
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए ।
लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको बागडोर ब्लेयरको हातमा आएपछि भएको त्यस निर्वाचनमा लेबर पार्टीले प्रचण्ड बहुमत ल्याएको थियो । त्यसको एउटै कारण थियो, लेबर पार्टीलाई समयको आवश्यकता अनुरूप न्यु लेबरमा परिणत गर्ने ब्लेयरको अठोट एवं ऐतिहासिक सफलता र नीति तथा कार्यक्रममा व्यापक परिमार्जन ।
त्यसबेला बेलायतको समग्र राजनीति र दलभित्रको प्रभुत्व सीमित व्यक्तिहरूको हातमा थियो । ब्लेयरले बेलायती राजनीति र लेबर पार्टीलाई सरोकारी बनाउने र पार्टीभित्र सबै सदस्यको स्वामित्व स्थापित गर्ने घोषणा गरेका थिए र त्यसका निम्ति प्रभावकारी कार्यक्रम समेत अघि सारेका थिए । जसको परिणाम स्वरूप पार्टीले उत्साहजनक जीत हासिल गरेको थियो । र, कन्जरभेटिभ पार्टीको वर्चस्व तोड्दै बेलायतको राजनीतिमा नयाँ युग प्रारम्भ भएको थियो । यसको कारण तथा केन्द्रबिन्दु स्वयं ब्लेयर र उनको बुद्धिमत्ता एवं दुरदर्शी नेतृत्व थियो ।
उनले बेलायती राजनीतिको मूल समस्या पहिचान गरेका थिए र लेबर पार्टीलाई कसरी जनभावना अनुरूप पुनर्जीवन दिन सकिन्छ भनेर कस्सिएका थिए ।
उनको आवाजलाई पार्टीका साथीहरूले सुने, साथ दिए र बेलायतका सचेत जनताले पत्याए । त्यसैको परिणामस्वरूप लेबर पार्टी सत्तारुढ भयो । झण्डै दुईदशक राजनीतिको किनारामा धकेलिएको पार्टीलाई टोनी ब्लेयरले केन्द्रमा पुनःस्थापित गरी छाडे र निरन्तर २००७ सम्म प्रधानमन्त्री बने । विश्व राजनीतिका निम्ति बेलायतको यो कालखण्ड निकै शिक्षाप्रद र अनुकरणीय रहेको छ ।
सामान्यतया कुनै पनि व्यक्तिको जीवनमा अनपेक्षित ठूलो घटना घट्न पुगेमा त्यसले स्वयं व्यक्तिलाई स्तब्ध र मर्माहत तुल्याउँछ । यसले उसको परिवारमा सन्नाटा छाउँछ । केही समयका लागि जीवनसँगै विरक्ति पैदा हुन्छ र मर्माहत व्यक्ति तिल्मिलाउँछ पनि । यही विषय संस्थाको हकमा के हुन्छ त ? संस्थाको हकमा पनि चोट त पुग्छ, तर संस्था तिल्मिलाउँदैन, न त त्यसभित्र सन्नाटा छाउँछ, बरु संस्था प्रभावकारी योजनाका साथ सम्हालिएर अघि बढ्छ ।
भर्खरै सम्पन्न उपनिर्वाचनको नतिजापश्चात नेपाली कांग्रेसभित्र अनपेक्षित सन्नाटा छाएकोजस्तो देखिन्छ । इलाम र बझाङमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको उपनिर्वाचनमा कांग्रेस पराजित भयो । दुवै ठाउँमा चुनाव हार्नु दुःखद् राजनीतिक घटना हो, तर सम्पूर्ण हार भने होइन ।
तथापि परिणाम आएको यत्रो समयसम्म पनि पार्टीभित्र छाएको संस्थागत मौनता साँच्चै अस्वाभाविक देखिन्छ । हिजो तनहुँ र चितवनमा पराजित हुँदा तथा बारामा उम्मेदवारी नदिँदा पनि गम्भीरता देखिएको थिएन । यसको कारण के हुनसक्छ ? आजको बहस यसैमा केन्द्रित गर्नु उपयुक्त र सान्दर्भिक हुनेछ ।
