
काठमाडौं – कलाकार सन्तोष पन्त नेपाली टेलिभिजन दर्शकका लागि एक अविस्मरणीय पात्र हुन् । उनले नेपाल टेलिभिजनमा टेलिसिरियल ‘हिजोआजका कुरा’ ५ सय ६५ भाग निरन्तर चलाए ।
त्यसैले पनि पुराना दर्शकमाझ ‘हिजोआजका कुरा’ र सन्तोष पन्त पर्यायजस्तै हो । सन्तोष चलचित्रमा नदेखिएका होइनन् । भर्खर पनि उनी अभिनित चलचित्र ‘चौकादाउ’ प्रदर्शनमा आयो । तर दर्शक सन्तोषलाई ‘हिजोआजका कुरा’बाटै चिन्छन् अहिलेको पुस्ताबाहेक ।
उनै ५९ वर्षीय पन्तको कलाकारिताबारे जान्न उनको घर खोज्दै गत सोमवार हामी काठमाडौं धापासी हाइट पुग्यौं । कृष्ण मन्दिर पुगेर फोन गर्नेवित्तिकै उनी त्यही झुल्किए । मर्निङ वाकबाट फर्कंदै रहेछन् सन्तोष ।
‘गर्मी मौसममा अलि चाँडै निस्केपनि जाडोमा घरबाट निस्कँदा साढे ७–८ बजिसक्छ । फर्कदा यतिबेला हुन्छ,’ उनले भने । ५९ वर्षीय कलाकार सन्तोषको जोश अहिले पनि कुनै तन्नेरीभन्दा कम देखिँदैन ।
कुराकानी गर्दै मन्दिरबाट ५ मिनेटको दूरीमा रहेको उनको घर पुग्यौं । बिहानको पारिलो घामले घरबाहिरको खुला स्थान ओगट्दै थियो ।
उनले आग्रह गरे, ‘यही बाहिर घाममै बसेर कुराकानी गरौं न !’ पारिलो घाममै बसेर उनको कलाकारिता यात्राबारे कुराकानी गर्यौं । कुराकानीका क्रममा उनी शुरूवातमा आफ्नो बाल्यकालमा फर्किए ।
३ वर्षमै स्टेज, ७ वर्षको उमेरमा राजाबाट तक्मा
काठमाडौं नयाँबजारमा जन्मेका सन्तोष आफूलाई जन्मजात कलाकार मान्छन् । ‘मेरो रगतमै कलाकारिता छ । तर म आफू कसरी कलाकार भएँ त्यसको जवाफ मसँग छैन,’ सन्तोष भन्छन् ।
सीडीयो बुवा बन्धु, काका गोपालराज, दाई माधवराज लगायतको साथ र हौसलाले आफूलाई कलाकारितामा लाग्न गाह्रो नभएको सन्तोषले बताउँछन् । ३ वर्षको उमेरमा सन्तोष ल्याब्रोटरी स्कूल भर्ना भए । ‘स्कूलको वार्षिकोत्सवमा ‘फुच्चे’ उमेरमै उनी स्टेज चढें, त्यो पनि तत्कालीन युवराज वीरेन्द्रको अगाडि,’ उनले सुनाए, ‘दाईले तातेताते गराउँदै स्टेज चढाउनुभयो । चुच्चे टोपी, कट्टु, टी–सर्ट लगाएर प्रस्तुती दिएपछि पुरस्कार पाएको कता–कता सम्झना आउँछ ।’
७ वर्षको उमेरमा सन्तोषले राष्ट्रिय नाचघरमा ‘मोनो एक्ट’ गरेबापत राजा महेन्द्रको हातबाट तक्मा पाए । ‘दाईले मोनोएक्ट लेखिदिनुभएको थियो । मैले राजाको अगाडि प्रस्तुती दिएको थिए,’ सन्तोष भन्छन् ।
गाईजात्रामा लगातार उत्कृष्ट
२०३३ सालबाट काठमाडौंमा शुरू गरिएको गाईजात्रे कार्यक्रमले धेरै हाँस्य कलाकार जन्माएको छ । सन्तोष स्कूलका कार्यक्रममा भाग लिन्थे । २०३४ सालबाट गाईजात्रे कार्यक्रममा पनि भाग लिन थाले ।
