
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १ गते पानी वितरणको उद्घाटन गरे ।
मेलम्ची पानी उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित र दिगो खानेपानी सेवा उपलब्ध गराउने आश्वासन दिए ।
उपत्यकाको जनसंख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभाष समाधान गर्नुपर्ने उनले बताए ।
२०७७ चैत्र २० गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको उद्घाटन गरेकी थिइन् ।
उद्घाटनको तीन महिना नपुग्दै मेलम्ची नदीमा आएको बाढीले संरचना बगाइदिएपछि झण्डै साढे २ वर्ष मेलम्ची अन्योलमा पर्यो ।
त्यसपछि तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले २०७९ सालमा पानी वितरण कार्यको उद्घाटन गरे ।
सरकार फेरिएपिच्छे मेलम्चीको उद्घाटन हुने गरेको छ, तर पानी वितरण भरपर्दो भएको छैन ।
सोमवार प्रचण्डले पाँचौंपटक मेलम्ची उद्घाटन गरेको विषयलाई लिएर काठमाडौंका मेयर बालेन्द्र शाहले कटाक्षपूर्ण टिप्पणी गरेका छन्, ‘हामीसँग भएको एउटा मन कतिपल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकीर्तिमान कायम गरेर ।’
स्व. गणेशमान सिंहसहितको परामर्शमा सन्तनेता कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको अवधारणा ल्याएका थिए ।
मेलम्चीको पानीले तिर्खा मेट्ने प्रतीक्षा गर्दागर्दै काठमाडौंको एउटा पुस्ता प्रौढ बन्यो, तर तिर्खा मेटिएको छैन । विकासको विद्रूप नमूना बनेको यही आयोजनालाई राजनीतिक दलका नेताले लैनो गाई बनाएर दोहन गरे । प्रधानमन्त्रीहरूले यही आयोजनाका महंगा गाडी चढे ।
राजधानी शहरका लागि न्यूनतम् पूर्वाधारको रूपमा रहेको खानेपानी आयोजना उद्घाटन गरेको भन्दै राजनीतिक जस र श्रेय लिने काम मात्र हुँदै आएको छ । भविष्यमा फेरि मेलम्ची उद्घाटन गर्ने कलाविहीन नाटक कसैले नगरोस् ।