१७ असार २०८३, बुधबार

भावनाको दमनले जन्माउने दुष्परिणाम

कात्तिक २०, २०७४
भावनाको दमनले जन्माउने दुष्परिणाम
विपरीतलिङ्गीप्रति जाग्ने माया अवचतेन मनमा उब्जिने एउटा वासनात्मक भाव हो । यस भावलाई चेतनबाट उब्जिने तर्क, विचार आदिले रोक्न गाह्रो हुन्छ । प्रायः जसो डिप्रेसनको समस्या भएकाहरूलाई त्यसबाट उम्किने तरिका थाहा भएपनि उम्कन नसके जस्तै हो यो ।Namrata Reviewer Roshan Dahal

तिब्बतका केही साधकहरूले यस्तो भावलाई हटाउन एउटा प्रयोग गर्छन् जसअनुसार साधक या साधिकाले कुनै आकर्षक विपरीतलिङ्गीको कल्पना गर्छन् । उसको शरीरबाट निस्कने फोहोरहरू – दिसा, पिसाब, सिँगान, थुक आदि भावमा ल्याउँछन् । कल्पनामै उसको शरीरलाई टुक्रा–टुक्रा पारेर हेर्छन् । यसरी उनीहरू उसप्रतिको आकर्षण हटाउने प्रयास गर्छन् । केही समयको प्रयासपछि साधक–साधिकाभित्र रहेको वासना हटेर जान्छ । वासना पूरा गर्ने इच्छा तिरोहित हुन्छ । त्यसपछि जे जन्मिन्छ, त्यो प्रेम हो भन्छन् उनीहरू ।

महाभारत कथामा पनि एउटा प्रसङ्ग आउँछ – कुन्ती अत्यन्तै सुन्दर हुन्छिन् । एकपटक उनको माइला छोरा युधिष्ठिरसँग सोधिन्छ, ‘तपाईंकी आमा यति सुन्दर हुनुहुन्छ, उहाँलाई देखेर के तपाईंमा कामवासना जाग्दैन ?’ युधिष्ठिरले उत्तर दिन्छन्, ‘जाग्छ, तर म विवेकको प्रयोग गर्छु ।’

विवेक प्रयोग गर्नु सामान्य मानिसको वशको कुरा होइन । त्यही विवेकको प्रयोग गर्न नसकेर मायाकै कारण अन्धकारमय जीवन बिताउन बाध्य बनेकी एक युवतीको मुख्य कथा बोकेको छ कृष्ण अविरलको उपन्यास ‘नम्रता’ ले ।

उपन्यासमा नम्रता नाम गरेकी मुख्य पात्र छिन् । उनी सानैदेखि अति लजालु स्वभावकी हुन्छिन् । चाहिनेभन्दा बढी । प्रायः कसैसँग बोल्न सक्दिनन् । एउटा अपरिचित केटालाई बाटोमा देख्दासमेत भाग्छिन् । बाटोमा एउटा कपी भेट्दाको सामान्य घटनामा समेत उनी एक हिसाबले समस्याग्रस्त बन्न पुग्छिन् । यहीँबाट कताकता भविष्यमा उनी मानसिक रोगी बन्ने लक्षण देखिन्छ ।

स्वाभाविकै हो, बोलेर खुल्न नसक्ने मानिसमा भावको प्रबलता हुन्छ । त्यो भाव पोख्ने माध्यम भएन भने ऊ छट्पटिन्छ ।

नम्रताले गोविन्द नाम गरेको एउटा केटालाई मन पराउँछिन् । गोविन्द आर्थिक दृष्टिकोणमा उनको हैसियतभन्दा निकै कमजोर मानिस हो । नम्रता भने सम्पन्न परिवारकी हुन्छिन् । उनका बुबा खडानन्द जिल्लाका पञ्च हुन्छन् । एकपटक जिल्ला पञ्चायतमा क्षेत्रीय सदस्य पनि भएका हुन्छन् । सामाजिक तथा आर्थिक दूरी भएपनि विभिन्न बहानामा नम्रता र गोविन्दले एक–अर्कालाई माया गर्न थाल्छन् ।
यहाँ ‘प्रेम’ भन्ने शब्द राख्न उचित लागेन मलाई । प्रेम मानिस मानसिक रूपमा स्वस्थ अवस्थामा रहँदा जन्मिन्छ । त्यस अवस्थामा प्राप्तिको आशा हुँदैन । स्वार्थ लुकेको हुँदैन । तर गोविन्द र नम्रतामा एउटा ठूलो स्वार्थ लुकेको छ, एक–अर्कालाई पाउने ।

यहीँनेर पुस्तककै एउटा प्रसङ्ग जोड्न मन लाग्यो – गोविन्दलाई एकपटक देख्दैमा नम्रताको पूरै दैनिकी बिग्रिन्छ । जबकि उनले गोविन्दलाई राम्रोसँग हेरेकी समेत हुन्नन् । यो प्रसङ्ग अलि अस्वाभाविक लाग्छ ।