लक्ष्मण लोहनी, भीमनिधि तिवारी, हरिहर शर्मा, यादव खरेल लगायत दिग्गज कलाकारसामु १६–१७ वर्षीय ठिटो सन्तोष उत्कृष्ट ठहरिन् थाल्यो । ‘१–२ वर्ष होइन, लगातार १० वर्ष (२०४४ सालसम्म) उत्कृष्ट भएर पुरस्कार पाएँ,’ सन्तोष भन्छन्, ‘त्यो बेला चोकचोकमा गरिने गाईजात्रे कार्यक्रम हेर्नका लागि दर्शकको बाक्लो भीड हुन्थ्यो ।’ गाईजात्राले धेरै हाँस्य कलाकार उत्पादन गर्नुका साथै कलाकारलाई चिनाएको सन्तोष बताउँछन् ।
दरबारदेखि छाप्रोसम्म रुचाइयो ‘हिजोआजका कुरा’
सन्तोष गाईजात्रा कार्यक्रममा सहभागी हुँदै गए । २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भयो । त्योसँगै उनी टेलिभिजन कार्यक्रममा पनि सक्रिय रहे ।
नेपाल टेलिभिजनमा यस्तै हुन्छ, अप्रिलफूल, शिवकली, दोषी को ?, कठै, लौ आयो, भाले भिडन्त, नरिसाउनुस् है, मित बा लगायतका टेलिसिरियल गरे उनले । त्यसपश्चात् २०५३ सालताका ‘आजभोलिका कुरा’ टेलिसिरियल सञ्चालनमा ल्याए ।

त्यो कार्यक्रम पाक्षिक रुपमा प्रसारण हुन्थ्यो । ‘पछि राजा वीरेन्द्रको आग्रहमा टेलिसिरियल साप्ताहिक भयो,’ सन्तोष भन्छन्, ‘कार्यक्रमको नाम पनि ‘हिजोआजका कुरा’ भयो ।’ समाजको वास्तविकतालाई उतारिएको कार्यक्रमको लोकप्रियता शुरूवातदेखि नै बढ्दै गयो । दरबारदेखी झुपडीसम्म ‘हिजोआजका कुरा’ रुचाइयो ।
कार्यक्रमको लोकप्रियतासँगै हरेक सोमवार उनको घरअगाडि कलाकार बन्न चाहनेको लाइन लाग्न थाल्यो । सन्तोष उनीहरूको अडिसन लिन्थे र छानिएका सबैको फोटो र फोन नम्बर टिप्न लगाउँथे र आवश्यकता अनुसार बोलाउँथे । ‘हिजोआजका कुरा’ मार्फत् धेरै कलाकारहरुले ‘प्लेटफर्म’ पाए । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बूढा), जितु नेपाल, दमन रुपाखेती उनकै उत्पादन हुन् ।
सबैले रुचाएकै कारण ‘हिजोआजका कुरा’ ५ सय ६५ भाग निरन्तर चल्यो । राजनीतिक कारणले २०६३ सालमा टेलिसिरियल बन्द भयो । त्यसको ३ वर्षपछि त्यो कार्यक्रम १ सय १४ भाग कान्तिपुर टेलिभिजनबाट पनि प्रशारण भयो ।
८ बजेपछि शहरका ढोका बन्द हुन्थे
‘हिजोआजका कुरा’को लोकप्रियता एकएक चुलियो । त्यो बेला अहिलेजस्तो टेलिभिजन थिएनन् । त्यसैले पनि टेलिसिरियलको विकल्प थिएन । सन्तोष सम्झन्छन्, ‘सिरियल हेर्न भनेर साँझ ८ बजेपछि शहरका ढोकाहरू बन्द हुन्थे ।’
टेलिसिरियलको लोकप्रियताबारे सन्तोष थप्छन्, ‘त्यो बेला राजाले ‘आई इञ्जोय योर प्रोग्राम’ भन्नुहुन्थो । केही समय अगाडि मुस्ताङ गएको थिए, त्यहाँ पनि एक जना भरियाले हिजोआज, हिजोआज भन्दै थिए ।’ आफ्नो टेलिसिरियलले त्यो छाप छाड्नसक्नु आफ्नो लागि गर्वको कुरा भएको उनी बताउँछन् ।
विद्रोहीले मार्छु भनेपछि ...
