्यो । म पनि प्रायः भाग लिन्थें ।’ त्यो समयको समाज अहिलेजस्तो खुला थिएन । अभिनयमा लाग्न परिवारबाट त्यति साथ हुँदैन्थ्यो ।

लक्ष्मी भन्छिन्, ‘मेरो हजुरआमा नर्स भएकाले फरवार्ड हुनुहुन्थ्यो । राजनितिक चेतना, जागिर खाइसकेको भएको हुनाले महिलालाई अझ भनौं नातिनीलाई अगाडि बढाउनुपर्छ भन्ने थियो । त्यसलै पनि मलाई अभिनय क्षेत्रमा लाग्न त्यति गाह्रो भएन ।’ 

उनी २०२१ सालदेखि २०२९ सालसम्म कृष्ण जन्माष्टमी, वाला चर्तुदर्शी, गाईजात्रा, रोपाइँजात्रा लगायतमा देखाइने नाटकमा सहभागी भइन् ।

राष्ट्र बैंकको जागिर छाडेर अभिनयमा

२०२८ सालदेखि नेपाल राष्ट्र बैंकको जागिरे थिइन् उनी । बिदा मिलाएर सडक नाटक, टेलिसिरियल र चलचित्रमा अभिनय गर्थिन् । राष्ट्र बैंकको जागिरे भनेपछि परिवारमा छुट्टै खालको उत्साह थियो । तर उनमा अभिनय प्रतिको मोह बढ्दै थियो ।

बिदा लिएर सुटिङमा जान्थिन् उनी । तर व्यस्तता बढ्दै जाँदा उनले जागिर छाडेर अभिनय रोज्ने निर्णय गरिन् र २०५० सालमा बैंकको जागिरबाट राजीनामा दिइन् । राजीनामा दिएपछि धेरैले गाली गरे । परिवारको गालीको त कुरै नगरौं । तर उनले जागिर छाड्नुअघि कसैसँग सल्लाह गरिनन् ।

लोकान्तरसँगको कुराकानीमा लक्ष्मी सम्झिन्छिन्, ‘मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य दाईहरूले नै भन्नुभयो, राष्ट्र बैकको जागिर छाडेर तपाईले नराम्रो गर्नुभयो ।’ तर लक्ष्मी सन्तुष्ट थिइन् । किनकि उनले अभिनयमार्फत् दर्शकको माया पाएकी थिइन् ।

‘सबै कुरा पैसा पनि त होइन नि ! अभिनयले मेरो मनलाई सन्तुष्टि मिल्यो र राजीनामा दिए,’ उनी भन्छिन् ।

‘बाहिरीले बहकाउँथें, म सम्हालिन्थें’

जब लक्ष्मीले हुँदाखाँदाको जागिर छाडेर अभिनयलाई मुख्य पेशा बनाइन्, त्यसयता उनको व्यस्तता चलचित्रमा बढ्दै गयो । जागिर छाडेलगत्तै लक्ष्मी २ महिनाको कार्यतालिकामा चलचित्र ‘दुश्मन’को छायांकनका लागि राजधानीबाहिर गइन् । 

‘त्यो समय बाहिरी मानिसहरू आएर छोराछोरीलाई बहकाउँथे, श्रीमान्लाई बहकाउँथे,’ लक्ष्मी विगत सम्झँदै भन्छिन्, ‘म भने ती कुराको मतलब नगरी आफूलाई सम्हाल्दै अगाडि बढे ।’ मिलिरहेको परिवारलाई बाहिरी व्यक्तिहरूले बिगार्न खोजेपनि आफू सम्हालिन सकेका कारण नै निरन्तर अभिनयमा रहेको लक्ष्मी बताउँछिन् ।

अभिनयले विश्व घुम्ने मौका

अभिनयले लक्ष्मीलाई धेरै देश घुम्ने अवसर दिएको छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाटक ‘विज्ञापन’को ३ सय ८९ प्रदर्शनमा लक्ष्मीले २ सय ८९ पटक अभिनय गरेकी छिन् ।

२०४३ देखि २०५३ सालसम्म उनले सो नाटकमा अभिनय गरेकी थिइन् । ‘त्यो नाटकमा म नायिका थिए,’ भन्छिन्, ‘जसले मलाई विश्व घुम्ने मौका दिलाइदियो ।’

‘विज्ञापन’ नाटकको प्रदर्शन र अन्य कार्यक्रमसहित उनले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत लगायत देश देख्ने मौका पाएको बताउँछिन् । त्यो बाहेक उनले दर्जन बढी नाटकमा काम गरिन् ।

सधैं फूर्तिली लक्ष्मी भन्छिन्, ‘फरक भूमिका गर्न मन छ’

लक्ष्मी प्रायः चलचित्रमा ‘हक्की’ अनि ‘छुच्ची’ आमा वा हजुरआमाको भूमिकामा देखिएकी छिन् । उनी रियलमा पनि उस्तै हक्की अनि उर्जावान लाग्छिन् । त्यसबारे लक्ष्मी भन्छिन्, ‘सराकारत्मक सोच राख्ने, मनमा आँट अनि साँच्चिकै सहयोगी भावना नै मेरो उर्जाको कारण हो ।’

पुरानादेखि नयाँ प्रायः धेरै निर्देशकसँग काम गरेकी लक्ष्मी चलचित्रमा अलि फरक खालको भूमिका गर्न मन रहेको पराउँछिन् ।

‘यहाँ त एउटामा एक खालको भूमिका आयो भने अरु निर्माताहरू त्यही खालको भूमिकामा अफर गर्छन्,’ भन्छिन्, ‘तर मलाई अलि फरक भूमिका निर्वाह गर्ने मन छ । चलचित्रमा मैले निभ्याएको भूमिकाले अरुलाई प्रेरणा मिलोस् ।’
पहिले र अहिले चलचित्र क्षेत्रमा धेरै परिवर्तन आएको लक्ष्मी बताउँछिन् । सबैभन्दा ठूलो परिवर्तन प्रविधिमा आएको उनको बुझाइ छ । 

पछिल्लो समय कलाकारिता क्षेत्रमा लाग्नेको संख्या पनि उल्लेख्य छ । राम्रो गर्न सक्यो भने बाँच्न सक्ने आधार प्रशस्त रहेको उनी बताउँछिन् । लक्ष्मी वर्षमा सरदर ४ वटा नेपाली चलचित्रमा अभिनय गरिरहेकी हुन्छिन् । नेपालीबाहेक लक्ष्मी नेवारी, भोजपुरी, मैथली भाषाका चलचित्रमा समेत अभिनय गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्