२८ असार २०८३, आइतबार
इलाम २ को रुझान

२०८४ मा बहुमत ल्याउने रास्वपाको महत्त्वाकांक्षामा ठक्कर !

बैशाख १७, २०८१
काठमाडौं
२०८४ मा बहुमत ल्याउने रास्वपाको महत्त्वाकांक्षामा ठक्कर !

२०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्षतर्फ झण्डै बहुमत (२४० मध्ये १२०) सीटमा चुनाव जितेपछि माओवादी नेताहरूले अब २५ वर्ष पार्टीले देशमा शासन गर्ने बताएका थिए ।

देश एकप्रकारले माओवादीमय भएको थियो । राजधानी काठमाडौं उपत्यकाका १५ मध्ये १० सीट माओवादीले जितेको थियो ।

प्रचण्डको लोकप्रियताका कारण कांग्रेस र एमाले संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासकीय स्वरूपमा छलफल गर्न समेत तयार भएका थिएनन् ।

प्रचण्डको रापताप यस्तो थियो कि उनी प्रत्यक्ष कार्यकारी बने भने ‘राज्य कब्जा हुनेछ’ भन्ने भय कांग्रेस एमालेमा थियो । 

माओवादी हावी भएकै कारण पहिलो संविधानसभाले संविधान दिन सकेन । पहिलो चुनावमा पाएको अप्रत्यासित नतिजाले भुइँ छाडेको माओवादीले दोस्रो संविधानसभामा दुईतिहाइ ल्याउने महत्त्वाकांक्षा देखायो ।

दोस्रो संविधानसभा निर्वाचनअघि कांग्रेस–एमाले मात्र होइन, पूर्वपञ्चहरू समेत माओवादीतर्फ आकर्षित भए । माओवादी प्रवेशको लहर यति तीव्र थियो कि पेरिसडाँडामा प्रचण्डसँग रातो टीका लगाउनेको लाइन तीनकुने आइपुगेको थियो । 

२०७० सालको चुनावमा आइपुग्दा फराकिलो अन्तरसहित पहिलो स्थान (कांग्रेस एमाले जोड्दा पनि ठूलो)को माओवादी तेस्रो स्थानमा पुग्यो, लज्जास्पद पराजयसहित ।

माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं १० र बाबुराम भट्टराई रूपन्देही २ मा पराजित भए । पराजय छोप्न माओवादी नेताले सेनाले रातारात मतपेटिका साटेको आरोप लगाए । माओवादीहरूले धरातल छाडिसकेका थिए ।

२०६४ सालमा आएको माओवादीको उभारलाई हाल अध्यक्ष रहेका नेकपा एमालेका तत्कालीन नेता केपी शर्मा ओलीले खहरेको संज्ञा दिएका थिए । ०७० सालको चुनावमा माओवादीको वास्तविक परीक्षण भएको थियो । 

त्यसयताको चुनावमा माओवादीको तेस्रो स्थान कसैले खोसेको थिएन, गत चुनावमा तेस्रो स्थानका लागि नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग माओवादीको प्रतिस्पर्धा भयो ।

माओवादी ३२ सीटसहित प्रतिनिधि सभामा तेस्रो स्थानमा छ भने २१ सीटसहित रास्वपा चौथो स्थानमा छ ।

२०७९ सालमा पलाएको रास्वपाको महत्त्वाकांक्षा

कांग्रेस–एमाले र माओवादीसँग रुष्ट मतदाताले गत २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनमा नयाँ आएको दल रास्वपालाई मत दिए । 

राजधानी शहर काठमाडौं उपत्यकामै रास्वपाले ४ सीट जित्यो । चितवनमा २ सीट जित्यो । राजधानी काठमाडौंलगायत मध्यपहाडका सुगम क्षेत्रमा रास्वपाका पक्षमा एकप्रकारको जनलहर देखियो ।

कास्की, रूपन्देही, दाङलगायतका जिल्लामा रास्वपाका उम्मेदवारले उल्लेख्य मत पाएका थिए ।

२०८० सालको वैशाख १० गते चितवन र तनहुँमा पाएको अपार सफलतापछि रास्वपा सभापति रवि लामिछाने २०८४ सालको चुनावमा बहुमत ल्याउने महत्त्वाकांक्षासहित ‘मिसन ०८४’को नारा दिएर देशभर हिँडे ।

माओवादीको आधार इलाका रोल्पामा रवि लामिछाने गएको विषयले माओवादी घटकमा हल्लाखल्ला निम्त्यायो । २०७९ सालमा उदाएको रास्वपा सभापतिको ताप २०६४ पछिका प्रचण्डको भन्दा कम छैन ।

null

विगतमा माओवादीसँग त्रसित कांग्रेस–एमाले रास्वपासँग डराउने अवस्थामा पुगेका थिए । देशका मध्यपहाडमा रास्वपाप्रतिको आकर्षणले मूलधारका दलहरू झस्किएका थिए ।

तर, जनमत परीक्षणका लागि आधार मान्न सकिने इलाम २ को उपनिर्वाचनको प्रारम्भिक रुझानले २०८४ सालमा बहुमत ल्याउने रास्वपाको महत्त्वाकांक्षामा गम्भीर धक्का लाग्ने देखिएको छ । 

