
काठमाडौं –खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत करीब ४ अर्ब रुपैयाँ बराबरका निर्माणाधीन आयोजना अलपत्र परेका छन् । विभागअन्तर्गत लामो सयमदेखि सञ्चालनमा रहेका ३ अर्ब ९० करोड रुपैयाँ बराबरका विभिन्न १७ आयोजनाको काम सयममै नसकिँदा ठेक्का अलपत्र परेका हुन् ।
सो विभाग अन्तर्गत नुवाकोट, नवलपरासी, चितवन, तनहुँ लगायतका विभिन्न जिल्लाका ३ अर्ब ९० करोड रुपैयाँ लगानीका आयोजना अलपत्र रहेका हुन् ।
८१ करोड ८ लाख रुपैयाँ लगानीमा ठेक्का सम्झौता भएको नुवाकोटको विदुर नगर खानेपानी आयोजना सम्पन्न हुनुपर्ने अवधि गत जुन ११ सम्मको रहेको थियो । तर सम्झौताको म्यादसहित ६ महिना नाघिसक्दा समेत उक्त आयोजनाको काम ८० प्रतिशत मात्रै भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त ठेक्कालाई रुग्ण घोषित गरेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले उक्त आयोजनाको निर्माणको काममा ढिलाइ भएको स्वीकार गर्दै निर्माण कार्य अघि बढिसकेको जानकारी दिएको छ ।
विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछानेले उक्त आयोजना निर्माणका क्रममा केही समस्या आएको र केही समय ढिलाइ भएपनि पछिल्लो समय निर्माण अकार्य अघि बढिसकेको बताए ।
‘गल्छी–रसुवागढी सडक विस्तार कार्यमा सडकको जग्गा मुआब्जा विवाद भएका कारण ३ किलोमिटर पाइपलाइनको काममा बाधा अड्चन आएको थियो,’ उनले लोकान्तरसँग भने, ‘आगामी मे २८ सम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौताको म्याद थपिएको छ । निर्माण कार्य भइरहेको छ र अबको ४ महिनामा उक्त काम सकिन्छ ।’
नवपरासीको तमसरिया नगर आयोजना गत मार्चमा नै सम्पन्न हुनुपर्ने सम्झौतामा थियो । ३० करोड ७८ लाख ठेक्का सम्झौता भएको उक्त आयोजनाको काम म्याद थप हुँदासम्म समेत ७६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
थपिएको म्याद अनुसार उक्त आयोजनाको काम गत १० तारिखमै सम्पन्न हुनुपर्ने थियो । खानेपानी विभागले उक्त आयोजनाको काम समेत निर्माणकै क्रममा रहेको र अबको तीन महिनामा काम सम्पन्न हुने प्रतिक्रिया दिएको छ । आंशिक रूपमा पानी परीक्षण भइरहेको विभागका सूचना अधिकारी लामिछानेको भनाइ थियो ।
तीन वर्षअघि सकिनुपर्ने अझै अपूरो
तनहुँको डुम्रे नगर आयोजना २०१६ डिसेम्बर ८ तारिखमै सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । १५ करोड २३ लाखमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको म्याद थप गर्दा समेत काम सम्पन्न भएको छैन । थप गरिएको म्याद अनुसार २०१७ को सेम्टेम्बर २८ तारिखमा उक्त आयोजना सम्पन्न हुनुपर्ने भएपनि ९५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
१७ वटा आयोजना रुग्ण
माथिका तीन आयोजना प्रतिनिधिमूलक उदारण मात्र हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता १७ वटा आयोजनालाई रुग्ण ठेक्काको सूचीमा राखेको छ ।
कुल १७ वटा रुग्ण आयोजनामध्ये विभिन्न १० वटा आयोजनाको ठेक्का सम्झौता समेत नभएको आयोगले जानकारी दिएको छ ।
खानेपानी विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने जस्तो रुग्ण ठेक्का भन्न नमिल्ने प्रतिक्रिया दिएको छ । विभागका सूचना अधिकारी लामिछानेले अख्तियारले भने जस्तो रुग्ण अवस्थामा कुनैपनि आयोजना नरहेको र सबै लगभग निर्माणको अन्तिम चरणमा रहेको बताए ।
त्यसको लागि सबै आयोजनाको अध्यावधिक अवस्थाको समीक्षा सहित निर्माण कार्य अघि बढाउने योजना बनाएको लामिछानेको भनाइ छ ।
पढ्नुहोस्, यो पनि :
निरीह दुईतिहाइ सरकार : भाषण समृद्धिको, विकास निर्माणका आयोजना ठप्प !