काठमाडौं - नेकपा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले एकाध बाहेकका समूहसँग वार्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।
समितिले विहीवार राजधानीमा पत्रकार सम्मेलन गरी मुलुक द्वन्द्वरत अवस्थामा नरहेको निष्कर्ष सार्वजनिक गरेको हो ।
'विगतका द्वन्द्वरत समूहको गतिविधिलाई मसिनो गरी अध्ययन गर्दा अर्ध-भूमिगत रूपमा रही केही हिंसात्मक र गैरकानूनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूह विगतका क्रियाकलाप परित्याग गरी मूलधारका राजनीतिक प्रक्रियामा समावेश भइसकेकाले हाल मुलुक द्वन्द्वरत अवस्थामा देखिँदैन,' पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, 'अत: एकाध समूहबाहेक अरूसँग थप वार्ता वा संवाद गरिरहनुपर्ने देखिँदैन ।'
समितिले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने प्रयास भने असफल भएको जानकारी दिएको छ ।
'नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग यस वार्ता टोलीको तर्फबाट संयोजक र सदस्यहरूले अनौपचारिक रूपमा केन्द्रीय स्तरका नेताहरूसँग धेरैपटक संवाद गरेता पनि उक्त समूहले वार्ताका लागि सकारात्मक अग्रसरता नलिएको हुँदा सो समूहसँगको वार्ता प्रक्रिया अघि बढ्न सकेन यद्यपि आगामी दिनमा सो समूहसँग समेत संवादको प्रक्रियालाई निरन्तरता दिनुका साथै उक्त समूहका अवैधानिक गतिविधि नियन्त्रण गरी कानून कार्यान्वयन प्रक्रियालाई कडाइका साथ अघि बढाउनु उपयुक्त हुने देखिन्छ,' विज्ञप्तिमा भनिएको छ ।
सीके राउतसँग भने समितेले वार्ताको प्रयास नै नगरेको जनाएको छ । ‘नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता, अखण्डतालगायत संविधान तथा राज्यविरुद्धका गतिविधि गर्ने सीके राउत समूहसँगको वार्ता यस टोलीको कार्यादेशभित्र नपर्ने हुँदा त्यस समूहसँग वार्ता गर्न उपयुक्त देखिएन,’ समितिले उल्लेख गरेको छ ।
समितिले विभिन्न २३ वटा समूहसँग वार्ता गरेको र जसमध्ये ३ वटा समूहले आफूहरूकै रोहबरमा हतियार बुझाएर मूलधारको राजनीतिक प्रक्रियामा सहभागी भएको जनाएको छ ।