२६ जेठ २०८३, मंगलबार

सुरुङमार्ग : एउटा आशा जगाउने आयोजना

बैशाख ४, २०८१
काठमाडौं
सुरुङमार्ग : एउटा आशा जगाउने आयोजना

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिकारी लर्को लागेर गएबाटै यसको महत्त्व बुझ्न सकिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्विच थिचे पछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ छिचोलिएको हो । 

धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका– १ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । नागढुंगाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । सोमबार छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरूपमा सवारी आवागमन हुने आयोजनाले जनाएको छ ।

मात्र २ दशमलव ८ किमी लामो भएपनि यो सुरुङमार्ग नेपाली इन्जिनियरका लागि सिकाइको समेत कोशेढुंगा ठानिएको छ । 

सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम बाँकी रहेकाले सञ्चालनमा आउन झण्डै एक वर्ष लाग्नेछ । जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले ठेक्का पाएको सो सुरुङमार्ग निर्माणको कुल लागत झण्डै २२ अर्ब रुपैयाँ छ । 

सुरुङ ‘ब्रेक–थ्रु’ गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनोटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।

सुरुङमार्ग निर्माण भएपछि राजधानी काठमाडौं जोड्ने लाइफलाइन नागढुंगाको जामबाट यात्रुले मुक्ति पाउने छन् । दशकौं पहिलेको सवारी चापलाई मध्यनजर गरेर बनाइएको साँधुरो सडकले अहिलेको सवारी चाप धान्न सकेको थिएन । 

नागढुंगामा बनेको छोटो सुरुङमार्गले मुलुकको पूर्वाधार विकासमा नयाँ आशा दिएको छ । यसको प्रशंसा गरिराख्नेभन्दा यस्ता सुरुङमार्ग देशमा अन्य भागमा विस्तार गरेर पहाडी सडकलाई सुरक्षित र छोटो बनाउनु अहिलेको आवश्यकता हो । 
 

salt training

कमेन्ट गर्नुहोस्