२५ जेठ २०८३, सोमबार
राजधानीको सकस

जनतामाझ सांसदको प्रश्न : प्रदेश राजधानी कहाँ र नाम के ?

फागुन ७, २०७५
जनतामाझ सांसदको प्रश्न : प्रदेश राजधानी कहाँ र नाम के ?

बुटवल – ५ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिले काम थालेको छ ।

गठन भएको ७ महिनासम्म विभिन्न अल्झनमा रहेको समितिले बल्ल काम गर्न थालेको हो ।

आउँदो बिहीवारदेखि प्रदेश अन्तर्गत पर्ने १२ वटै जिल्लामा गएर सरोकारवाला निकाय, जनता, विभिन्न क्षेत्रका जानकारसँग सुझाव लिनेछ । राजधानी कहाँ बनाउने सम्बन्धमा ८ वटा र नाम के उपयुक्त हुन्छ भन्ने विषयमा ३ वटा सुझावका लागि प्रश्नावली तयार गरिएका छन् । समिति १५ सदस्यीय छ । 

प्रदेशसभा गठन भएको १ वर्ष पुगिसक्दा समेत राजधानी र नामाकरण कहिले टुंगो लाग्छ भन्ने अनिश्चित छ ।  

यस्ता छन् सोधिने प्रश्नहरू :-

– तपाईको विचारमा प्रदेशको राजधानी कुन स्थानमा उपयुक्त होला ?
– प्रदेश राजधानीका लागि प्रशासनिक सुगमता कस्तो हुनुपर्ला ?
– प्रदेशको राजधानीका लागि भूमि व्यवस्थापन कसरी गर्ने ?
– प्रदेश राजधानी क्षेत्रको जनघनत्व र वातावरणीय अनुकूलता कस्तो हुनुपर्ने ?
– प्रदेशको राजधानीका लागि भूमि संकेन्द्रण (ल्याण्ड पुलिङ) नीति कस्तो हुनुपर्ने ?
– प्रदेश राजधानीका लागि सामरिक सुरक्षा व्यवस्था कस्तो हुनुपर्ने ?
– प्रदेशको राजधानी कस्तो भौगोलिक अनुकूलतामा हुनुपर्छ ? 
– तपाईको केही सुझाव छ कि ?

यस्ता छन् नामाकरणका लागि ३ वटा प्रश्नहरू :-

– ऐतिहासिक आधार
– सामाजिक सांस्कृतिक आधार
– भौगोलिक आधार

३ प्रश्नमा ५–५ वटा गरी १५ वटा आधारहरू दिनुपर्नेछ ।
यी प्रश्नहरू जिल्लाका राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, अधिकारकर्मी र जिल्लामा क्रियाशील संघसंस्थाका प्रतिनिधिसमक्ष राखिने राजधानी र नामाकरण विशेष समितिका संयोजक दीपेन्द्रकुमार पुन मगरले जानकारी दिए ।
सुझाव संकलनका लागि ६ वटा टोली बनाइएको छ । एउटा टोलीमा २ जना रहनेछन् । टोलीमा कम्तिमा २ र बढीमा ३ जना रहेर २–२ वटा जिल्लाको सुझाव लिनेछन् । त्यसको लागि आउँदो फागुन १८ गतेसम्म संसद बैठक स्थागित गरिएको छ । 

कुन जिल्लाको को–को टोली जाँदैछन् ?

– रुपन्देही र नवलपरासी पश्चिममा सरस्वती गौतम र तेजबहादुर वली
– कपिलवस्तु र अर्घाखाँचीमा तारा जिसी र वैजनाथ कलवार 
– गुल्मी र पाल्पामा बाबुराम गौतम, सहसराम यादव र भुवनेश्वर चौधरी
– दाङ र प्युठानमा निर्मला क्षेत्री, नारायण आचार्य र कल्पना पाण्डे
– बाँके र बर्दियामा विष्णु पन्थी र तुलसी चौधरी
– रुकुम (पूर्व) र रोल्पामा वीरबहादुर राना र दिनेश पन्थी  

गत साउन २९ गते प्रदेश सभाको दोस्रो अधिवेशनको अन्तिम दिन गठित सुझाव संकलन समितिले बल्ल जिल्ला जाने तयारीमा लागेको हो । शुरूमा ३ महिनाभित्र जिल्ला–जिल्ला गएर सुझाव लिने भनिएको समितिले संयोजक नै तोक्न सकेन । त्यसपछि समितिमा सबै जिल्लाको प्रतिनिधित्व नभएको भन्दै संसददेखि विभिन्न फोरमहरूमा आवाज उठेपछि संसदबाटै समितिमा केही सदस्यहरू हेरफेर समेत गरिएको थियो ।

रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आचार्यको ठाउँमा बाँकेका बाबुराम गौतमलाई र बर्दियाका दिपेश थारुको ठाउँमा रुकुमका तेजबहादुर वलीलाई राखिएको थियो ।
सबै जिल्लाबाट आएका सुझावलाई समेटेर तयार गरिने प्रतिवेदनलाई भूगोलविद्, सुरक्षाविद् र मौसमविद्बाट रायसुझाव लिएर अन्तिम प्रतिवेदन बनाई प्रदेश सभामा पेश गरिने बताइएको छ ।

समितिका सदस्य विष्णु पन्थीले समयभित्र आफूहरू सुझाव संकलन गरिने बताए । ‘हामीलाई ९ दिनको समय छ । त्यसभित्र नै सबै जिल्लामा गएर सुझाव संकलन गरी ल्याउँछौ । अब यो विषय अगाडि बढ्यो,’ पन्थीले भने । राजधानीका विषयमा विवाद भएका अन्य देशमा गएर पनि ‘रिफ्रसमेन्ट’ लिने कि भन्नेबारे पनि कुरा बाहिर आएको छ । 

जिल्लाबाट आएको सुझाव ग्रहण गरेर अगाडि बढ्ने समितिको भनाइ छ । संवैधानिक व्यवस्था अनुसार भए सहमति नभए प्रदेश सभाको दुईतिहाइ बहुमतले प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लगाउन सकिने संवैधानिक व्यवस्था छन् । प्रदेश सभामा सत्तारूढ दलको दुईतिहाइ बहमुत छ । तर संसदमा मतदान हुँदा बुटवल क्षेत्रका सांसदहरूले बुटवललाई नै राजधानी हुनुपर्छ भन्ने र पश्चिम क्षेत्रका सांसदहरूले दाङ वा बाँके हुनुपर्छ भनेर मतदान गर्न सक्ने भएकाले दुईतिहाइले पनि काम नगर्ने सरकारको भित्रि बुझाइ देखिन्छ । 

तर प्रदेश राजधानी र नामाकरणको विषय टुंगो लगाउन मुख्यमन्त्री शंकर पोखरेलले चासो दिएका छैनन् । आफ्नो निर्वाचन क्षेत्र दाङतिर राजधानी बनाउने उनको इच्छा छ । जसले गर्दा प्रदेशको राजधानी कहाँ र के नाम रहन्छ भन्ने टुंगो छैन । अहिले प्रदेशको राजधानी बुटवल र दाङ कहाँ हुने चर्चा छ । 

यस्तो छ अंकगणित

प्रदेश सभामा जम्मा सांसद – ८७ 
नेकपा – ६१ (सभामुखसहित)
कांग्रेस – १९ 
संघीय समाजवादी फोरम – ५
राष्ट्रिय जनमोर्चा – १
राष्ट्रिय जनता पार्टी – १

salt training

कमेन्ट गर्नुहोस्