
काठमाडौं- पछिल्लो समय गीतको लोकप्रियता मापन गर्ने मुख्य आधार बनेको छ, युटयुब ।
युट्युबमा नेपाली गीतले करोड भ्यूज पाउनुलाई सफलता मानिँदै आएको छ । तर त्यो सफलता हासिल गर्न त्यति सजिलो भने पक्कै छैन । नेपाली चलचित्रका गीतले करोड भ्यूज पाउने क्रम बढेपनि लोकदोहोरीमा कमै मात्र गीतले करोड बढी भ्यूज पाएका छन् । हालसम्म तीन नेपाली लोकगीतले मात्रै करोड बढी भ्यूज पाएका छन् ।
'बोल माया' बोलको गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएपछि 'करोड क्लब'मा पुग्ने गीतको संख्या तीन पुगेको हो । यसअघि ‘उही खोलीमा पानी’ र ‘सालको पात टपरी’ले युटयुबमा करोड बढी भ्यूज पाइसकेका छन् ।
स्रोता/दर्शकले अत्याधिक रुचाएको ‘बोल माया’ गीतले सार्वजनिक भएको ८ महिनामा युट्युबमा करोड बढी भ्यूज पाएको हो । गायक तथा मोडल प्रकाश सपूतको शब्द, संगीत तथा भिडियो निर्देशनमा तयार गीतमा नारायण रायमाझी, प्रकाश सपूत र शान्तिश्री परियारको स्वर छ । गीतको भिडियोमा प्रकाशसँगै अञ्जली अधिकारीको जीवन्त फिचर रहेको छ ।
गायक तथा मोडल प्रकाशले गीतले एक करोड भ्यूज पाउँदा त्यसको खुशी सबै दर्शक स्रोता तथा संगीतकर्मीसामु बाँडन चाहेको बताएका छन् । वैदेशिक रोजगारीको पीडालाई समेटिएको गीतले धेरै नेपालीलाई भावुक बनाएको थियो ।
युट्युबमा 'करोड क्लब'मा सबैभन्दा पहिले पुग्ने लोकगीत भने ‘उही खोलीमा पानी’ हो । २ वर्ष अगाडि सार्वजनिक गीतले हालसम्म युट्युबमा १ करोड १५ लाख बढी भ्यूज पाएको छ । सार्वजनिक यो गीतलाई राजन गुरुङ र देवी घर्तीले गाएका हुन् । गीतमा केशव पौडेलको शब्द तथा बसन्त थापाको संगीत रहेको छ । बब्बु थापाको निर्देशित भिडियोमा राजन गुरुङ, रश्मी तामाङ, बसन्त थापा र करिश्मा ढकालको अभिनय रहेको छ ।
त्यस्तै युट्युबमा सर्वाधिक हेरिने लोक दोहोरी गीत हो- ‘सालको पात टपरी’ । ६ महिना बित्न नपाउँदै गीतले युट्युबमा ३ करोड ३ लाख बढी भ्यूज पाइसकेको छ । नवराज पन्तको शब्द रहेको गीतमा बसन्त थापाले संगीत भरेका छन् । गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ । शिव विकले निर्देशन गरेको भिडियोमा कुलेन्द्र र बसन्तसँगै अभिनेत्री मरिष्का पोखरेलको अभिनय रहेको छ ।
यी गीतको लोकप्रियतासँगै लोकदोहोरी भनेर नाक खुम्च्याउने स्रोता/दर्शक पनि लोकदोहोरीप्रति आकर्षित हुन थालेका छन् । अहिले पनि यी गीत सर्वत्र गुञ्जिरहेको छ ।