२६ जेठ २०८३, मंगलबार
सफलताका ८ वर्ष

नयाँ संकल्प– खोज पत्रकारितामा अझै निखार

बैशाख २४, २०८१
काठमाडौं
नयाँ संकल्प– खोज पत्रकारितामा अझै निखार

लोकान्तर सञ्चार प्रालिद्वारा प्रकाशित लोकान्तर डट्कम आफ्नो स्थापनाको आठौं वर्ष पूरा गरी आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा सबैभन्दा पहिला हाम्रा समस्त पाठक, शुभेच्छुक र विज्ञापनदाताप्रति आभार व्यक्त गर्न चाहन्छौं। आर्थिक हिसाबले मुलुक जर्जर बनेको र अनेक उतारचढावका बावजुद पनि विश्वसनीय र सन्तुलित समाचार सम्प्रेषण गर्ने अभियानमा लोकान्तर अहोरात्र जागा छ ।

बदलिँदो जीवनशैली, इन्टरनेट र सूचना प्रविधिका नयाँ–नयाँ आयाम तथा अनेकन विकल्पका कारण पाठकमा गम्भीर प्रकृतिका समाचार र सूचनाप्रति आकर्षण कम हुन थालेको टिप्पणी पनि नभएका होइनन्।

समाजमा अनेक फण्डा गर्ने, सस्तो लोकप्रियताका लागि चिच्याउँदै हिँड्नेहरूका 'भ्युज' बढिरहेका बखत कतिपयले अब पहिलाको जस्तो समाचार सामग्रीमा पाठकहरूको रुचि कम भइरहेको टिप्पणी गरे पनि हाम्रो अनुभवले के भन्छ भने अझै पनि विश्वसनीय समाचार सामग्री र विश्लेषणहरूमा रुचि राख्ने वर्गको संख्या ठूलो छ।

सामाजिक सञ्जाल र इन्टरनेटका विभिन्न प्लेटफर्मबाट सम्प्रेषण हुने सामग्री पत्रकारिताको न्यूनतम् सिद्धान्तभित्र नपर्न पनि सक्छन्। त्यसैले आमपाठक वर्गलाई विश्वसनीय, सन्तुलित, खोजमूलक सामग्री सम्प्रेषण गरिराख्नु जरुरी छ ।

पत्रकारिता समाजको पहरेदार र ऐना पनि हो। यो जिम्मेवारी सामाजिक सञ्जालबाट सम्प्रेषण हुने सूचनाले पूरा गर्न सक्दैनन् भन्नेमा हामी उत्तिकै स्पष्ट छौं । त्यसैले आजको आवश्यकता भनेको अझ बढी खोजमूलक, गहन, विश्लेषणात्मक र विश्वसनीय सूचना सम्प्रेषण नै हो । यो तथ्यलाई आत्मसात गर्दै हाम्रा आगामी पाइला त्यसै दिशातर्फ केन्द्रित हुने विश्वास आमपाठकलाई गराउन चाहन्छौं।

काम गर्ने क्रममा अनेक त्रुटि, अपरिपक्क क्रियाकलाप भएका हुन सक्छन्। त्यसबाट पाठ सिक्दै आगामी दिनमा अझै परिपक्व, अझै जिम्मेवारीयुक्त र विश्वसनीय सामग्री सम्प्रेषणमा ध्यान केन्द्रित गर्नेछौं ।

पाठक वर्गहरूमा बढिरहेको भिडियो सामग्रीप्रतिको आकर्षणलाई मनन गर्दै लोकान्तर टीभीमार्फत भिडियो सामग्री सम्प्रेषणमा हामी केन्द्रित हुनेछौं । यहाँहरूको निरन्तरको खबरदारी, शुभेच्छा र मार्ग निर्देशनबिना हामी आफ्नो गन्तव्यमा सही ढंगले नपुग्न पनि सक्छौं । त्यसैले हाम्रा हरेक सामग्रीमा प्राप्त हुने यहाँहरूका सुझाव, प्रतिक्रिया, आलोचना,  प्रशंसा,  गाली सबै हाम्रा लागि स्वीकार्य छन्।

स्वस्थ टिप्पणी र आलोचना हाम्रा लागि महत्त्वपूर्ण सवाल हुनेछन्। आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग पत्रकारितामा कसरी हुन्छ र त्यसले कस्तो असर गर्छ, त्यसको लेखाजोखा हुन बाँकी नै छ। त्यो पक्षलाई पनि ध्यानमा राख्दै लोकान्तर डट्कम अझै सशक्त ढंगले अगाडि बढ्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्