बहुदलीय संसदीय व्यवस्थामा आवधिक निर्वाचन नियमित संवैधानिक प्रबन्ध र अभ्यास हो । यसबाट गठन हुने व्यवस्थापिका संसदले नै राज्य सञ्चालनको मार्गदर्शक आधार तयार पार्छ । सरकार, न्यायालयलगायतका राज्यका महत्त्वपूर्ण अंगहरूको निर्माण, सञ्चालन र नियन्त्रणको व्यवस्थापन गर्छ । यसको अभावमा संसदीय प्रणालीको परिकल्पना गर्न सकिँदैन ।
यस संस्थाको निरन्तरताको क्रममा यदाकदा उपनिर्वाचनको प्रयोजन समेत रहन्छ । र, दलहरूले पुनः एकपटक आफूलाई प्रतिस्पर्धामा उतार्नुपर्छ । यसको विश्वव्यापीरूपमा अभ्यास हुँदै आएको छ र नेपालले पनि नियमितरूपमा अभ्यास गर्दै आएको छ । यस्ता उपनिर्वाचनमा कतिपय दलको पुरानो वर्चस्व कायम रहन्छ, कतिपयले कायम राख्न सक्तैनन् । वर्चस्व कायम नरहनुमा उम्मेदवार, व्यवस्थापन र परिचालन, समसामयिक मुद्दा तथा आमनिर्वाचनपछिको भूमिका कारक रहन्छन् ।
सशक्त चुनावी व्यवस्थापन, परिचालन र उपयुक्त मुद्दा उठाउन सक्दा जो कोही उम्मेदवार बनाउँदा पनि पार्टीले निर्वाचन जित्छ । यस्ता दृष्टान्तहरू धेरै नै पाइन्छन्, तर निर्वाचन हारेपछि दक्षिण एसियाको राजनीतिमा खासगरी नेपालजस्तो देशमा अनेकथरी लान्छना र आरोपप्रत्यारोप शुरू हुन्छ । चुनाव हारिसकेपछि यस्तो द्वन्द्वको कुनै उत्पादकत्व हुँदैन । यो सबै राजनीतिक व्यवस्थापनको कमजोरी हो । दलभित्र हावी भएको गुट विशेषले राख्ने पूर्वाग्रहका कारण योग्य र लोकप्रिय भएपनि प्रतिस्पर्धी सहकर्मीको भूमिकाको कसैले चिन्ता गर्दैन । यो ठूलो कमजोरी हो ।
कतिखेर कसले कसलाई सिध्याउने भन्ने होड चल्छ । नेतृत्वले यस्तो प्रवृत्ति विस्तारै हटाउँदै लगेर अन्ततः निर्मूल गर्नुपर्छ । राजनीतिक दल हरेक सदस्यको योग्यता, श्रम र निष्ठाको जगमा उभिएको हुन्छ । प्रजातन्त्रमा विश्वास गर्ने दलमा त झन् कोही मालिक र कोही सेवक हुँदैन, सबैले आ–आफ्नो क्षमता र लगानीअनुसारको भूमिका खोज्छन् ।
यसको विवेकसम्मत व्यवस्थापन गर्नु नेतृत्वको कर्तव्य र दायित्व दुवै हो । त्यसैले दलभित्रका व्यक्तिहरूको असन्तुष्टि संगठित भयो भने शक्तिको रूप लिन्छ र यसले प्रतिकूलता थप्छ । तसर्थ नेतृत्वले समय मै होश पुर्याएर व्यवस्थापकीय कुशलता प्रदर्शन गर्न सक्नु पर्दछ । दलको नेता सबै सदस्यको भरपर्दो अभिभावक हो भन्ने विश्वास स्थापित गर्न सक्नुपर्छ । तर, कांग्रेसभित्र यस्तो अवस्था हराउँदै गएको छ र जसको शक्ति उसको भक्ति स्थापित हुँदैछ । यस प्रवृत्तिले निःसन्देहरूपमा विनाश मात्र निम्त्याउने कुरामा दुई मत छैन ।