अनि कथा अगाडि बढ्दै जान्छ । नम्रताको बुबाले यस सम्बन्धको बारेमा थाहा पाउँछन् । उनले गोविन्दको बारेमा बुझ्ने प्रयास गर्दैनन् । बरू छोरीलाई काबूमा राख्ने प्रयास गर्छन् । उनलाई आफ्नो इज्जत अति प्यारो हुन्छ ।

तर उनले छोरीलाई जति बाँधेर राख्न खोज्छन्, नम्रता त्यत्ति नै फुस्किन खोज्छिन् । विभिन्न बहानामा गोविन्दलाई भेटिरहन्छिन् । बुबाको पिटाइले उनलाई रोक्न सक्दैन । उनले आफ्नै तरिकाले विद्रोह गरिरहन्छिन् । केही नलागेपछि खडानन्दले छोरीलाई एउटा अँध्यारो कोठामा थुनिदिन्छन् ।

उता गोविन्द आफ्नै समस्यामा अल्झिएको हुन्छ । उसको प्रमुख समस्या गरीबी हुन्छ । आफूले नम्रतालाई चाहेर पनि अँगाल्न नसक्ने उसले बुझ्दै जान्छ । नम्रताका बुबाले अन्य दुईजना सहयोगीसहित गएर गोविन्दको परिवारलाई धम्क्याउँछन् । त्यसपछि गोविन्दले आफ्नो मायाको भावलाई केही गरेर देखाउने भावमा बदल्छ । शुरुमा त उसले कानूनविपरीत काम गर्छ । पछि शिक्षक बन्छ ।

यता नम्रताले आफ्नो भाव बदल्ने ठाउँ पाउँदिनन् । भाव पोखेर हल्का हुने ठाउँ पनि पाउँदिनन् । उनकी आमाले उनलाई खडानन्दको दुर्व्यवहारबाट जोगाउन त खोज्छिन् तर सक्दिनन् । आमा आफैं पनि श्रीमानबाट प्रताडित हुन्छिन् ।

अति दबाबमा परेको कारण नम्रताको चेतन मनले बिस्तारै कम काम गर्दै जान्छ । अन्ततः उनी आफ्नो गुहु, सिँगान र खानेकुरामा भिन्नता छुट्ट्याउन नसक्ने अवस्थामा पुग्छिन् । बेला–बेलामा उनको उपचार पनि गरिन्छ । उनी सुध्रेकी जस्ती पनि देखिन्छिन् । तर फेरि समस्याग्रस्त अवस्थामै पुग्छिन् । बुबा–आमाले उनलाई माया त गर्छन् तर आफ्नै हिसाबले । छोरीको भावनालाई बुझ्ने प्रयास भने उनीहरू कहिल्यै गर्दैनन् ।

उनको घर नजिकै एक महिला नेतृको घर हुन्छ । रेडक्रसको कार्यालय पनि हुन्छ । छिमेकीहरू सबैलाई नम्रताको अवस्था थाहा हुन्छ, तर सहयोग कसैले गर्दैनन् ।
जसलाई पाउने चाहनाले नम्रता पिल्सिरहन्छिन्, उसले (गोविन्दले) विवाह गर्छ । गोविन्द उज्यालोमा गइरहँदा नम्रता झन्–झन् अँध्यारोमा पुग्छिन् ।

उपन्यासको मोटामोटी कथा यत्ति हो । समग्रमा उपन्यास राम्रो छ । पाना पल्टिँदै गएपछि भाषा मिठासपूर्ण लाग्छ । बीचमै छोड्न मन लाग्दैन । पुस्तकमा प्रवेश गर्ने बेलामा भने पाठकलाई अलि गाह्रो अनुभव हुन्छ । हिँड्दाखेरी ठेस लागेजस्तो ।Namrata-cover

अति व्याख्या भनौं या साहित्यिक बनाउन खोजिएको कारणले होला, कथा शुरुमा सरर अगाडि बढ्न अलि अप्ठ्यारो मान्छ । मैले यस विषयमा लेखकसँग प्रश्न पनि गरेको थिएँ । उनले पूर्वेली शैली भन्ने उत्तर दिए । अलि अगाडि बढेपछि भने यस्तो समस्या त्यत्ति देखिँदैन ।

सम्पादन गर्ने क्रममा अलिअलि त्रुटि भएका छन् । जस्तै, खडानन्द र उनका भान्जा–भाइले गोविन्दले बाबुआमालाई पालैपालो धम्क्याए । (पेज नं. २३१) । गोविन्दको हुनुपर्थ्यो ।

यस पुस्तकबाट शिक्षा लिने उद्देश्य खोज्नु चाहिँ पाठककै कमजोरी हुन जानेछ । हो, पञ्चायतकालीन नेपालका धेरै कुराहरू थाहा पाइन्छन् यो पढेर । विसं २०४०–५० को दशकको कथा छ यसमा । त्यसबेला र अहिलेको अवस्थामा फरक हुने भएकोले पाठै सिक्न चाहिँ सकिन्न कि ?

salt training

कमेन्ट गर्नुहोस्