०८ असार २०८३, सोमबार

डेढ वर्षमा सकिनुपर्ने काम साढे चार वर्षमा ४० प्रतिशत मात्र, साढे ६ अर्बका ठेक्का रुग्ण

फागुन १४, २०७५
डेढ वर्षमा सकिनुपर्ने काम साढे चार वर्षमा ४० प्रतिशत मात्र, साढे ६ अर्बका ठेक्का रुग्ण

काठमाडौं – स्थानीय विकास विभागअन्तर्गत निर्माण हुन लागेको नवलपरासी र चितवन जोड्ने झोलुङ्गे पुल निर्माणको काम साढे ४ वर्षमा ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । ठेक्केदारसँगको सम्झौता अनुसार डेढ वर्षमा सकिनुपर्ने उक्त पुल निर्माणको काम साढे ४ वर्षमा ४० प्रतिशत मात्रै सम्पन्न भएको हो ।

सोही विभागअन्तर्गत निर्माण भइरहेको त्रिवेणी बाल्मिकी आश्रमको काम पनि साढे ४ वर्षमा ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । डेढ वर्षमा सकिनु पर्ने त्रिवेणी बाल्मिकी आश्रमको काम साढे ४ वर्ष बितिसक्दा पनि ४० प्रतिशत मात्रै सम्पन्न भएको पाइएको हो ।

झोलुङ्गे पुल र आश्रम निर्माणका लागि ठेकेदार र स्थानीय पूर्वाधार विभागबीच २०७० असार ३० गते सम्झौता भएको थियो । सो अनुसार दुवै आयोजना २०७१ पुस २९ भित्रै सम्पन्न हुनुपर्ने हो, तर काम आधा पनि सम्पन्न भएको छैन ।

दुवै आयोजना निर्माणका लागि ठेकेदारसँग ५ करोड ८७ लाख रुपैयाँमा सम्झौता भएको थियो । आयोजना निर्माणका लागि ७ करोड ७९ लाख रुपैयाँ लगानी लाग्ने त्यति बेला अनुमान गरिएको थियो ।

ती दुवै आयोजना निर्माणका लागि दमौलीको ‘गीता रुविना मिना’ जेभी नामक ठेकेदारसँग सम्झौता भएको थियो ।

विभागले गत कात्तिक २३ गते दुवै आयोजना ठेक्काको म्याद थप गरेको जानकारी दिएको छ ।

७७ प्रतिशत ठेक्का म्याद थप भएन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालित आयोजनाहरूमा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ प्रतिवेदन अनुसार सो विभाग अन्तर्गत निर्माणाधीन ९७ वटा आयोजनाको म्याद यसअघि नै सकिएको छ ।

म्याद सकिएका आयोजनामध्ये ७७ दशलमव ३२ प्रतिशत आयोजनाको म्याद समेत थप गरिएको छैन, र ती आयोजनाको काम समेत नसकिएको अख्तियार दुरुपयोग अनुसन्धान विभागले जानकारी दिएको छ ।

साढे ६ अर्बका आयोजना रुग्ण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय पूर्वाधार  विभाग अन्तर्गत साढे ६ अर्ब रुपैयाँ लगानीका ठेक्काहरू रुग्ण रहेको जानकारी दिएको छ । ६ अर्ब ६० करोड रुपैयाँ लगानी रहेका ९७ वटा आयोजना रुग्ण अवस्थामा रहेका आयोगको भनाइ रहेको छ ।

पढ्नुहोस्, यो पनि:
निरीह दुईतिहाइ सरकार : भाषण समृद्धिको, विकास निर्माणका आयोजना ठप्प !

संघअन्तर्गत सञ्चालित ठेक्कालाई बजेट वक्तव्यले प्रदेशमा हस्तान्तरण गरेको तर, समयमै हस्तान्तरण नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्णको सूचीमा समावेश गरेको संघीय मामिला तथा सामान्य प्रसासशन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संघ अन्तर्गत सञ्चालित आयोजना बजेट वक्तव्यले प्रदेशमा हस्तान्तरण गरेको तर, बजेट समयमै नपुक्दा रुग्णको सूचीमा परेको बताए । ‘रुग्णमा पर्नुको कारण चाहिँ बजेट वक्तव्यले आयोजनाहरू प्रदेशमा सारिदियो,’ उनले भने, ‘तर समयमै बजेट पुगेन ।’

५ वटा ठेक्का रद्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्ण औंल्याएपछि स्थानीय पूर्वाधार विभागले ५ वटा ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

संघअन्तर्गत सञ्चालित ५ वटा झोलुङ्गे पुलका ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयलका सचिव थपलियाले संघ अन्तर्गतका ५ वटा पुलका ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाइएको र त्यस बाहेकका आयोजनाको काम अघि बढिसकेको बताए ।

‘रद्द गर्ने भनिएका बाहेकका अन्य आयोजना अख्तियारले भनेजस्तै चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी आवश्यक प्रक्रिया अघि बढिसकेको छ,’ उनले लोकान्तरसँग भने ।

पढ्नुहोस्, यो पनि :
खानेपानीको चार अर्ब बराबरका ठेक्का अलपत्र, १७ आयोजना रुग्ण

salt training

कमेन्ट गर्नुहोस्