बेलायतको लेबर पार्टी र टोनी ब्लेयरको प्रसंग किन उद्धृत गरिएको हो भने लामोसमय निर्वाचन हारेर किनारामा धकेलिएको पार्टीलाई कसरी उनले शासनको केन्द्रमा पुनःस्थापित गरे, यो हाम्रा लागि शिक्षाप्रद छ कि छैन ? हाम्रा समस्या के हुन् ? यद्यपि हामी सधैं हारेका छैनौं, निरन्तर हारिरहेका पनि छैनौं, तर ०५६ सालयता अर्थात् २५ वर्षदेखि बहुमत आएको छैन । यसको अर्थ हारको पर्याप्त अनुभव छ । यसले प्रजातान्त्रिक शासन प्रणालीलाई सुदृढ हुन दिएको छैन र जनअपेक्षा अनुसार काम हुन सकेको छैन । राज्यको साधन स्रोतको अधिकतम सदुपयोग भएको छैन । भौतिक विकास अन्त्यन्त न्यून छ ।
सीमित पुँजीगत खर्च समेत खर्चिन सक्ने क्षमता हामीसँग छैन । दलहरूबीचको द्वन्द्वले समाजमा निराशा र तनाव बढाएको छ । देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढेको छैन । छिमेकीहरूसँग सुमधुर सम्बन्ध छैन । यसको मुख्य कारण राजनीतिक अस्थिरता, दलीय स्वार्थ र नेतृत्वको अदूरदर्शिता हो । अझ यसको गहिराइमा पुग्ने हो भने दलभित्रको निरन्तरको विग्रहका कारण जनमत भएर पनि बेलाबेला कांग्रेस राजनीतिको केन्द्रीय भूमिकाबाट किनारमा धकेलिने गरेको छ । यसको पनि कारण दलबाहिर छैन । समस्या आफैंभित्र छ । यो समस्या केन्द्रभन्दा तल पनि छैन । केन्द्रमा पनि उच्च तहमा मात्र छ । जसले पर्याप्त अवसर लिएका छन् र दलको मुख्य भूमिका निभाएका छन्, त्यहाँ मात्र समस्या छ । दलका सम्पूर्ण सदस्यले पहिचान गरेको प्रमुख समस्या यही हो । अस्वस्थ गुटबन्दी र मनोगत मूल्यांकन प्रणालीले दलको आन्तरिक जीवनलाई थिलथिलो बनाएको छ । न्याय र विवेक हराएको छ । कांग्रेस सीमित व्यक्तिको प्रभुत्वमा छ ।
यहाँ न दलका आमसदस्यलाई सांगठनिक साझा स्वामित्वको अनुभूति छ, न दल सरोकारी छ । मूलतः प्रजातान्त्रिक पार्टी सरोकारी हुनै पर्छ । हाम्रो पार्टी भन्ने मनोभावना पैदा नभएसम्म कुनै सदस्यले मन लगाएर काम गर्दैन । अरूले जुन बाटो हिँडेर पद प्रतिष्ठा प्राप्त गरेका छन्, उनीहरू पनि त्यही बाटो हिँड्न खोज्छ । यस कार्यशैलीका कारण पार्टीमा नयाँ सदस्य थपिँदैनन् । अनि परम्परागत मतदाताले मात्र चुनाव जितिन्छ र ! जबसम्म पार्टीले नयाँ मतदाता आकर्षित गर्ने सक्तैन, तबसम्म प्रतिकूल परिणाम आइरहन्छ । खासगरी नयाँ पुस्तालाई पार्टीमा नजोडेसम्म प्रतिद्वन्द्वीसँग सशक्त मुकाबिला गर्ने तागत पैदा हुँदैन र हरेक निर्वाचनको परिणाम अनुकूल हुन सक्तैन । यसका निम्ति पार्टीप्रति जनविश्वास कसरी बढाउने? मूल प्रश्न यही नै हो ।