सन्तोष पन्त नेपाली सेनाका जागिरे हुन् । २०४० सालदेखि २०७२ सालसम्म उनी नेपाली सेनामा रहे । सहसेनानी (क्याप्टेन) का रुपमा ३२ वर्षे अनिवार्य अवकाश पाएका सन्तोष त्यहाँ रहेर सिरियल निर्माण गर्थे, अहिले पनि गर्छन् ।
‘माटोले माग्दैन आफैंले दिनुपर्छ’ सिरियल ४२ वटा टेलिभिजनबाट प्रसारण हुन्छ । त्यही कार्यक्रम निर्माणको क्रममा उनले माओवादीबाट ज्यान लिने धम्की समेत आएको बताउँछन् ।
कुरा २०६० सालतिरको हो । द्वन्द्वकालमा सैनिक कार्यक्रममा माओवादीका केही कमजोरी पक्ष देखाएपछि उनलाई सेनाको जागिर नछाडे मार्ने उर्दी आयो । उनी सम्झन्छन्, ‘सेनाले माओवादीका केही मानिसहरू थुनेर राखेको थिए । मैले उनीहरू कसरी माओवादी बने ? अन्तर्वार्ता लिएर कार्यक्रममा देखाएको थिए । त्यो मैले बनाएको थिएन, सत्य घटना थियो । त्यो कार्यक्रम प्रसारण भएपश्चात् जागिर नछाडे ज्यान लिने धम्की आयो ।’
सन्तोषको परिवार साह्रै डराए, तर सन्तोष डराएनन् । उनले जुक्ति लगाए राजीनामा दिएको भनेर । ‘मैले राजीनामा दिएझैं गरे । केही समय सेनाको कार्यक्रम बनाइनँ,’ सन्तोष भन्छन् ।
केही समयपछि उनले पुनः कार्यक्रम बनाएर प्रसारण गर्न थाले । हिजोआज पनि सन्तोष नेपाली सेनाको कार्यक्रम बनाउनमा व्यस्त छन् । नेपाली सेनाको सदस्य हुन पाउनु गर्वको कुरा भएको सन्तोष बताउँछन् ।
वास्तविक अभिनयबाट दर्शक हसाउनुपर्छ
सन्तोष अभिनयबाटै कमेडी झल्किनुपर्ने बताउँछन् । अर्थात् उनी वास्तविक अभिनयमा विश्वास गर्छन् । ‘पहिले–पहिलेको अभिनय वास्तविक थियो,’ सन्तोष दुःखेसो पोख्छन्, ‘अहिले धेरै विकृति आएको छ ।’ हसाउन भन्दै रुप परिवर्तन गर्ने, मुख बंग्याउने, तथानाम गाली गर्ने, अश्लिल शब्द बोल्ने प्रचलन बढेकोमा उनको चिन्ता छ ।
‘अहिले क्षणिक हाँसो हाँस्यो बिर्स्यो, मानिसहरू पुराना टेलिसिरियलबारे अहिले पनि किन कुरा गर्छन् त ?’ सन्तोष भन्छन्, ‘त्यसको कारण भनेकै पहिले वास्तविक अभिनय गरेर दर्शक हसाउने प्रचलन थियो ।’ सन्तोष हाँस्य टेलिसिरियल कार्यक्रममा सेन्सरसिपको खाँचो औल्याउँछन् ।
उनी आफू सधै वास्तविक अभिनयलाई अवलम्बन गरेको बताउँछन् । भन्छन्, ‘म लोकप्रियताको नाममा उत्ताउलो र सस्ता सामग्री पस्किन र पस्किन्न सक्दिनँ पनि ।’
टेलिभिजनले बोलाउँछ भने फेरि सिरियल गर्ने रहर छ
सन्तोष टेलिभिजनमा काम गर्दा आफूलाई छुट्टै आनन्द मिल्ने बताउँछन् । त्यसैले अहिले पनि आफूमा ‘हिजोआजका कुरा’ जस्तो टेलिसिरियल गर्ने रहर नमरेको बताउँछन् ।
‘मैले त्यो बेला नेपाली दर्शकलाई नयाँ स्वाद पस्केको थिएँ, जुन कुरालाई दर्शकले पनि अत्याधिक रुचाउनुभएको थियो,’ सन्तोष भन्छन्, ‘अहिले नयाँ पुस्ताका दर्शकलाई सामाजिक कटाक्षमार्फत् केही सन्देश दिने, मार्गनिर्देशन गर्ने खालको सिरियल बनाउने इच्छा छ ।’ उनले नेपाल टेलिभिजनले बोलाएको खण्डमा आफू सकारात्मक रहेको बताउँछन् ।
‘तर अहिले गाह्रो छ । पहिला हामी टेलिसिरियल बनाउँथ्यौं । हामीलाई यति पैसा दिने भनेर टेलिभिजनले भन्थ्यो । टेलिभिजनले व्यापार गथ्र्यो,’ सन्तोष भन्छन्, ‘अहिले त समय किन्नुपर्ने नियम बनाएको छ । आफूले बाहिरबाट व्यापार लिएर कार्यक्रम गर्न मबाट सम्भव छैन ।’
त्यसबाहेक सन्तोष नेपाली चलचित्र निर्माण गर्ने सोचमा छन् । ‘मेरो छोरो अस्टे«लियामा फिल्मकै विषयमा पढेर आएको छ । मेरो भतिज पनि फिल्म लाइन नै पढेको हो । मिलेर राम्रो कथामा फिल्म बनाऔं भनिरहेका छन्,’ सन्तोष योजना सुनाउँछन् ।