करिब ६९ हजार मत खसेकोमा अहिलेसम्म ४० प्रतिशत हाराहारीमा गणना भएको छ । अहिलेसम्मको गणनामा रास्वपा उम्मेदवार मिलन लिम्बू फराकिलो अन्तरले चौथो स्थानमा छन् ।

एमालेका सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै जाँदा कांग्रेसका डम्बरबहादुर खड्का र पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम दोस्रो र तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूले कुल गनिएको मतको १० प्रतिशत ल्याउन सकेका छैनन् । यही 'रेसियो' कायम रहे उनलाई जमानत जोगाउनै मुस्किल पर्ने देखिन्छ । त्यसो त इलाम बजार क्षेत्रको मत गन्न बाँकी रहेकाले रास्वपा नेताहरू थोरै आशावादी भने देखिन्छन् ।

चुनावअघि र पछि सार्वजनिक भएका प्रारम्भिक सर्वेक्षणले इलाममा रास्वपा तेस्रो स्थानमा रहने देखाएका थिए ।

इलामको चुनाव रास्वपाका लागि प्रतिष्ठाको लडाइँ भएको थियो । कोशी पूर्वमा रास्वपाले बिउ रोप्न खोजेको थियो, इलामको उर्भरभूमिमा । सुवास नेम्वाङ दिवंगत हुनुपूर्व रास्वपाले इलाममा गरेको सभामा उल्लेख्य सर्वसाधारण सहभागी भएका थिए । 

इलामको नतिजा आफ्नो पक्षमा पार्नका लागि रास्वपाले भएभरको बल लगाएको थियो । ‘अकबरे’ उम्मेदवार मिलन लिम्बूलाई पार्टी प्रवेश गराउनेदेखि अन्तिम दिनको चुनावी सभामा भाषण गर्न रवि इलाम पुगेका थिए । चुनाव जित्नका लागि रास्वपाका मन्त्रीहरू हुल बाँधेर इलाम गएका थिए । 

तर, रास्वपाका नेताहरूको लगानी शून्य भएको छ । विद्यमान कानूनी प्रावधानका कारण असम्भव जस्तै सुनिने एकल बहुमत ल्याउने महत्त्वाकांक्षा पालेको पार्टीको उम्मेदवार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

इलाममा रास्वपा अस्वीकार्यताको कारण

जतिबेला इलाममा चुनाव भइरहेको छ, त्यति नै बेला रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी आरोपले कायल भएका छन् । सहकारी ठगीमा रविको संलग्नताबारे मिडिया र सोसल मिडियामा आइरहेका टीकाटिप्पणीले मतदाताको मनोविज्ञानमा प्रस्ट असर पारेको बुझ्न सकिन्छ । 

दोस्रो कुरा, अहिले रास्वपा सरकारमा छ । सरकारमा सहभागी भएको २ महिना बित्न लाग्दा समेत तात्विक असर जनतामा देखिएको छैन । फागुन २० मा कांग्रेससँगको ‘गठबन्धन सरकार’ र फागुन २१ पछि एमाले रास्वपासहितको ‘समीकरण’मा जनताले फरक अनुभूति गरेका छैनन् । पुराना दलको अक्षमतामा प्रश्न उठाएर सरकारमा पुगेका रवि सिंहदरबारको माकुरीजालमा अल्झिन शुरू गरेका छन् । 

महात्मा गान्धीले सिद्धान्तबिनाको राजनीतिलाई महापापको संज्ञा दिएका थिए । रास्वपाको उदय कुनै सैद्धान्तिक धरातलमा टेकेर भएको होइन, ऊ आफैंमा अब्बल विचार भएको पार्टी होइन । 

रास्वपा मूलधारका राजनीतिक दलको अक्षमता देखाएर उदाएको पार्टी हो । पार्टीकारूपमा भन्दा पनि सभापति रवि लामिछानेको व्यक्तिगत लोकप्रियताका कारण रास्वपाले शक्ति आर्जन गरेको छ । रविलाई अलग गरे रास्वपा भन्ने पार्टीको फरक अस्तित्व देखिन्न ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र यो संविधान ल्याउनुमा रास्वपाको कुनै भूमिका या योगदान छैन । शास्त्रमा भनिएको छ, ‘कर्म गर्नू, फलको आश नगर्नू’ । केपी ओली, प्रचण्ड या गगन थापाजस्तो रास्वपा नेताहरूको राजनीतिमा लगाव या योगदान छैन । 

राजनीतिक उतारचढाव कायम रहँदा पनि कांग्रेस–एमालेका नेता राजनीतिको मैदानमा खटिरहेका छन् । 

‘विदेशको आकर्षक जागिर छाडेर’ राजनीतिमा आउनुलाई त्याग गरेको ठान्ने भाष्य रास्वपामा छ । ०८४ सालको चुनाव आउनका लागि पर्याप्त समय बाँकी छ । अहिले नदेखिएको कुनै ‘दुर्गा प्रसाईं’ सडकमा आएर चटक प्रदर्शन गर्न भूमि उर्वर नै छ । 

संसद्को अंकगणितमा तत्काल फरक नपारे पनि इलाम चुनावको राजनीतिक अर्थ छ, मिसन ०८४ को रणनीति बनाउनका लागि । 

salt training

कमेन्ट गर्नुहोस्