मानिस आफ्ना कर्मका कारण सफल र लोकप्रिय हुन्छ । तर, कर्म कस्तो ? हाम्रा गौरवमय परम्परा र संस्कृतिको जगेर्ना गर्दै जनतालाई कुनै प्रकारको हानी नपुर्याउने, समाजको प्रचलित कानून व्यवस्थामा प्रतिकूल प्रभाव नपार्ने र सबैको उत्थानमा खासगरी राष्ट्र निर्माणमा सहायक बन्ने आदि । अहिलेको युगमा यसको सच्चा प्रतिनिधि राजनीतिक दलहरू हुन् । हाम्रो देशमा २००७ सालदेखि यसको अभ्यास हुँदै आएको छ । यसको प्रमुख नेता हो, कांग्रेस पार्टी । अघि नै चर्चा भइसकेको छ कि राजनीतिक दलको नेताले अघि सार्ने नीति र कार्यक्रमले नै देशलाई डोर्याउने हो र दलहरूलाई पनि सान्दर्भिक बनाइराख्ने हो ।
यसको दृष्टान्त प्रस्तुत गरिरहनुपर्दैन, तर आजसम्मका हाम्रा कतिपय कर्महरू जनभावना अनुकूल भए भएनन्, घामजत्तिकै छर्लङ्ग छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने यतिबेला नेपाली जनता हामीसँग सन्तुष्ट छैनन् । यसको कारण हामी र हाम्रो क्रियाकलाप हो । यसको ज्ञान हामीलाई हुनुपर्छ, अनि मात्र सुधारको गुञ्जायस रहन्छ ।
गत उपनिर्वाचनले कांग्रेसलाई गतिलो पाठ सिकाएको छ । र, ०८४ का लागि राम्रो तयारी गर भन्ने सन्देश पनि दिएको छ । यसलाई बुझ्नुपर्ने कसले हो ? आजको चिन्ता यही हो । अब के गर्ने त ? आफ्नो सम्पूर्ण प्रयास लगाएर गठबन्धन भत्काउने र सरकारमा जाने या आवश्यक पर्दा सरकारमा पनि जाने, तर ०८४ को आमचुनावको पूर्ण तयारी गर्ने ।
अब कांग्रेसले भावी चुनावको तयारीलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ, संसद्को समीकरण बन्ने/भत्किने खेल त चलिरहन्छ । सबैभन्दा ठूलो दल भएको नाताले सरकार बनाउने र नेतृत्व गर्ने पहिलो हक कांग्रेसकै हो । नेपाली जनमतको संकेत पनि यही हो । तर, यस कार्यमा मात्र ध्यान दिएर अहिल्यैबाट भोलिको तयारी नगर्ने, त्यसमा कम ध्यान दिने वा उदासीन रहने हो भने भावी निर्वाचन र त्यसका नतिजाका पूर्वसंकेतहरू देखिन थालेकै छन् ।
निर्वाचनको संघारमा पुगेर हडबडाउने सनातन रोग र बानीले गर्दा कांग्रेसले बारम्बार मार खाएको छ । के अब पनि कांग्रेस यही बाटोमा हो ? आजको ज्वलन्त प्रश्न यही हो । मुख्य कुरा त विश्वको प्रजातान्त्रिक जनमतको अपेक्षा कांग्रेस पार्टीबाट नै हो । तर यतिबेला यो पार्टी इतिहासका सम्पूर्ण जिम्मेवारीप्रति बेखबर देखिनु निकै उदेकलाग्दो छ ।
आफूसँग भएका सम्पूर्ण क्षमताको संगठित उपयोग किन गर्दैन कांग्रेसले ? ल ठीक छ, पुरानो पुस्ता त अलि थाकेको र अवकाशको मनोविज्ञानमा होला, नयाँ पुस्ताचाहिँ के गर्दैछ ? उसले आजसम्म गर्दै आएको कामको फेहरिस्त र आगामी कार्यसूची के हो ? यसमा सबैको चासो छ । तसर्थ इतिहासको नयाँ घुम्तीमा उभिएको कांग्रेसले भोलिका चुनौती र आजको जिम्मेवारीलाई राम्रोसँग मनन गर्ने बेला आएको छ । यसका निम्ति विगतका सम्पूर्ण कटुता भुलेर बलियो आन्तरिक एकतासहित अघि बढ्नुको विकल्प छैन ।