
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् ।
४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा सरकारबाट भए/गरेका नियमित कामको व्याख्या/बयान गरे ।
जनताले प्रत्यक्ष अनुभूत गर्ने खालको काम सरकारले एक वर्षमा गर्न सकेन । प्रचण्ड स्वयंले स्वीकार गरेका छन्– हुटहुटी अनुसारको परिणाम आएन ।
परिणाम आएन भनेपछि सरकार सफल भयो भन्न कसरी मिल्छ ? शपथको दिनदेखि नै तेस्रो कार्यकालमा केही नयाँ काम गर्ने उनले बताउँदै आएका थिए ।
प्रचण्डले पहिलो वर्ष प्रभावकारी नभएको निष्कर्षसहित कार्यशैली परिवर्तन गर्ने बताएका छन् । अपरिहार्य बाहेकका कार्यक्रममा नजाने उनले बताएका छन् । दिनमै तीनवटा कार्यक्रममा गएर समय खर्च गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो ।
राजनीतिक नेतृत्वको कार्यशैली अनुसार कर्मचारीतन्त्रले काम नगरेको सरकारका मन्त्रीहरूले गुनासो गर्दै आएका छन् । प्रचण्डले सिंगो राज्यसंयन्त्रलाई सन्देश दिनेगरी प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन यसै साता गर्ने बताएका छन् ।
एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बने पनि अहिले प्रचण्डले कांग्रेससँग सत्ता साझेदारी गरिरहेका छन् । गठबन्धन सरकार रहे पनि राजनीतिक स्थायित्वमा कुनै प्रश्न नरहेको र सरकार तानातानमा नरहेको उनले उल्लेख गरेका छन् । यदि यस्तो हो भने सरकारले किन जनअपेक्षा अनुसार काम गर्न सकेको छैन ? प्रचण्डले जवाफ दिन सकेका छैनन् ।
प्रचण्डले कामको जति व्याख्या बयान गरे पनि सर्वसाधारणले सरकारप्रति विश्वास गरिरहेका छैनन् । सरकारी अस्पतालको दुरावस्था र निजी अस्पतालमा पहुँच नभएका आमनागरिक तड्पिरहेका छन् । एउटा सामान्य शल्यक्रियाका लागि सरकारी अस्पतालमा महिनौं कुर्नुपर्ने बाध्यता छ । उपचार सुलभ गराउने कुरामा सरकारले एउटै काम गरेन, जुन नागरिकले प्रत्यक्ष अनुभूत गर्ने विषय हो ।
सम्बोधनमार्फत प्रचण्डले आजसम्मका सबै ऊर्जा र अनुभव खन्याएर राष्ट्रनिर्माणमा निर्णायक रूपमा होमिन तत्पर र प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रचण्डले पहिलो एक वर्ष उपलब्धिमूलक नभएको स्वीकारेका छन् । दोस्रो वर्षको जति समय उनी सरकारमा बस्छन्, त्यसलाई सम्भनलायक बनाउनतर्फ लागून् ।
कर्मकाण्डी कार्यशैलीले उनी असफल हुने मात्र होइन, देशको महत्त्वपूर्ण समय समेत बर्बाद हुनेछ ।